अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एमालेका कलोवादीहरू र बलोवादीहरू

नेकपा एमालेका कलोवादीहरू र बलोवादीहरू


नेपाली शब्दकोशमा नभेटिने तर गुल्मीतिरको स्थानीय भाषामा प्रचलित एउटा शब्द छ- कलो । घरमालिकले खाएर उठ्ने बेला एक गाँस दूधभात कतिबेला ल्याउनुहोला भनी बाहिर कुरेको भुस्याहा पप्पीले दशघरका मालिकबाट आश गर्ने त्यही एकएक गाँस जुठोपुरोलाई ‘कलो’ भनिन्छ । गाउँघरका ती पप्पीहरू बिचरा त्यही एकगाँस कलोका भरमा थुप्रै मालिकको भक्ति गरिरहेका हुन्छन् । त्यस्तै मूल घरको छानाको दाँतीमाथि बीचमा र धुरीमा रहने लामो काठलाई बलो भनिन्छ । जस्तोसुकै झैझगडा भएपनि आफ्नै घरको बलो नछाडी त्यसैमा रहनेलाई बलोवादी भनिन्छ ! बलोभित्र बस्नै नसके केही दिन कटेरो बारेर बस्ने कुरो अर्कै हो ! तर अहिले भने अहिले नेकपा एमालेमा प्रखर दुई वादका दुई सशक्त धार देखा परेका छन् ; कलोवाद र बलोवाद ।

गाइँगुइँ सुनिँदै छ, नेपालभरिका १६५ निर्वाचन क्षेत्रबाट काङ्ग्रेसले १०० निर्वाचन क्षेत्रमा मात्र आफ्ना उमेदवार उठाउने रे ! ३५ सिट माओवादीका नाममा छाडिदिने र रूख चिह्नको उमेदवारै नउठाउने रे ! (माधव उपेन्द्र अर्थात् ) माउवादी मध्ये माधव पक्षका २० र उपेन्द्र पक्षका लागि १५ सिट छाडिदिने र तत् तत् क्षेत्रमा रूखचिन्हका उमेदवार नउठाई महागठबन्धन बनाउने रे ! नेपाली काङ्ग्रेसले दिन्छु भनेको त्यै कलोका आशमा आफ्नो बलो मुनिबाट बुरुक्क उफ्रेर बुढानीलकण्ठे ठूलाघरेका आँगनमा ढुक्ने कलोवादीहरूका कारण नेकपा एमाले भित्रैबाट कलोवादको जन्म हुनु यो युगकै क्रान्तिकारी उपलब्धि भनेर शायद इतिहासमा दर्ज हुने होला नै ।

जमिन नै नभएका र जमिनमा गएर लड्दा पछारिने बानी परेका नेकपा एमालेमा अहिले केही व्यक्तिहरू काङ्ग्रेसले अघाएर छाड्ने भनी उधारो बाँडेका त्यही बिस सिटे ‘कलो’का आशमा नेकपा एमाले एकतामा भाँजो हाल्न र भाँड्न न्वारान देखिको बल लगाइरहेछन् ! एकजना केपी ओलीका रिसले आफ्नो समेत पसिना परेको घरमा विखण्डनका असिना पानी बर्साइरहेछन् !

भर्खरै सम्पादकहरूको भेला डाकेर काङ्ग्रेससँग कैयौँ वर्ष लामो सहकार्य गर्ने भनेर कलोवादी कामरेड उर्फ कमारेड शिरोमणिले खोक्नु भएछ ! बगरेले अहिंसाको प्रवचन दिएझैँ दशवर्षे हिंसाले कट्कटिएको र गनाउने गेरु वस्त्र धारण गरी लोकतन्त्र सहस्रनाम पाठ पनि गर्नु भए छ ! किनकि कामरेडले यो चुनाव हार्ने पक्का छ । कोर्सलाई नयाँ ढङ्गले केरकार, कच्याककुचुक र गिजोलगाजल नपारी उहाँले चुनाव जित्ने कल्पनै नगरे हुन्छ ! सिराहामा झैँ बत्ती निभाएर जित्ने कोर्स पनि पुरानु भै सक्यो ! गत चुनावमा केपी ओलीका बर्कतले चुनाव जितेर जितेकै अर्को दिनदेखि केपी विरुद्ध खनिएको र जनताले त्यसको हिसाबकिताब राखेको हुँदा अब त्यही जित्नका लागि कुनै नयाँ कचिङ्गलयुक्त कोर्सतर्फ नगई धरै थिएन ! अब केपी ओलीसँग मिलेर लडेको त्यो कोर्सलाई अब देउवातिर मोड्नु जरुरी भयो ! अब चुनाव जित्न बाँकी त्यही एउटा रूखका हाँगा लाछ्न बाँकी थियो क्यार ! अब त्यो काम धुमधामसँग सम्पन्न हुँदो छ क्यारे !

कठै ! नेपालको बूढो र पुरानो एवम् एकताका मुलुकैभरि ठूलै जिमदारी भएको भनिएको र ( उत्पादनको भर नभए पनि ) करिब एकसय पैँसट्ठी सिटका मौजामै खेतीपाती गर्ने हैसियत भएको यो पार्टीले साँच्चै यसै गरी आफ्ना मौजा अर्काका नाममा नामसारी गर्न लागेको हो भने अबका दुईतीन निर्वाचनमा काङग्रेसी जनले रूखचिन्ह बिर्सने र नर्थबङ्गालमा काङ्ग्रेसले एक सिट जितेजस्तै निकट भविष्यमा नेपाली काङग्रेस प्रजापरिषदको हैसियतमा पुग्न पो बेर छैन ।

अनि उता, जिन्दगीभरि रूख चिह्नसँग चुनाव लड्ने र जनतालाई हरेक चुनावमा जमिनमा काङ्ग्रेससँग भिडाउने नगदानगदीका महाभाष्यकार महान कामरेडले आज काङ्गरेसले दिने भनेको यो उधारो सिटका केही गास कलोका लोभमा र्याल चुहाउँदै आफ्नो बस्ती उजाड पार्छु भन्दै बुर्कुसी मारेको सर्कस निशुल्क हेर्न पाउनेका लागि भने बडो मजा पो आइरहेको होला ! अझै आफू उपियाँ उफ्रे झैँ आफ्नो स्कुलको कक्षाबाट उफ्रेर हिँड्ने र यसै भगौडा शैलीको कोर्सलाई बडो आदर्श मान्ने अनि केपी ओली समेत यो कोर्समा आएमा माफ गर्न सक्ने भनी बेहोसीपनमा खोकेका थुकका बाछिटाहरूले पनि मिडियाका भित्तालाई बीभत्स पारेकै छ !

नेपाल कम्युनिस्ट पार्टी एमालेलाई एक युगसम्म हाँकेका भनौ या घिसारेका भनौँ, केही नेताहरू आफ्नो घरको बलो सके भाँचेर वा नसके त्यसलाई बाँदरले झैँ हल्लाएर खल्बल्याएर छानु चुहिने पारेरै भए पनि विपक्षीले चेई.. चेई.. भन्दै आँगनका डिलमा उभिँएर बोलाएकै भरमा केही सिटको कलोका लागि कुद्दै पुगेका र त्यहाँबाट बिज्ञप्तिका नाममा सामूहिक भुकाइ गरेको गजबको दृश्य बीभत्स रूपमा ठुङ मार्न आइपुगेकै छ ।

oppositionनेपाली राजनीतिमा कलोवादका इतिहासको पुर्ख्यौली खोज्दै जाँदा निकै माथिसम्म पुगिएला तर कलोवादको घृणित र कुरूप रूपको चूडान्त दृष्टान्त चाहिँ नेपाली काङ्ग्रेसले विगत स्थानीय चुनावमा एउटा महानगर प्रमुख पदको कलो खुवाउने र त्यसलाई पचाउने क्रममा मतपत्रलाई हजमोला चपाएझैँ गरी चपाएर देखाएको महान् अग्रगमनकारी लोकतान्त्रिक अपच आचरणलाई नै बनुना मान्नु पर्छ क्यारे ।

