अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कुर्सी प्रोटोकल र देउवाको सोफा आसन

कुर्सी प्रोटोकल र देउवाको सोफा आसन


प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिजो आज अनौठो व्यवहार देखाउन थाल्नु भएको छ । सत्ता सहयात्री दलका नेता देख्ने वित्तिकै देउवा कुर्सी नै छोडेर सोफामा झर्नुहुन्छ भने प्रचण्ड पनि देउवा देखेपछि आफ्ना कुर्सी छोडेर झरिहाल्नुहुन्छ ।

आखिर उहाँहरुलाई आफ्नै कुर्सीदेखि किन ‘फोबिया’ भएको होला ? यसका अलग अलग कारण भए पनि उहाँहरुलाई देखिएको लक्षणचाहिँ एउटै हो । हिजो बालुवाटारमा गठबन्धन बैठकमा सहभागी हुन प्रचण्ड, माधव नेपाल, उपेन्द्र यादव र चित्रबहादुर केसी जानुभएको थियो । उहाँहरु पुग्नासाथ देउवा आफ्नो आसन छोडेर सोफामा झर्नुभयो । यसले एउटा प्रश्न उब्जिएको छ, ‘प्रचण्ड माधवका अगाडि देउवा आफ्नो प्रोटोकलमा अडिन सक्नुहुन्न ?’ आखिर के कारणले उहाँ प्रधानमन्त्रीको कुर्सीबाट घरीघरी सोफातिर सर्नुहुन्छ त ? उहाँलाई प्रधानमन्त्रीको कुर्सी फोबिया किन भएको हो ?

यसबाट के बुझ्न सकिन्छ भने गठबन्धनका नेताका अगाडि देउवा ठूलो दबाबमा हुनुहुन्छ । दबाब पनि कस्तो भने आफ्नै कुर्सीमा समेत बस्न नसक्ने दबाब । कतिपयले देउवाको सोफा आसनलाई समानताको ब्याख्या गरेका छन् । त्यसो हो भने अघिल्तिर प्रधानमन्त्रीको आसन किन राखिएको हो ? त्यो खाली कुर्सीले के देखाउँछ भने त्यो सिटको हकदार कोही मुख्य मान्छे बैठकमा आउन बाँकी छ वा हिजोको बैठकमा अनुपस्थित छन् ।

आफ्नो प्रोटोकलमा अडिन नसक्नुका पछाडि देउवाले सत्ता सहयात्रीको मनोविज्ञान राम्रोसँग पढ्नु भएको छ । उहाँलाई के थाहा छ भने पहिला नेकपा सत्तामा भएका बेला जति पनि रडाको र झगडा भए ती कुर्सीका लागि भएका थिए । र, त्यसका मुख्य झगडालु प्रचण्ड र माधव अहिले आफ्ना सहयात्री बनेर सत्ता साझेदारी गर्न आइपुगेका छन् । त्यस कारण कुर्सीकै कारण ओलीसँग टुटेको मन त्यही कुर्सीमा बसेर देउवा फेरि टुटाउन चाहनुहुन्न । बरु सोफामा बसेर भए पनि उहाँहरुको दुखेको मनमा मल्हम लाउने प्रयासमा हुनुहुन्छ ।

नेकपा कालमा बालुवाटारमा कुर्सीका अनेक प्रकरण भएका थिए । ती मध्ये नेकपाको सचिवालयको बैठक भएका बेला अध्यक्ष एवं प्रधानमन्त्रीलाई किन अग्लो कुर्सी अरुलाई किन सोफा मात्र भन्ने प्रश्न प्रचण्ड र माधवले बारम्बार उठाउनहुन्थ्यो । त्यसै विषयमा केही पटकका बैठक भाँडिएका पनि छन् । माधव नेपालले त एक पटक प्रचण्डलाई उत्तेजित पार्दै सार्वजनिक ठाउँमा भन्नु पनि भएको थियो, ‘प्रचण्डजी सारै सिधा हुनुहुँदो रहेछ । म भए त्यो कुर्सी सारेर ओली कै छेउमै लागेर बस्ने थिएँ ।’ सायद देउवालाई आज त्यो पनि डर छ कि, अदालतबाट प्रधानमन्त्री बनाउन मुख्य भूमिका निर्वाह गर्ने माधव नेपाल कुर्सी सार्दै आफ्नै छेउमा आइपुग्नुहुन्छ कि । त्यसैले पनि उहाँ प्रोटोकल बिर्सेर आफ्नो आसन छोडेर सोफातिर झर्नु हुन्छ ।

