अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका परिवारलाई ङिस्याङ गाउँपालिकाको सहयोग

कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका परिवारलाई ङिस्याङ गाउँपालिकाको सहयोग


मनाङ – कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका व्यक्तिको परिवारलाई मनाङ ङिस्याङ गाउँपालिकाले राहत सहयोग गरेको छ । सङ्क्रमणले गर्दा ज्यान गुमाएका परिवारलाई राहत पु¥याउने उद्देश्यले गाउँपालिकाले सहयोग गरेको सो गाउँपालिकाका अध्यक्ष कान्छा घलेले बताउनुभयो । उहाँका अनुसार पालिकावासीलाई समाजमा सहज बनाउन राहत प्रदान गरिएको हो ।

प्रतिव्यक्ति रु.एक लाखका दरले राहत प्रदान गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत श्रीनारायण यादवले जानकारी दिनुभयो । सहयोगले सङ्क्रमणबाट ज्यान गुमाएकाको परिवारलाई थोरै भए पनि राहत मिल्ने उहाँले बताउनुभयो ।

हालसम्म जिल्लाभरमा सङ्क्रमितको २२३ सङ्ख्या पुगेकोमा चारजनाले ज्यान गुमाएका थिए । दुईजना अन्य जिल्लाका भएकाले राहत उपलब्ध गराउन नसकिएको र जिल्ला एवं गाउँपालिकाभित्रका सङ्क्रमणका कारण ज्यान गुमाएको परिवारलाई राहत व्यवस्थापन गरिएको यादवले बताउनुभयो ।

जिल्लाका १८ वर्षमाथिका नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसकिएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिनुभयो । सरकारद्वारा लक्षित बालबालिकालाई समेत खोप लगाइएको आचार्यले बताउनुभयो । उहाँका अनुसार हालसम्म जिल्लाको तल्लो भागका १७५ बालबालिकालाई खोप लगाइसकिएको छ । नासों गाउँपालिका र चामे गाउँपालिकाका १२ देखि १८ वर्षसम्मका बालबालिकालाई कोरोनाविरुद्धको मोर्डना खोप लगाइएको उहाँले जानकारी दिनुभयो ।

त्यस्तै, हिमपातका कारण विद्यालयहरु बन्द हुँदा माथिल्लो मनाङका लक्षित बालबालिकालाई खोप लगाउन नसकिएको उहाँ बताउनुहुन्छ । ङिस्याङ र नार्पाभूमि गाउँपालिकाका बालबालिकालाई खोप लगाउन नसकिएको उहाँले बताउनुभयो । ‘माथिल्लो मनाङ र नार्पाभूमिका बालबालिका जाडो छल्न काठमाडौँ, पोखरा, नारायणगढ, तनहुँ, लमजुङतर्फ गइसकेकाले खोप लगाउन सकिएको छैन । जिल्लामा नै रहेका बालबालिकालाई भने खोप लगाइसकिएको छ । जिल्लामा आउनासाथ बाँकी बालबालिकालाई पनि खोप लगाउछौँ,’ आचार्यले भन्नुभयो, ‘उनीहरुका लागि आवश्यक खोप जिल्लामा आइसकेको छ ।’

फागुनको दोस्रो एवं तेस्रो साता बालबालिकाहरु अभिभावकसँगै जिल्ला फर्किन्छन् । पहाडतर्फ लागेका बालबालिकाले खोप लगाइसकेको खण्डमा जिल्लामा आएको खोप फिर्ता पठाइने उहाँले बताउनुभयो । जिल्लामा आउँदासम्म खोप नलगाएको भए उनीहरुलाई खोप लगाउन स्वास्थ्यकर्मीलाई तालिम दिएर तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो ।