अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चार महिनापछि बस्यो पोखराको कार्यपालिका बैठक

चार महिनापछि बस्यो पोखराको कार्यपालिका बैठक


पोखरा- नगर प्रमुख मानबहादुर जिसीलाई मष्तिष्क घात भएपछि रोकिएको कार्यपालिका बैठक चार महीनापछि बसेको छ । जिसीलाई १ साउनमा मष्तिष्कघात भएको थियो ।

उपचार पछि पोखरा फर्किएका जिसीले दुईसाता अघि उपमेयर मन्जुदेवी गुरुङलाई कार्यवाहक मेयरको जिम्मेवारी दिनुभयो । त्यसपछि बसेको बैठकमा कांग्रेसले भने असहमति जनाएको छ ।

बैठकमा सहभागी भएपनि कांग्रेसतर्फका वडाध्यक्षहरुले उपस्थितिमा हस्ताक्षर गरेनन् । बैठकका एजेण्डा समयमै उपलब्ध नगराएको र छलफलमा उठेका विषयलाई छोडेर आफुखुसी निर्णय लेखिएको भन्दै हस्ताक्षर नगरेको हो । यसअघि धेरै पटक बैठकले दिएको सुझाव भन्दा अन्यत्रैबाट निर्णय लेखिने गरेको कांग्रेस सचेतक रामराज लामिछानेले बताउनुभयो ।

‘एजेण्डामा हामीले सुझाव दिन्छौं । कार्यपालिका सदस्यहरुको सुझावको सुनुवाइ हुँदैन । महानगरले एकलौटी रुपमा निर्णय लेखेर हाम्रो हस्ताक्षर दुरुपयोग भयो,’ उहाँले भन्नुभयो, ‘अब निर्णय पुस्तिकामा लेखिएको निर्णय हेरेर मात्रै हस्ताक्षर गर्ने भनेका छौं । हामीले भने अनुसारको सुझाव लिखित रुपमा नआए हस्ताक्षर गर्दैनौं ।’ आफूहरुले विश्वास गरेर हस्ताक्षर गरेपनि त्यसको दुरुपयोग गरेको उहाँको आरोप छ ।

बैठकले ल्याण्डफिल साइट सार्नेदेखि उपचाररत मेयर जिसीको उपचारमा सहयोग गर्ने निर्णय गरेको छ । जिसीको उपचारमा थप २० लाख उपलब्ध गराउने निर्णय भएको नगरका प्रवक्ता धनबहादुर नेपालीले बताउनुभयो । यसअघि पनि १० लाख निकासा दिइसकिएको छ ।