अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सौराहाका व्यवसायी भन्छन्– ‘एमालेका प्रतिनिधिको हार्दिकता र व्यवहार गजब लाग्यो’

सौराहाका व्यवसायी भन्छन्– ‘एमालेका प्रतिनिधिको हार्दिकता र व्यवहार गजब लाग्यो’


चितवन – नेकपा एमालेको दशाैँ महाधिवेशनका क्रममा चितवनको सौराहामा लगातार तीन दिनसम्म झन्डै आठ हजार सङ्ख्यामा भिड थियाे । महाधिवेशन प्रतिनिधिसँगै चासो राख्ने एमालेका हजारौँ कार्यकर्ताले सौराहा भरिएको थियो । मङ्सिर १०, ११, १२ र १३ गते सौराहामा रहेका सबै होटल बुक भएका थिए । भरिभराउ सौराहामा एमालेका कार्यकर्ताको हार्दिकता र व्यवहारले नयाँ छाप छाडेको छ ।

नेकपा एमालेको दशौँ महाधिवेशनमा प्रतिनिधिको व्यवस्थापन शैली देखेर सौराहावासी उत्साहित भएका छन् । सौराहाका होटलमा बसेका एमालेका प्रतिनिधिले देखाएको हार्दिकता र अनुशासनले सौराहाका व्यवसायी खुसी भएका छन् । कार्यक्रममा सहभागी प्रतिनिधिमात्र होइन अवलोकनका लागि गएका अन्य कार्यकर्ताको व्यवहारले समेत सौराहाका व्यवसायी प्रभावित भएका छन् ।

राधेश्याम खतिवडा

मङ्सिर १० गते बेलुकादेखि १४ गते बेलुकासम्म एमालेका प्रतिनिधिहरू सौराहामा रहेका थिए । चार रात पाहुनाको रूपमा एमालेका प्रतिनिधि आफ्नो होटलमा बास बस्दा उनीहरूले देखाएको हार्दिकता र व्यवहार सोचेभन्दा फरक पाएको व्यवसायीहरूले बताए । प्रतिनिधिसँगै आएका अन्य कार्यकर्ता पनि पर्यटनमैत्री पाइएको व्यवसायीहरूले बताए ।

राजनीतिक दलको कार्यक्रम भनेपछि हल्ला, विवाद, झगडा पर्ने हो कि भन्ने चिन्ता सौराहाका व्यवसायीमा थियो । व्यवसायीहरूले खानपिन, बाेली, व्यवहारका कारण समस्या आउन सक्ने आकलनसमेत गरेका थिए । तर यो महाधिवेशनमा सहभागी एमालेका प्रतिनिधिहरूले अरू पक्षले पनि सिक्न सक्ने व्यवहार देखाएर गएका व्यवसायीहरू बताउँछन् ।

क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्वअध्यक्ष सुमन घिमिरेले एमालेका हजारौँ कार्यकर्ता तीन दिन सौराहामा जम्मा भएर यति ठूलो कार्यक्रम गर्दा कहीँ कतै सामान्य विवादसमेत नभएको देख्दा खुसी लागेको बताउनुभयो । एमालेका प्रतिनिधि र कार्यकर्ताको व्यवहार, प्रस्तुतिले आफूहरू प्रभावित भएको उहाँले बताउनुभयो । ‘यसअघि यस्ता ठूला कार्यक्रम हुँदा कहाँ कति बेला के हुन्छ भन्दै चिन्ताले निदाउन पाएका थिएनाैँ’, उहाँले भन्नुभयो, ‘एमालेको यो कार्यक्रममा धेरै चिन्ता लिन परेन, ढुक्कसँग निदाउन पायौँ ।’

विगतमा एक दिनका लागि भएका यस्ता कार्यक्रममा पनि अनेक समस्या झेल्नुपरेको स्मरण गर्दै घिमिरेले यस पटकको यति ठूलो कार्यक्रममा एमालेका प्रतिनिधि र कार्यकर्ताले गजबको छाप छोडेर गएको उहाँले बताउनुभयो ।

नेतृत्वमा रहेका व्यक्तिहरूमा पनि सानो–ठूलो नभनि सामान्य हिसाबले प्रस्तुत हुने शैली र साना कुरामा पनि संवेदनशील व्यवहार देखाएका पाइएको सौराहाका पर्यटन व्यवसायी रामकुमार अर्यालले बताउनुभयो । एमालेको व्यवस्थापन कलाबाट अरूले सिक्नुपर्ने देखिएको बताउँदै उहाँले पार्टीको निर्देशन पालना र स्व अनुशासनमा असाध्यै संवेदनशील बनेको पाइएको बताउनुभयो । कतिपय कार्यक्रममा आयोजकले निर्धारण गरेको तालिकाअनुसार नहिँड्ने, आफूखुसी रमाइलो गरेर हिँड्ने गर्दा होटलमा रातभरि दुःख पाइने गरेकोमा यस पटक त्यस्तो नभएको अर्यालले बताउनुभयो । ‘समयको पालना गर्ने शैली गजब लाग्यो’, अर्यालले भन्नुभयो, ‘आयोजकले तोकेको तालिकामा संवेदनशील भएको पाइयो ।’

सौराहाका व्यवसायी राममणि खनालले एमालेका कार्यकर्ताको प्रस्तुति राम्रो रहेको बताउनुभयो । ‘अरू कार्यक्रममा रक्सी खाएर सडकमै होहल्ला गरेर विवाद हुने गरेका कैयौँ घटना देखिएको थियो’, खनालले भन्नुभयो, ‘एमालेको यो कार्यक्रममा धेरै अनुशासित देखियो ।’ महाधिवेशनमा सहभागी प्रतिनिधि मात्र नभइ अवलोकनका लागि आएका कार्यकर्ता पनि धेरै अनुशासित रहेको देखिएको उहाँले बताउनुभयो । विगतमा रक्सी खाएर हो–हल्ला र विवाद हुँदा मिलाउनका लागि कुद्नुपरेको स्मरण गर्दै खनालले यति ठूलो भिड हुँदा पनि सौराहामा केही विवाद नभएको बताउनुभयो । ‘रक्सी खाएर बाेतल फुटाउँदै बाटोमा मात्र होइन होटलमा समेत झगडा गर्ने भेटिन्थे’, खनालले भन्नुभयो, ‘एमालेको यो कार्यक्रममा न बाटोमा न होटलमा कहीँ पनि विवाद देखिएन ।’

सौराहामा रेस्टुरेन्ट व्यवसाय गर्नेहरूको संस्था रेवान सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाले एमालेका प्रतिनिधि र कार्यकर्ताहरूको खानपिन शैली, अनुशासन र व्यवहार गजब लागेको बताउनुभयो । ‘उहाँहरूको हार्दिकता र व्यवहार गजब लाग्यो’, उहाँले भन्नुभयो, ‘राजनीतिक दलले गर्ने कार्यक्रमको व्यवस्थापकीय कुशलता अनुसरणयोग्य पाइयो ।’

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ ।