अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापा केरामा आत्मनिर्भर, वार्षिक ३७ हजार टन उत्पादन

झापा केरामा आत्मनिर्भर, वार्षिक ३७ हजार टन उत्पादन


झापा – केरा खेतीमा झापा आत्मनिर्भर बनेको छ । कृषि ज्ञानकेन्द्रको तथ्यांकमा झापामा उत्पादन भएको केरा अन्य जिल्लामा समेत निर्यात हुन थालेको छ ।

कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंहका अनुसार जिल्लामा केरा खेती विस्तारका लागि संघीय सरकारमार्फत केरा खेती पकेट क्षेत्र सञ्चालन भइरहेको छ । जसबाट कृषक समूह, कृषि फर्मलाई अनुदान कार्यक्रम दिइदा केरा खेती बर्सेनी बढीरहेको छ । उहाँका अनुसार गत आर्थिक वर्ष ०७७/०७८ मा झापामा एक हजार आठ सय ५० हेक्टर क्षेत्रफलमा केरा खेती भएको थियो । जहाँ ३७ हजार मेट्रिक टन केरा उत्पादन भएको उहाँले बताउनुभयो । जुन आर्थिक वर्ष ०७६/०७७ को भन्दा धेरै हो । उक्त आर्थिक वर्षमा एक हाजर सात सय ७२ हेक्टरमा केरा लगाइएको थियो । जहाँ ३६ हजार तीन सय २६ मेट्रिक टन केरा उत्पादन भएको थियो ।

यो तथ्यांक हेदौ झापामा प्रत्येक वर्ष केरा खेती गर्ने क्षेत्र बढीरहेको छ । ‘केरामा झापा आत्मनिर्भर छ । झापाको उत्पादन यहाँका लागि पर्याप्त छ,’ उहाँले भन्नुभयो, ‘यहाँका उत्पादन मोरङ, सुनसरीसँगै काठमाडौं, पोखरासम्म पुग्छ ।’ सरकारले केरालाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्दा केरा खेती विस्तार भएको उहाँको भनाइ छ । चालु आर्थिक वर्षभित्र पनि एक सय हेक्टर क्षेत्रमा केरा खेती विस्तारको योजना रहेको सिंहले बताउनुभयो । ‘हामी काम गर्ने कृषक, कृषि समूह र फर्मलाई अनुदानको कार्यक्रम दिन्छौँ । यस वर्ष पनि केरा खेती विस्तार गर्ने लक्ष्य छ,’ उहाँले भन्नुभयो । केराको बजार राम्रो भएका कारण पनि खेतीप्रति कृषकको आकर्षण बढेको उहाँले बताउनुभयो । ‘केराको बजार राम्रो छ । यसमा कृषकलाई राम्रो आम्दानी हुन्छ । त्यसकारण पनि कृषक केरा खेतीप्रति आकर्षित छन्,’ प्रमुख सिंहले भन्नुभयो, ‘बगानबाटै ६० देखि ८० रुपैयाँ दर्जनमा केरा बिग्छ । केरा खेती गर्ने किसानलाई बजारको चिन्ता छैन ।’

यद्यपि, गत आर्थिक वर्षको तुलनामा झापामा केराको उत्पादकत्व भने घटेको छ । आर्थिक वर्ष ०७६/०७७ मा केराको उत्पादनकत्व प्रतिहेक्टर २० दशमलव ५ मेट्रिक टन थियो । अघिल्लो आर्थिक वर्ष ०७७/०७८ मा घटेर प्रतिहेक्टर उत्पादकत्व २० मेट्रिक टनमा झरेको ज्ञान केन्द्रको तथ्यांक छ । ‘केराको बोट सुक्ने र रेड बिटल किरा लाग्ने समस्याका कारण उपादकत्व घटेको देखिएको छ,’ प्रमुख सिंहले भन्नुभयो, ‘यो समस्या समाधानका लागि कृषि अनुसन्धान निर्देशनालय तरहराको विज्ञ टोली बोलाएर अनुसन्धान पनि गराएका छौँ ।’

Skip This