अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश मन्त्रीका रुपमा मेरो १२८४ दिन

प्रदेश मन्त्रीका रुपमा मेरो १२८४ दिन


२०७४ साल मङ्सिर २८ गतेका दिन भएको प्रदेशसभा निर्वाचनमा झापा जिल्ला निर्वाचन क्षेत्र नम्वर (५) बाट एकपा एमालेको प्रतिनिधित्व गर्दै निर्वाचतन भएर २०७४ माघ १६ गते प्रदेश नम्वर १ को अस्थायी राजधानी विराटनगरमा प्रदेशसभा सदस्यको सपथ मैले लिएको थिए । प्रदेशसभाको बहुमतप्राप्त दलको नेताका रुपमा माननीय शेराधन राई नेतृत्वको प्रदेश नम्बर १ सरकारमा २०७४ फाल्गुन ३ गते बिहीबार आन्तरिक मामिला तथा कानुन मन्त्री एवम् सरकारको प्रवक्ताका रुपमा आजसम्म १ हजार २८४ दिन जिम्मेवारीमा रहेर विदा भएको छु ।

यस कार्यकालामा दुईपटक कार्यवाहक मुख्यमन्त्री तथा करिब तीन महिना सामाजिक विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त भयो । प्राप्त जिम्मेवारीहरु पुरा गर्न सहयोग गर्नुहुने माननीय प्रदेश प्रमुखज्युहरु, माननीय मुख्यमन्त्रीज्यु, माननीय मन्त्रीज्युहरु, माननीय सभामुखज्यु, माननीय उपसभामुखज्यु, माननीय मुख्य न्यायधिवक्ता, प्रदेश योजना आयोग, प्रदेश लोकसेवा आयोग, प्रदेशसभा सचिवालय, प्रदेश सरकारका राष्ट्रसेवक कर्मचारीहरु, प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारीहरु, राजनितिक दलका नेता कार्यकर्ताहरु, समाजिक संघसंस्था, उद्योगी, ब्यापारी एवम् नागरिक समाजका अगुवाहरु, सञ्चारकर्मीहरु, प्रमुख प्रतिपक्षीलगायत विपक्षी दल र सम्पूर्ण प्रदेशवासी दिदिबहिनी तथा दाजुभाईहरुमा हार्दिक कृतज्ञाता ब्यक्त गर्न चाहन्छु ।

प्रदेश सरकार कार्य विभाजन नियमावली २०७४ बमोजिम प्राप्त विभिन्न क्षेत्रगत जिम्मेवारीहरु प्रदेश शान्ति सुरक्षा, कानून तर्जुमा, सञ्चार क्षेत्र र विपद् जोखिम न्युनिकरण सम्बन्धी कार्यहरु मन्त्रालयबाट भएका छन् । प्राप्त जिम्मेवारीलाई कार्यक्षेत्रमा कुशलतापूर्वक कार्यान्वयन गर्दै सदैव प्रदेशवासीको हितमा काम गरेको छु ।

१. प्रदेशको शान्ति सुरक्षालाई चुस्त दुरुस्त राख्न एवम् सुरक्षा निकायहरुको क्षमता विकास एवम् संरचनात्मक सुधारका लागि प्रदेश प्रहरी मुख्यालयसहित ४९ वटा प्रहरी चौकी निर्माण, पाँचथरमा महिला प्रहरी ब्यारेक, १४ वटै जिल्लामा महिला प्रहरी चेन्जिङ रुम निर्माण, सिमा सुरक्षालाई मजबुद बनाउने उद्देश्यका साथ १३ वटा बोर्डर आउट पोष्ट निर्माण, १४ वटै जिल्लामा प्रविधीमैत्री सुरक्षा योजना अन्तर्गत सिसिटिभी क्यामेरा जडान्, जिल्ला प्रशासन कार्यालयसँग प्रत्यक्ष सम्वाद गर्न भिडियो कन्फरेन्स रुम निर्माण एवम् सञ्चालन, सुरक्षा निकायहरुलाई १५ वटा पिक अप भ्यान, करिब ४५० वटा दुई पांग्रे सवारी साधन (मोटर साईकल) वितरण गरिएको छ ।

२. विपद् ब्यवस्थापन सम्वन्धी कानूनी ब्यवस्था गर्दै एकीकृत शान्ति सुरक्षा, विपद् तथा स्वास्थ्य सेवालाई प्रबद्र्धन गर्ने उदेश्यका साथ १–१ थान पिक अप भ्यान र दमकलसहितको मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र प्रदेशका १४ वटै जिल्लामा सञ्चलनमा ल्याईएको छ । प्रदेश आपतकालिन कार्यसञ्चालन केन्द्र स्थापना र सञ्चालन, विपद् जोखिम न्युनिकरणका लागि डिडिआर पोर्टल निर्माण, विपद् खोज, उद्धार र जोखिम न्युनिकरणमा प्रोगा हुने विभिन्न सामग्री खरिद र भण्डारण, विपदबाट ज्यान गुमाएका र घरबारविहिन भएका परिवारलाई राहत वितरण, प्रदेश गोदाम घर, झापा, उदयपुर र धनकुटा जिल्लामा गोदाम घर निर्माण र सञ्चालन गर्ने जस्ता कार्यहरु सम्पन्न गरिएको छ ।

