अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतमा ८१ दिनपछि सबैभन्दा कम व्यक्तिमा कोरोना पुष्टि

भारतमा ८१ दिनपछि सबैभन्दा कम व्यक्तिमा कोरोना पुष्टि


नयाँदिल्ली- भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट दैनिक सङ्क्रमितको सङ्ख्यामा दिनप्रति दिन कमी हुँदै आएको छ ।

सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ६० हजारभन्दा कम सङ्क्रमित भएका हुन् । यो सङ्ख्या ८१ दिनपछिकै सबैभन्दा कम भएको पनि अधिकारीहरुले जनाएका छन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा पछिल्लो एक दिनमा ५८ हजार ४९१ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् ।

त्यसैगरी, सोही अवधिमा भारतमा कोरोनाका कारण थप एक हजार ५७६ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ ।

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएर पनि पछिल्लो २४ घण्टामा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या ८७ हजार ९१७ रहेको छ ।

मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ९८ लाख ८१ हजार ९६५ रहेको छ । ती मध्ये सात लाख २९ हजार २४३ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् ।

भारतमा कोरोनाबाट सङ्क्रमित भएरपनि अहिले सङ्क्रमणमुक्त भएकाहरूको कुल संख्या भने दुई करोड ८७ लाख ६६ हजार नौ रहेको छ । अहिलेसम्म ९६.२७ प्रतिशत सङ्क्रमणमुक्त भएको पनि अधिकारीहरूले जनाएका छन् ।

भारतीय स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार शनिबारसम्म ३९ करोड १० लाख १९ हजार ८३ पटक कोभिड-१९ परीक्षण गरिएको छ । तीमध्ये शनिबार १८ लाख ११ हजार ४४६ नमुना परीक्षण गरिएको हो ।

त्यसैगरी, भारतमा अहिलेसम्म २७ करोड ६६ लाख ९३ हजार ५७२ डोज कोरोनाविरुद्धको खोप प्रयोग भएको पनि मन्त्रालयले जनाएको छ ।