अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रयोगशाला उद्घाटन

प्रयोगशाला उद्घाटन


ललितपुर- वाग्मती प्रदेश सरकारका स्वास्थ्य मन्त्री प्रदिपकुमार कटुवालले आज बज्रवाराही चापागाउँ अस्पतालमा अक्सिजन प्लान्टसहित पीसीआर ल्यावको उद्घाटन गर्नुभएको छ ।

सो कार्यक्रमा उहाँले पीसीआर राख्ने भवनको लागि रकम सहयोग गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यस प्लान्टले दिनमा १०० भन्दा बढी सिलिण्डर भर्न सक्ने भएकाले उपत्यकाका अन्य अस्पताललाई पनि निकै सहयोग पुग्ने विश्वास लिएको छु ।” सो अस्पताल व्यवस्थित बनाउन तीनै तहको सरकार मिलेर अघि बढ्ने मन्त्री कटुवालको भनाइ छ ।

प्रदेशसभा सदस्य चेतनाथ सञ्जेलले मुलुकमा पहिलो पटक कोरोना महामारी भित्रँदा आफूले अक्सिजन अभावमा धेरै दुःख पाएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो,“गोदावरीका साथै दक्षिण ललितपुरवासीले अब कारोना परीक्षण गर्न पाटन अस्पताल नै पुग्नुपर्ने समस्याको अन्त्य भएको छ ।” प्रदेशसभा सदस्य लालकुमारी पुनले गोदावरी अस्पतालमा भित्रिएको सो प्रविधिले टिकाभैरवको आनन्दवन अस्पतालमै पीसीआर परीक्षण गर्न जानुपर्ने बाध्यतालाई हटाइदिएको छ भन्नुभयो ।

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले यस अघिको सरकारले लिएको एक पालिका एक अस्पतालको अवधारणा आफूले गोदावरीमा भने जमिन अभावका कारण हालसम्म अघि बढाउन नसकेको बताउनुभयो । कार्यक्रममा प्रदेश सरकारको सहयोगमा गोदावरी चापागाउँ अस्पतालमा तीन अक्सिजन प्लान्ट सहित एक पीसीआर प्रविधि भित्रिएको जानकारी दिइयो ।