अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्ड सकस, वर्षमानको आगमन र ‘तरमारा’ महरा

प्रचण्ड सकस, वर्षमानको आगमन र ‘तरमारा’ महरा


नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को आसन्न प्रथम राष्ट्रिय सम्मेलनको केही परिदृश्यलाई यतिखेर प्रचण्डले कसरी पार लगाउँछन् ? धेरैको चासो देखिन्छ । पार्टीको जनवर्गीय संगठन, मोर्चा र प्रदेशमा उत्पन्न परिस्थितिले प्रचण्ड सहज वातावरणमा देखिँदैनन् । प्रचण्ड निकट अर्थात् भावी उत्तराधिकारी को बन्ने भनेर सधैं चर्चामा देखिने वर्षमान पुन ‘अनन्त‘ र जनार्दन शर्मा ‘प्रभाकर‘ व्यवस्थापन सबै भन्दा उनलाई सकस बनेको छ ।

यही सकसलाई सहज पार लगाउन प्रचण्डले यतिखेर सम्मेलन विचार, नीति, कार्यदिशामा केन्द्रित हुनुपर्छ भनेर एकोहोरो भनिरहेका छन् । प्रचण्डको यो भनाइले के संकेत गर्छ भने अखिल (क्रान्तिकारी), प्रेस सेन्टरकै शैली अप्नाउने चलाखीपूर्ण विधि अप्नाउने ध्याउन्नमा छन् ।

एक साताअघि सम्मेलनमा भाग लिने गरी चीनमा उपचाररत अनन्त स्वदेश फर्कने भनेर समाचार प्रसार गरियो । यसको अर्थ थियो– ‘अनन्तबिना चुनाबै गरेर भए पनि पदाधिकारी, केन्द्रीय समितिको टुंगो लगाउनुपर्छ भन्ने जमात यतिखेर बलियो बनेको छ ।‘ अनन्त प्रचण्डको सल्लाह बामोजिम स्वदेश फर्किने वा नफर्किने भन्ने निर्धारण हुन्छ । यदि प्रचण्ड मात्रै सम्मेलनबाट निर्वाचित हुने अन्य पदाधिकारीहरु केन्द्रीय समितिले टुंगो लगाउने गरी सम्मेलन सक्ने । प्रतिनिधिबाट भोटिङ्ग नगराउने । केन्द्रीय समितिमा बहुमत हुने भएकाले सहजै आफू अनुकूल पदाधिकारी टुंग्याउने ।

सधैं मझदारमा रहेर ‘तर‘ मारिरहेका कृष्णबहादुर महराको यतिखेरको कदम पुनरावृत्त भएको छ । बाहिर प्रचार अनन्त र प्रभाकरबीच एकले अर्कोलाई स्वीकार्न नसक्ने गरी गरिएको छ । त्यही मौकामा महराले पुनः ‘तर‘ मार्ने चालबाजीमा देखिन्छन् ।

जसका लागि बादलको लेगेसी कसले बोक्ने भन्ने पक्षलाई समेत महराले उचालिरहेका छन् । देव गुरुङ वा पम्फा भुसाल बादलको लेगेसीमा लडिरहेका छन् । माओवादीभित्रको यि परिघट्ना हेर्दा यदि प्रतिस्पर्धा नै हुनुपर्छ भन्नेको समूह ठूलो भए ७२ घन्टाभित्र अनन्त नेपाल आउने छन्। प्रचण्डले जसोतसो अध्यक्ष बाहेक पदाधिकारी केन्द्रीय समितिले टुंग्याउने भन्नेमा बहुमत पुगे अनन्त पूर्ण स्वास्थ भएर फर्किने छन् ।

यही मेसोमा नारायणकाजी श्रेष्ठ समूहले भनिरहेको छ– ‘केहीपछि माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन हुँदैछ । सम्मेलनका महत्वपूर्ण पक्ष वैचारिकीलाई छायाँमा पार्दै बहस भने ‘पद’मा केन्द्रित भइरहेको छ । लाग्छ यो सम्मेलन वर्षमान पुन र जनार्दन शर्माको लागि मात्र हुँदैछ । मिडिया मनोविज्ञान र माओवादी आफ्नै पार्टी जीवन पनि त्यसैमा अल्झेको देखिन्छ। यो माओवादीको भावि संसदीय यात्रा र दीर्घ जीवनको लागि शुभ–संकेत हैन । खतर्नाक छ, निक्कै खतर्नाक छ ।‘

त्यससँगै पार्टीभित्रै र जिल्लावासीको प्रतिस्पर्धी जयपुरी घर्ती वरपर रहेकाको समेत सम्मेलनबाटै पदाधिकारी टुंग्याउनु पर्छ भन्ने मनोविज्ञानका कारण प्रचण्ड असहजमै छन् । यद्यपी नेकपा (एमाले)को प्रथम विधान महाधिवेशनमा अध्यक्ष केपी ओलीले अप्नाएको नीति प्रचण्डले लिन सक्छन्। गोदावरीमा ओलीले प्रतिवेदन शंकर पोखरेललाई वाचन गर्न दिएर प्रतिनिधिको नारी छाम्ने काम गरेका थिए । प्रचण्डले पनि प्रतिनिधिको नारी छाम्ने काम गर्नेछन् । जसले जे भने पनि माओवादीभित्रको गुट, सह–गुटका कारण अनन्तको स्वास्थ्यमा अल्झेको छ ।

अनन्तको स्वास्थ्य र जनार्दन फ्याक्टरको ७२ घन्टाभित्र छिनोफानो हुनेछ । यो सम्मेलनबाट त्यस्तो खारिएको विचार माओवादीले दिन्छ र मुलुकले निकास पाउँछ भनेर प्रतिक्षा गर्नु भ्रम मात्रै हो ।