अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले महाधिवेशन : लोकतन्त्रको उन्नत अभ्यास

एमाले महाधिवेशन : लोकतन्त्रको उन्नत अभ्यास


नेकपा एमालेको दशौं महाधिवेशनमा आफ्ना उपाध्यक्ष भीम रावललाई चुनावी प्रतिस्पर्धाबाट पराजित गरेर अध्यक्ष केपी शर्मा ओली आज साँझ काठमाडौं उक्लनु भएको छ । उहाँ चितवनमा हुँदा नै एमालेमा लोकतन्त्र सकियो भनेर अनेकन प्रचारबाजी भएका छन् । अधिकांश पदमा एक मात्र उम्मेदवार र एकभन्दा बढी उम्मेदवार भएका पदमा निर्वाचन गर्दा एमालेमा लोकतन्त्र सकियो भनेर प्रोपोगण्डा गर्नेहरुलाई कसले जवाफ दिएर चित्त बुझाउन सक्ला ?

खासमा एमालेको यसपालीको महाधिवेशनमा सबभन्दा लोकतान्त्रिक भयो । नेतृत्व छनौटका लागि निर्वाचन र सर्वसम्मती दुवै विधि र प्रक्रियाहरु एकै पटक प्रयोग भए । त्यही प्रक्रिया अन्तर्गत भीम रावल, घनश्याम भूसाल र टंक कार्कीहरुले निर्वाचनमा प्रतिस्पर्धा गर्नुभयो । प्रतिस्पर्धामा उहाँहरु पराजित हुनुभयो । अरुले जिते । निर्वाचनमा सहभागी भएपछि आफूले जित्दा मात्र लोकतन्त्र हुने नत्र अधिनयाकवाद हुने कहिं कतै पनि हुँदैन । एमालेको दशौं महाधिवेशनमा भरमुग्द रुपमा लोकतान्त्रिक अभ्यास भयो भनेर कम्तीमा चार तर्क गर्न सकिन्छ ।

पहिलो तर्क करिब २२ सय महाधिवेशन प्रतिनिधिले बन्दसत्रको हलमा उपस्थित भएर अध्यक्ष केपी शर्मा ओलीलाई ३ सय १ जना सदस्य र १९ जना पदाधिकारी चयन गर्न सर्वसम्मत रुपमा अधिकार दिएका हुन् । त्यस कारण जो जति सर्वसम्मत भए उनीहरुलाई केपी ओलीले निगाहाले पद दिएको भन्ने तर्क आफैंमा फितलो छ । यदी ओलीको छनौटको शंका थियो भने हलले उहाँलाई यो अधिकार दिने थिएन । हलमा उपस्थित एक जना प्रतिनिधिले कम्तीमा ८ सय जना एमालेका संगठित सदस्यको प्रतिनिधित्व गर्दथे । त्यस कारण यो समग्र एमालेको धारणा थियो ।

अधिकांश पदमा एक मात्र उम्मेदवार र एकभन्दा बढी उम्मेदवार भएका पदमा निर्वाचन गर्दा एमालेमा लोकतन्त्र सकियो भनेर प्रोपोगण्डा गर्नेहरुलाई कसले जवाफ दिएर चित्त बुझाउन सक्ला ?

दोस्रो तर्क ओलीले हलमा नाम प्रस्तुत गर्नुभन्दा अगाडि एउटा ‘अप्सन’ पनि खुला गर्नुभएको थियो । त्यो के भने जुन जुन पदमा सर्वसम्मत हुन्छ गरौं । सर्वसम्मत नभएका ठाउँमा निर्वाचन गरौं । ओलीको यसै भनाइलाई आधार मानेर रावल, भूसाल र कार्की र केही सदस्यको उम्मेदवारी परेको हो । सबै कार्यकर्ताले जे चाहनु भयो त्यसै अनुसार निर्वाचन पनि गरियो । त्यसले सर्वसम्मती पनि लोकतान्त्रिक विधि नै हो र निर्वाचन त झन् लोकतान्त्रिक विधि नै हो । एमालेको महाधिवेशनमा दुईवटै विधिको प्रयोग भएको हो । यसलाई अनबुझा गरेर तर्क गर्नुको अर्थ छैन ।

तेस्रो तर्क एमालेलाई अहिलेको महाधिवेशनले बढी संगठित, बढी एकताबद्ध र बढी प्रभावकारी बनायो । किन बनायो भन्दा एमालेको जीवनमा एउटा कठिन र संकटपूर्ण अवस्थामा भएको महाधिवेशन थियो दसौं महाधिवेशन । यो महाधिवेशनमा नेकपाको निरन्तरताको रुपमा रहेको पूर्व माओवादीको ठूलो पंक्ति, एमाले भित्रै १० बुँदे सहमति मार्फत एमालेमा क्रियाशील नेताहरुको एउटा पंक्ति पार्टीमै छन् । सिंगो नेकपा एमालेका नेता कार्यकर्तालाई कुनै आग्रह पूर्वाग्रह नराखिकन उनीहरुको क्षमताका आधारमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म उपयुक्त हिस्सा दिनुपर्दथ्यो । त्यो अध्यक्ष ओलीले र निर्वाचन भएका ठाउँमा महाधिवेशन प्रतिनिधिले उक्त हिस्सा दिएका छन् । यो भनेको मुलतः नेकपा एमाले एकताबद्ध छ भन्ने सन्देश प्रवाहित गर्न यो महाधिवेशन सफल भयो । त्यसैले एमालेको दसौं महाधिवेशन लोकतान्त्रिक हो भन्ने आधार यिनै हुन् ।

नेकपा एमालेका देशभरका कार्यकर्ताले रुचाएका र महाधिवेशन प्रतिनिधिले रुचाएका नेताहरु नेतृत्वमा आउनुभएको छ । केन्द्रीय सदस्यहरु पनि सक्षम र कति त पार्टीको अर्को कुनै मोर्चामा जनअनुमोदित भएर आएका पनि हुनुहुन्छ । यति हुँदा हुँदै पनि झण्डै साढे ८ लाख पार्टी सदस्यता भएको पार्टीमा कुनै कुनै ठाउँमा गुनासाहरु आउनुलाई धेरै अस्वभाविक रुपमा लिनु पर्ने देखिदैन ।

त्यसैले दसौं महाधिवेशनको नेतृत्व छनौटलाई लिएर नेकपा एमालेमा आन्तरिक लोकतन्त्र छैन भन्नु आफैंमा बेतर्की कुरा हो । एमालेमा विद्यमान तीनधार अब पार्टीमा समाहित भएको छ । त्यसैले अब एमालेमा गुट उपगुट र समूह केही पनि छैन ।

एमालेको महाधिवेशन उदघाटन सत्रमा जसरी मानव सागर उर्लियो । त्यो आफैंमा धेरै प्रश्नहरुको जवाफ थियो । करिब १० लाख मानिस आएको भनिएको उक्त आमसभा नेपालमा हालसम्म कै सबभन्दा ठूलो आमसभा हो । यो उपस्थितिले के जनाउँदछ भने नेकपा एमालेप्रति अब उसका संगठित सदस्यको मात्र होइन आम जनताको पनि चासो छ कि एमालेले अबको राजनीतिक कोर्सलाई कता लैजान्छ ? त्यही कुरा सुन्न नारायणी किनारमा मानिसहरु ओइरिएका हुन् ।

यो चासो जाग्नुको अर्को कारण अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला आम जनताले अनुभूत गर्नेगरी विकास निर्माण भयो त्यसलाई आम जनताले स्वामित्व ग्रहण गरे । त्यो स्वामित्व ग्रहण गरेको प्रमाणको रुपमा पनि चितवनको जनमानसलाई लिन सकिन्छ । त्यसैले एमालेप्रति आशा, यसका अध्यक्ष ओली प्रतिको सम्मान र अपेक्षाका कारण नै त्यति धेरै मानिस चितवनमा जम्मा भए ।

नेपालको ठूलो दल नेकपा एमाले कमजोर छ, विभाजित छ, यसले आफ्नो हौसियत गुमाउँदै गएको छ भन्ने अफवाह र प्रचारहरु भएका थिए । त्यसै पनि यी अफवाहरु आग्रहपूर्ण नै थिए । त्यसमा पनि महाधिवेशन मार्फत ती सबै अफवाह एकैचोटी खण्डित भएका छन् ।

महाधिवेशनमा एमालेप्रति अन्तर्राष्ट्रिय समुदायको चासो एकैचोटी प्रकट भयो । छ वटा देशका १५ जना प्रतिनिधिहरु महाधिवेशन स्थलमै पुगेर प्रत्यक्ष रुपमा सफलताको शुभकामना व्यक्त गरे । चीन लगायत विभिन्न देशका नेताहरुले विभिन्न माध्यम मार्फत महाधिवेशन सफलताको कामना गरे । जसले गर्दा अन्तर्राष्ट्रिय समुदायको चासो र समर्थन पनि यो महाधिवेशनमा झल्कियो । सबैले अध्यक्ष ओलीलाई उल्लेख गर्दै नेपालको राजनीतिमा आफ्नै खालको पहिचान स्थापित गरेको र त्यो पहिचान कायम गर्दै अघि बढ्न उहाँहरुले पनि आग्रह गर्नुभएको थियो । यो भनेको एमालेले पाएको अन्तर्राष्ट्रिय पहिचान पनि हो ।

सारमा यो महाधिवेशनले एमालेमा लोकतन्त्र छ भन्ने कुराको पुष्टि ग¥यो । एमाले विभिन्न समुहको गुटबन्दीको घेरामा छ भन्ने कुरालाई पनि खण्डित ग¥यो । एमाले अहिले पनि प्रमुख शक्ति हो र भोली पनि रहनेछ भन्ने कुराको स्पष्ट झल्को दियो । एमालेलाई अन्तर्राष्ट्रिय समुदायको समर्थन र साथ छ भन्ने कुरा मञ्चमै स्पष्ट देखियो । र, केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला सहभागिता र युवाहरुको उल्लेख्य सहभागिता जनाउने पार्टी भएको छ ।