हुनत नेपाली काङ्ग्रेस नेकपा एमालेलाई साइजमा ल्याउने नाममा उहिल्यै देखि बेलाबेला अनेकौँ कसरत गर्दै जुन ऊर्जा खर्च गरिरहेको छ त्यसले इतिहासमा आफ्नो मोहियानी भएका चुनावक्षेत्रका जमिनबाट लखेटिएको र पिटिएको धोबी चुटाइको ऐतिहासिक पूर्वकार्य हेर्ने हो भने त्यो पनि कम रोचक छेन । राजा र एमालेलाई एउटै तीरले एकै साइजमा ल्याउने आइडिया फुराएका गिरिजा बाबुले पप्पीका मुखको मासु पैँचो पाइएला झै गरी राष्ट्रपतिको कलोको लोभमा समेत परेर र्याल चुहाँउदै काङग्रेसी समाजवादको गोत्रहत्यामार्फत् गरिएको बाबु ( बार बुँदे ) सम्झौताले पनि धेरै कुरा ओकलेकै छ !

र आज त्यत्रो जनाधार भएको काङ्ग्रेस चाहिँ जनाधार नभएका आकाशखेतीमा मात्र भर पर्नेहरू र अर्काले लगाएको कब्जा गर्नेहरुसँग घाँटी जोडेर विज्ञप्ति निकाल्दै हिँडेको देख्दा द्वन्द्वकालमा अकालमा घाँटी रेटिएका काङ्ग्रेस जनको आत्मा कति रुँदो हो बरै !

जमिन नै नभएका र जमिनमा गएर लड्दा पछारिने बानी परेका नेकपा एमालेमा अहिले केही व्यक्तिहरू काङ्ग्रेसले अघाएर छाड्ने भनी उधारो बाँडेका त्यही बिस सिटे ‘कलो’का आशमा नेकपा एमाले एकतामा भाँजो हाल्न र भाँड्न न्वारान देखिको बल लगाइरहेछन् ! एकजना केपी ओलीका रिसले आफ्नो समेत पसिना परेको घरमा विखण्डनका असिना पानी बर्साइरहेछन् ! सिङ्गो नेकपा एमालेको बलियो घर फोड्छु भन्दै पेरिस डाँडाको नुन खाएर त्यहाँबाट थापाथली हाइटमा मटेङ्ग्रा बर्साइरहेछन् । बूढानीलकण्ठ धाममा प्रधानमन्त्रीको फुलप्रसाद चढाइरहेछन् । दलीयताको दौरा सरुवाल फुकालेर निर्दलीयताको कट्टु मात्र लगाएर तमासा देखाइरहेछन् । हैन केपी ओलीको रिस एमालेमाथि पोख्न उद्यत भै रहेको यो अरिमट्ठे समूह देख्ता चाहिँ “कोनि कस्का रिसले कोईका काखमा मुत्ने” उखान चरितार्थ गरिरहेको ऊखानको नवीन रूप देखिँदो छ । यसका लागि ‘जो जससँग सम्बन्ध छ ( टु हुम इट मे कन्सर्न ) वाला व्यक्तिहरूका हाउभाउ र बोडिल्याङ्ग्वेजलाई हेरे छर्लङ्ग भै हाल्छ !

नेकपा एमालेमा रहेकै कारणले जनाधार बनाएका र भूगोलको राजनीतिसँग जरा गाडेका केही थान अग्ला भनिएका व्यक्तिहरू कसैको कुण्ठामा रापमा सेकिएर पग्लँदै कलोका पछि दुगुर्छन् वा घरको छानो मरम्मत र बलियो पार्दै आफनै बलोभित्र बस्छन् त्यो हेर्न बाँकी नै छ !

तर आशा चाहिँ के गरौँ भने कामरेड माधव नेपालजस्तो भाग्यमानी नेता जसलाई प्रधानमन्त्री हुन दुई दुई ठाँउबाट चुनाव हारे पनि केहीले नछेकेको इतिहास छ, त्यस्तो नेताले एक सिटको कलोका लोभमा राल काढेर त्यता पक्कै नजानु होला ! सिङ्गो पार्टी छाडेर कलोका लागि यो बुढेस कालमा अर्काका आँगनमा कुद्ने धपेडी बन्द गर्न सकने झिनो सम्भावनाको आशा गर्नेहरूको आशा नमरोस् भन्ने शुभकामना त दिनै पर्यो नि !