अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठवन्धनको गठजोड

गठवन्धनको गठजोड


सानो छँदा बुबाले धेरै लोककथाहरू सुनाउने गर्नु हुन्थ्यो । ती मध्ये रामचन्द्र राजाको कथा निकै रोचक छ । बालीलाई मार्न आफ्नै भाइ सुघ्रिवको प्रयोग गरी सपलता पाएपछि एकदिन राजा दशरथको घरबाट रामचन्द्र राजालाई मिष्ठान भोजन ग्रहणका लागि निम्ता आएछ ।

रामचन्द्रले हनुमानलाई बोलाएर सबैलाई हल्ला नगरी भ्रमण निधो गर्न भनेछन् । एकान, दुईकान, मैदान सबैले थाहा पाइहाले । नलाने कसलाई, सबैलाई लाने हो भने भोजभतेरले नपुग्ला र आफ्नो वेइजत हुने भो भनेर राजालाई तनाव पर्‍यो । यता सबै सेनामेना म जान किन नपाउने, आपद पर्दा राजालाई मैले यो सहयोग गरें, त्यो सहयोग गरें, अहिले मौका आउदा म जान नपाउने ? भनेर सबै तछाडमछाड गर्न थाले । राजा रामचन्द्रको केही सीप नलागेपछि भोजनको तयारी के कसो छ भनेर बुझ्न गप्तचर खटाएछन् । उताबाट गठवन्धनका वेला आयोजना गरिएको भोजन भएकाले भोजनमा सहभागी हुन जति आएपनि फरक नपर्ने संकेत पाएपछि रामचन्द्रले बाटामा जाँदा, ससुरालीमा बस्दा र खानपिनमा पालन गर्न पर्ने नियमका बारे सबै सेनामेनालाई प्रशिक्षण दिन हनुमानलाई खटाए । हनुमानले पनि सबै बानरहरूलाई सोही अनुसार प्रशिक्षित गरे । जाने दिन आयो । सबै लाइन लागे । सबै सुकिलामुकिला छन् । भोजनमा म यो खाने, त्यो खाने भनेर उनीहरू एक आपसमा योजना साटासाट गरिरहेका छन् । यसैबीच बाजागाजा घन्किए, आकाशबाणी भयो र राजाको भ्रमण शुरू भयो । हजारौं लाभा लस्करका साथ रामचन्द्र राजा ससुरालीको निम्तो मान्न जनकपुर पुगे । त्यहाँ उनको कर्तल ध्वनीका साथ भव्य स्वागत हुने नै भयो ।

औपचारिकता पछि राजा, हनुमान सहित सबै सेनामेनालाई मिष्ठान भोजनमा सरिक हुन राजा जनकबाट हुकुम भयो । प्रशिक्षणका बेलामा हनुमानले सबै बानरलाई भोजन के कसरी खाने सम्बन्धमा कुरा चल्दा राजा रामचन्द्रले खाँदा जसो गर्छन्, हामीले पनि त्यसै गर्नु पर्छ भनी सिकाएका थिए । सबै सेनामेना रामचन्द्रलाई हेरीहेरी सोही नक्कल गर्दै खाना खाइरहेका थिए । यतिकैमा राजा रामचन्द्रले खानलाई टिपेको केराऊको दाना अचानक उफ्रिएर भान्सातिर परेछ । सहभागी सबैले ठाने, आफ्नो भागमा परेको मध्ये एउटा केराउको दाना चाहिँ उफार्नै पर्ने रहेछ । तसर्थ सबैले त्यसो गरे । सबैबाट केराउका दाना फुत्तफुत्त उफारेपछि भान्सा नै बर्वाद भयो । यो के गरेको भनेर राजा दशरथले रामचन्द्रलाई सोधे, रामचन्द्रले हनुमानलाई र हनुमानले बानरलाई सोद्दा के गरेको के गरेको कसैबाट उत्तर आएनछ र गठवन्धन धाराशाही भएछ । एउटा सानो यस घटनाले यति भव्य भोज चकनाचुर भएपछि निन्याउरो मुख लाएर रामचन्द्र राजा घर फर्केछन् ।

