अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जात थाहा पाएपछि रुपालाई कोठा नदिने घरबेटी पक्राउ

जात थाहा पाएपछि रुपालाई कोठा नदिने घरबेटी पक्राउ


काठमाडौँ- सञ्चारकर्मी रुपा सुनारलाई दलित भएकै कारण कोठा नदिने घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ । जात थाहा पाएपछि दलित भएकै कारण कोठा दिन्न भन्ने घरबेटी काठमाडौँ बबरमहलकी सरस्वती प्रधानविरुद्ध रुपाले गत बिहीबार उजुरी दिनु भएको थियो ।

उजुरी गरेको ३ दिनपछि महानगरीय प्रहरी वृत्त सिंहदरबारले घरबेटी प्रधानलाई आइतबार पक्राउ गरेको हो ।

घरबेटीविरूद्ध गत शुक्रबार नै जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर आइतबार पक्राउ गरि कारबाही प्रक्रिया अघि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो ।

गत मंगलबार बबरमहलमा कोठा खोज्ने क्रममा कोठा खाली भएको थाहापाएपछि साथीसँग प्रधानको घरमा रूपा कोठा हेर्न पुग्नु भएको थियो । कोठा आफूलाई दिने निश्चित भएपनि घरबेटी प्रधानले जात थाहा पाएपछि रुपालाई दिन नसकिने बताएपछि समस्या भएको हो ।

खाली भएको कोठा जात सुनार भएकै कारण रुपालाई दिन नसकिने तर अरुलाई भए अझै कोठा खाली छ, अरु मान्छे छन् भने ल्याउनु भनी रुपालाई नै भनेपछि रुपाले प्रहरीमा उजुरी दिनुभएको हो ।

प्रहरीले घरबेटीविरूद्ध जातीय भेदभाव तथा छुवाछूत मुद्दाको दफा ४ को उपदफा ३ बमोजिम जाहेरी दर्ता गरेको थियो।

रुपा सुनार इमेज टेलिभिजनमा उकाली ओराली कार्यक्रमको प्रस्तोता हुनुहुन्छ भने उहाँले विभिन्न म्युजिक भिडियोमा अभिनय पनि गर्नुहुन्छ ।