३. पत्रकारिता क्षेत्रको समस्या पहिचानका लागि आम सञ्चार अध्ययन कार्यदल गठन गरी प्राप्त प्रतिवेदनका आधारमा पत्रकारहरुको क्षमता विकास, सञ्चार माध्यमहरुलाई सवलिकरण गर्ने उद्देश्यका साथ प्रादेशिक सञ्चार प्रतिष्ठानको गठन तथा सञ्चालन, आव २०७५–७६ बाट राष्ट्रिय पत्रकारिता दिवसको अवसर पारी प्रादेशिक पत्रकारीता पुरस्कार वितरण गर्ने कार्यको थालनी, प्रदेश पत्रकार महासंघ तथा जिल्ला शाखाहरुको भौतिक संरचना निर्माण तथा संस्थागत क्षमता विकास गर्न सहयोग, पत्रकार सुरक्षा कोषको स्थापना तथा सञ्चालन, एफएम रेडियो सञ्चालन तथा ब्यवस्थापन सम्वन्धी कानूनी ब्यवस्था गरी दर्ता नविकरण गर्ने कार्य प्रदेशबाटै गर्ने कार्यको थालनीलगायत सञ्चार क्षेत्रसँग सम्वन्धिता कार्यहरु भएका छन् ।

४. ‘आजका किशोर किशोरी देशका कर्णधार, यिनिहरुको सक्षमता नै समुन्नतिको आधार’ भन्ने मुल नाराका साथ प्रदेशको सामाजिक तथा सामाजिक पक्षहरुलाई सुदृढ गर्दै किशोरावस्थामा प्रवेश गरेका कक्षा ९–१२ सम्म अध्ययन गर्ने १३–१९ वर्षका करिब २००० विद्यालयका २ लाख विद्यार्थीहरुलाई सक्षम, सवल , सुसंस्कृत, नैतिक, सभ्य, लागुऔषध दुव्र्यसनबाट मुक्त, समतामुलक समाज निर्माण गर्न सहयोग गर्ने उद्देश्यका साथ १६९३ विद्यालयहरुमा सगरमाथा टिन्स क्लब गठन गरी म अघी बढ्छु कार्यक्रम सञ्चालन गरिएको छ ।

५. विश्वब्यापी महामारीका रुपमा रहेको कोभिड १९ कोरोना भाईरसको रोकथाम, नियन्त्रण र उपचारका लागि नीतिगत ब्यवस्था गरी भारतलगायत तेश्रो मुलुकबाट आउने नेपालीहरुका लागि क्वारेन्टिन ब्यवस्थापन, होल्डिङ सेन्टरको ब्यवस्थापन, बन्दाबन्दी कार्यान्वयन, सिमा सुरक्षा र कोभिड नियन्त्रणका लागि सुरक्षाकर्मी एवम् जिल्ला प्रशासन कार्यालयलाई परिचालन सम्वन्धी कार्यहरु भएका छन् ।

६. प्रदेश सरकार सञ्चालनका लागि आवश्यक ५७ ऐन (संसोधनसहित), नियमावली, कार्यविधी तथा गठन आदेशहरु तर्जुमा गरिएको र करिब ३५ सय राजपत्र छपाई गरिएको छ । कानून निर्माण र सुरक्षा ब्यवस्थालाई प्रभावकारी बनाउन ७ वटै प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्रीहरु, मुख्य न्याधिवक्ताहरुको सहभागीतामा अन्तरप्रदेश अनुभव आदानप्रदान तथा सुरक्षा गोष्टि सम्पन्न, प्रदेश सुरक्षा गोष्टिहरु, प्रदेश सरकारले मनाउने राष्ट्रिय तथा प्रादेशिक दिवशहरुको ब्यवस्थापन, स्थानीय तहहरुको कानुन तर्जुमा तथा न्यायिक समितिहरुको क्षमता विकासका लागि तालिम, न्यायमा पहुँचलगायतका कार्यक्रमहरु, प्रत्येक वर्षका सार्वजानिक विदाहरुको निर्धारण गर्ने कार्यहरु सम्पादन गरिएका छन् ।

प्रदेश सरकारको मन्त्रीको हैसियतमा मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्वन्धी ऐन २०७५ अनुसार आजसम्म कुल ३९ लाख ९३ हजार ६ सय ४० रुपैयाँमा करकट्टी वापत रु.३ लाख ८४ हजार ८ सय २० कटाएर जम्मा रु.३६ लाख ८ हजार ८ सय २० खुद भुक्तानी लिएको छु । यस अवधिमा ऐन बमोजिम भ्रमण भत्ताबापत प्राप्त हुने कुनै पनि रकम (यातायात बाहेक) नलिएको जानकारी गराउँदै प्रयोग गर्दै आएको सवारी साधन, ल्याप्टपलगायत जिन्सी सामग्री मन्त्रालयमा हस्तान्तरण गरिसकेको छु । सार्वजानिक पद धारण गर्दा बुझाउनुपर्ने सम्पत्ती विवरण प्रत्येक आवमा आवधिक गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको छु ।

यस समय अवधीभर मानानीयमन्त्रीज्यूको सचिवालयमा रहेर भूमिका निर्वाह गर्न सबैबाट प्राप्त सल्लाह, सहयोग र साथ हाम्रा लागि प्रेरणाका श्रोत बनेका छन् । कार्य सम्पादनका दौरान कोही गल्ती, कमी कमजोरी भएका भए सम्पूर्णमा क्षमायाचना गर्दै आगामी दिनमा पनि प्रदेशवासीको सेवामा निरन्तर सहभागी हुने विश्वास ब्यक्त गर्दछु । आज प्रदेश १ सरकारको जिम्मेवारी प्राप्त गर्नुहुने मानानीय मुख्यमन्त्री भिमप्रसाद आचार्यज्युलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।

(निवर्तमान अन्तरिक मामिला तथा कानूनमन्त्रीको तर्फबाट जारी विदाई वक्तव्य)