अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सडक निर्माण सक्नु पर्ने बेला बल्ल सुरू

सडक निर्माण सक्नु पर्ने बेला बल्ल सुरू


धनगढी – कैलालीको गोदावरी नगरपालिका अन्तर्गतको ओलानी-चौकीडाँडा सम्मको ‘बान्द्रखोला’ सडक निर्माण यतिबेला सम्पन्न भइसक्नु पर्ने हो । सम्झौताअनुसार १७ माघ २०७८ भित्र ठेकेदारले सडक निर्माण गरिसक्नु पर्ने थियो । तर, ठेकदार भने सम्झौताविपरित यही मंसिर अन्तिम साताबाट बल्ल सडक निर्माण सुरू गरेको छ ।

सम्झौताको १४ महीनापछि सडक निर्माण सुरू भएको गोदावरी नगरपालिका-११ का वडा अध्यक्ष शिव बिकले बताउनुभयो । ‘सरकारी निकायलाई पटक पटक जानकारी गराउँदा पनि ठेकेदार कम्पनीलाई समयमै काममा लगाएनन्,’ वडा अध्यक्ष बिकले भन्नुभयो, ‘यही माघमा सक्नुपर्ने काम मंसिरबाट मात्रै सुरु भएको छ ।’

ढिलो गरी सुरु भएका कारण निर्धारित समयमा काम सम्पन्न नहुने उहाँले बताउनुभयो । प्रदेश सरकार भौतिक मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय र एड्भेन्चर, गेगिङ, सन्लाइट जेभीबीच सडक निर्माणका लागि १८ भदौ २०७७ मा भएको सम्झौता अनुसार १७ मा २०७८ भित्र सडक निर्माण गरिसक्नु पर्नेछ । तर, मंसिरमा मात्रै ठेकेदार कम्पनीले काम सुरु गरेको वडा अध्यक्ष बिकले बताउनुभयो ।

समयमै काम सुरु नहुनुमा ठेकदारसँगै प्रदेश सरकार पनि दोषी भएको बिकले बताउनुभयो । ‘सडकको ठेक्का सम्झौता भएर काम सुरू नभएपछि ठेकेदारलाई ताकेता गर्न भन्दै मैले दुई पटक पूर्वाधार विकास कार्यालयलाई पत्र पठाएको थिए,’ उहाँले भन्नुभयो, ‘तर सरकारी कार्यालयले बेवास्ता गरे, ठेकदार कम्पनी सम्पर्क मै आएनन् ।’

प्रदेश सरकार भौतिक मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय र एड्भेन्चर, गेगिङ, सन्लाइट जेभीबीच सडक निर्माणका लागि १८ भदौ २०७७ मा भएको सम्झौता अनुसार १७ मा २०७८ भित्र सडक निर्माण गरिसक्नु पर्नेछ ।

पूर्वाधार विकास कार्यालय कैलालीका प्रमुख जगतप्रसाद जोशीले अब सडक निर्माण सुरु भएको बताउनुभयो। ‘ठेकदार कम्पनीले काममा तदारुकता नदेखाएपछि कारवाही गर्ने चेतावनी दिइएका थियौं,’ जोशीले भन्नुभयो, ‘अहिले बल्ल कामअघि बढाएको छ, कहिले काम सकिन्छ थाहा छैन ।’

उहाँका अनुसार १७ महिनामा काम सम्पन्न गर्नुपर्ने गरी पाँच करोड ८४ लाख बजेटमा बान्द्रेखोला सडक निर्माणको ठेक्का सम्झौता भएको थियो । ‘सम्झौताअनुसार अहिले सडक निर्माण अन्तिम चरणमा हुनुपर्ने हो,’ उहाँले भन्नुभयो, ‘तर त्यो हुन सकेन, अब जतिसक्दो छिटो काम सक्ने गरी निर्माण कम्पनीलाई दबाब दिने छौं ।’ यो सडक २३ सय मिटरको छ । आफू भर्खरै आएको बताउँदै जोशीले कार्यालय आउनासाथ ‘बान्द्रखोला’ सडक निर्माणलाई प्राथमिकता दिएको प्रष्टाउनुभयो । ‘म कार्यालयमा आउनासाथ रोकिएका काम सुचारु गराउन पहल गरिरहेको छु,’ उहाँले भन्नुभयो, ‘धेरै काम सुचारु भएका छन्, केही काम सुरु हुँदैछन् ।’

उहाँले कैलालीको चौमालास्थित चौमाला खोलामा पुल निर्माणका लागि ठेक्का भएको एक वर्षसम्म काम सुरू हुन नसकेको र अब त्यो काम पनि सुरू गर्न पहल भइरहेको बताउनुभयो । ‘असार ०७७ मा ठेक्का भएको पुल निर्माण अझै सुरू भएको रहेन छ,’ कार्यालय प्रमुख जोशीले भन्नुभयो, ‘अहिले ठेकेदारलाई सम्पर्क गरेर तत्काल काम अघि बढाउन भनेको छु, काम नगरे  कारवाही गरिनेछ ।’ ६० मिटर लामो सो पुल निर्माणको ठेक्का यूपी कन्ट्रक्सनले पाएको थियो । २०८० सालसम्म निर्माण सम्पन्न गरिसक्नु पर्ने पुल निर्माणका लागि सात करोड २४ लाखमा ठेक्का सम्झौता भएको थियो ।