अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पत्रकार महासङ्घ बेलायतमा नयाँ नेतृत्व

पत्रकार महासङ्घ बेलायतमा नयाँ नेतृत्व


लण्डन- नेपाल पत्रकार महासङ्घ बेलायत शाखामा नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न निर्वाचनमा पत्रकार ध्रुवराज अर्याल अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ । महासङ्घको अध्यक्ष पदका लागि अन्नपूर्ण दैनिकका बेलायत संवाददाता एवं बेलायतबाट प्रकाशित हुने नेपाली लिङ अनलाइनका सम्पादक ध्रुवराज अर्याल र बेलायतबाटै प्रकाशन हुने विनेपाली अनलाइनमा आबद्ध पत्रकार श्याम लुईंटेल हुनुहुन्थ्यो ।

यसैगरी वरिष्ठ उपाध्यक्षका लागि दिनेश परियारले सञ्जयभक्त कंडेललाई तथा महासचिवमा नरेन्द्र बस्नेतले बेलायतबाट प्रकाशन हुने साउथ एशिया टाइम्स अनलाइनका सम्पादक जगन कार्कीलाई पराजित गर्नुभएको छ । वरिष्ठ उपाध्यक्षमा विजयी परियार लामो समयदेखि पत्रकारितामा आबद्ध हुनुहुन्छ भने बस्नेत रातोपाटी अनलाइनका लागि बेलायत संवाददाता हुनुहुन्छ ।

उपाध्यक्षमा शिव भण्डारी, महिला उपाध्यक्षमा प्रमिला लाबुङ राई, सचिवमा मञ्जु भण्डारी र खेमराज रानाभाट, कोषाध्यक्षमा एसके गुरुङ, सह–कोषाध्यक्षमा सुरेन्द्र इङ्नाम तथा सदस्यहरुमा गोमा राना, नरेन्द्र नेम्वाङ र जयराम तामाङ निर्विरोध निर्वाचित भइसक्नुभएको थियो । कोभिड–१९ का कारण प्रत्यक्ष उपस्थित भई निर्वाचन गर्न नसकेपछि कूल ४३ मतदातामध्ये ३८ जना हुलाकमार्फत मतपत्र पठाएर मतदानमा सामेल हुनुभएको थियो । बाँकी पाँचले आइतबार नै प्रत्यक्ष मतदान गर्नुभएको थियो ।