अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

‘तपाईंको मास्क खै ?’ भन्दै कर्णालीका मुख्यमन्त्री शाही सडकमा

‘तपाईंको मास्क खै ?’ भन्दै कर्णालीका मुख्यमन्त्री शाही सडकमा


सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही ‘तपाईंको मास्क खै ?’ भन्दै सडकमा निस्कनु भएको छ ।

शनिबार सुर्खेतको वीरेन्द्रनगर बजारमा मुख्यमन्त्री शाही ‘तपाईंको मास्क खै ?’ भन्दै सडकमा निस्कनुभएको हो ।

मुख्यमन्त्री शाहीले कोरोना महामारीले देशभर आक्रान्त भएको र अनिवार्य मास्क लगाउन नागरिकहरुलाई आग्रह गर्नुभयो । ‘हामीले सडकमा मास्क नलगाएर हिँडिरहेका धेरै जना देख्यौं,’ उहाँले भन्नुभयो, ‘सबैलाई मास्क अनिवार्य लगाउन आग्रह गरेका छौं ।’

कोरोना विरुद्ध खोप नलगाएका नागरिकलाई नजिकको खोप केन्द्रमा गएर खोप लगाउन पनि मुख्यमन्त्री शाहीले आग्रह गर्नुभएको थियो । ‘तपाईंहरुले खोप लगाउनु भएका छैन भने नजिकै खोप केन्द्रमा गएर खोप लगाउनु होला,’ उहाँले सडक भेटिएका नागरिकलाई भन्नुभयो, ‘कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिलाई कोरोना संक्रमण भएपनि त्यति धेरै असर नगर्ने चिकित्सकले बताएका छन् । त्यसैले अनिवार्य खोप लगाउनुहोला ।’

कर्णालीमा दिनयता कोरोना संक्रमण बढ्दै गएको छ । कर्णालीमा दैनिक ६ सयभन्दा बढी संक्रमित बढिरहेको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी पदम केसीले बताउनुभयो । ‘कर्णालीमा परीक्षण गरिएकामध्ये ५७ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ,’ उहाँले भन्नुभयो, ‘यो जटिल परिस्थिति हो ।’ निर्देशनालयकाअनुसार सुर्खेतमा ३६० जना, सल्यानमा एक सय, कालीकोटमा १२९, दैलेखमा १२, जाजरकोटमा एक, रुकुम पश्चिममा ३७, जुम्लामा ६ जनामा र हुम्लामा ८ जनामा कोरोना संक्रमण देखिएको छ ।