नेकपाको सचिवालयको बैठक भएका बेला अध्यक्ष एवं प्रधानमन्त्रीलाई किन अग्लो कुर्सी अरुलाई किन सोफा मात्र भन्ने प्रश्न प्रचण्ड र माधवले बारम्बार उठाउनहुन्थ्यो । त्यसै विषयमा केही पटकका बैठक भाँडिएका पनि छन् । माधव नेपालले त एक पटक प्रचण्डलाई उत्तेजित पार्दै सार्वजनिक ठाउँमा भन्नु पनि भएको थियो, ‘प्रचण्डजी सारै सिधा हुनुहुँदो रहेछ । म भए त्यो कुर्सी सारेर ओली कै छेउमै लागेर बस्ने थिएँ ।’

त्यति मात्र होइन २०७६ साल जेठ ३ गते जननेता मदन भण्डारीको जयन्तीको तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका दोस्रो अध्यक्ष प्रचण्डलाई राम्रो कुर्सी आफूलाई सानो र नराम्रो कुर्सी व्यवस्था गरिएको भनेर माधव नेपालले कार्यक्रममै असन्तुष्टि व्यक्त गर्नु भएको थियो । यो कुरा थाहा पाएका देउवालाई उहाँहरुले कुर्सीप्रति के कस्तो दृष्टिकोण राख्नुहुन्छ भन्ने पनि राम्रैसँग थाहा छ ।

एकथरी सञ्चार माध्यमले देउवाको यो सोफा आसनलाई महान भनेर व्याख्या गरे । सत्ता गठबन्धनमा ६१ जना सांसद भएका देउवा देखि एक जना सांसद भएका चित्रबहादुर केसीसम्म समान हौं भन्ने राम्रो सन्देश हो भनेर चर्चा पनि भयो । तर यो तस्बिरले त्यस्तै व्याख्या गर्छ त ? अवश्य गर्दैन । पदीय जिम्मेवारी अनुसार व्यक्तिका आसनहरु फरक फरक हुन सक्छन् । पदीय आसन छोडेर सोफा र भुइँमा बस्दैमा जिम्मेवार व्यक्तिको महानता भनेर अपव्याख्या गर्न मिल्दैन ।

केही दिन अघि सिता दाहालको स्वास्थ्य स्थिति बुझ्न पुग्नु भएका प्रधानमन्त्री देउवाका अगाडि प्रचण्डले उसै गरी कुर्सी छोडिदिनुभयो । त्यसको पनि उस्तै अपव्याख्या भयो कि कुर्सी छोडेर प्रचण्डले महानता देखाउनुभयो भनेर । यी दुई कुर्सी त्याग पछि धेरैले सोधेका छन्, के देउवाले प्रचण्ड र प्रचण्डले देउवाका लागि यसैगरी कुर्सी त्याग गर्न तयार हुनुहोला त ? कि यो देखावटी समानता मात्र हो । देउवाका लागि कुर्सीबाट झरेका प्रचण्डले माधव नेपाल घरमा अतिथी बनेर जाँदा के गर्नुहोला ? त्यस बेला प्रचण्डले कुर्सीबाट नझर्ने हो भने माधव नेपालले के सोच्नुहोला ? मान वा अपमान ? जसरी नेकपामा प्रोटोकल विपरीत कुर्सीको माग गर्दा धेरै कुरा छिन्नभिन्न भयो त्यो मनोविज्ञान बुझेर देउवाले सहयात्रीका अगाडि कुर्सीबाट सोफातिर झरिरहनु भएको छ ।

यस प्रकारका तस्बिर आम नेपाली जनता र बिदेशी कुटनीतिकहरुका बीचमा प्रधानमन्त्रीलाई चिनाउन फोटो क्याप्सन पनिसँगै राखिदिनु पर्ने जिम्मेवारी फोटो पत्रकारहरुलाई परेको छ । किनकि प्रधानमन्त्रीलाई आसनले पनि चिनाउने हो । तर, आसन छोडेका प्रधानमन्त्रीलाई अन्तर्राष्ट्रिय समुदायसँग चिनाउन क्याप्सन नलेखी फोटो पत्रकारहरुलाई धरै छैन ।