नेपालको राजनीतिक गठवन्धनमा पनि यस्तै हुने गरेको छ । मिल्ती हुनजेल टिक्ने नत्र धाराशायी भइहाल्ने । राजनीतिक पदयात्रामा मुख्य दुई प्रकारका गठवन्धनको चर्चा हुने गर्दछ- राजनीतिक गठबन्धन र कानुनी गठवन्धन । राजनीतिक गठवन्धन विचार नजिक हुनेहरूबीच हुने गर्दछ । तथाकथित कानुनको आड लिएर बन्ने गठवन्धन भने विभिन्न विचार राख्नेहरूबीच भएको हुन्छ जो अप्राकृतिक हुन्छ यसर्थ लामो समय सम्म टिकाउन गारो हुन्छ । अहिले सत्ता सञ्चालनमा प्रयोग भइरहेको गठवन्धन राजनीतिक नभई कानुनी मात्र हो । यस्तो गठवन्धनमा राजनीतिक विषय, विचारले प्रथथमिकता पाउने कुरै भएन । फरक विषय उठ्यो कि गठवन्धन टट्यो । त्यसैले कानुनी हैसियत त्यो पनि शक्ति पृथकिकरणको अर्कै बाटोबाट कानुनी मलम लगाएर भिडाइएको यस्तो गठवन्धन धेरै टिक्दैन र टिक्न पनि हुदैन । जति धेरै टिक्यो त्यति धेरै गठकहरूकै वेहाल हुन्छ, कालान्तरमा यसले देशलाई ठूलो घाटामा पुर्याउछ । आज कुन तहको निर्वाचन कहिले गर्ने भन्नेबारे गठवन्धनमा रहेका हरेक गठकहरूको आ–आफ्नै मत रहेको छ । यो सबै मिलाउदा मिलाउदै सात गाउँ डुबिसक्ने दिन आउन वेर लाउदैन ।

हुन त यसअघिको सरकारमा पनि गठवन्धनकै वोलवाला थियो जसको चर्चा खासै गर्ने गरिएको छैन । त्यो गठवन्धन राजनीतिक थियो । त्यसमा अक्सर दुई नेता सँगै हुन्थे । पहिलो पहलै रहन्थे, दोस्रो र तेस्रो भने पहिलोका नजिक को रहने भनेर होडवाजी गर्दथे । तिनका साथमा कानुनी रूपमा नेकपा नामको एक एकीकरण प्रयत्न उन्मुख फिका दल मात्र थियो । दललाई सकृय बनाउने चासो थिएन, सत्ता नजिक रहने कसरी र कसले बढी हालीमुहाली गर्ने भन्ने निकृष्ट सवार्थ मात्र थियो । राजनीतिक रूपमा तीन नेता तीनतिर थिए । एकले अर्काेलाई सिध्याउने खेलमा यस्तो गठवन्धन जुटेको थियो जसलाई सबैले नेकपा भन्थे तर वास्तवमा त्यो गठवन्धन एकीकृत दल नभएर तीनचिराको मुहान थियो जसले आआफ्ना पृष्ठभूमिमा दर्जनौं चिरा जन्माइ सकेका थिए । यस्तो गठवन्धनले कानुनी हैसियत पाउने कुरै भएन ।

तीनतिर फर्केका तीन शक्ति एक ठाऊँ जति धेरै बस्यो त्यतिधेरै ज्वारभाटा उत्पन्न भए । आखिरमा चर्ल्क्क चोइटिए र जस्ताको तस्तै आफ्नो मानु च्याप्दै आआफनै बाटा लागे । त्यसो त नेकपा एमाले छँदै पनि राजनीतिक गठवन्धन कायम थियो । उता माओवादीमा पनि गठवन्धन नै रहेछ । फुट्दै फुट्दै शेष भएकाहरूको पुनर्मिलन थियो त्यो । करिव २५ वर्ष सम्मको गठवन्धनमा जितहार सम्भव नभएपछि नेकपा एमालेमा तेस्रो शक्तिको प्रवेश आवश्यकताको वोध दुवै गठकले गरे । यसरी माओवादी विलन गराउने वा शक्तिकै रूपमा राख्ने भन्ने दुविदा बीच नै माओवादीले ठाउँ पायो अनि नेकपा बन्यो । लामो समयदेखिको गठवन्धनमा आफ्नो हिस्सा बलियो बनाउन माओवादी मिलनको स्वार्थ रहेको तथ्य बिचरा माओवादी स्वयमले बुझ्न सकेनन् जो आज सम्म पनि भ्रममै रहेर कानुनी गठवन्धित राजनीति गरिरहेछन् ।

नेपालमा राजनीतिक स्वार्थ पूरा गर्न प्रयोगमा ल्याइएको सत्ता प्राप्तिको गठवन्धनको इतिहास लामै छ । हुन त पञ्चायतकालमा पनि गठवन्धन थिए, तिनको चर्चा गर्न अब आवश्यक भएन । जनआन्दोलन मार्फत पुर्नस््थापित बहुदलीय प्रजातन्त्रको बेला निर्वाचित कांग्रेसको पहिलो सरकारमा पहिलो राजनीतिक गठवन्धन देखा पर्याे । यो गठवन्धन खुला राजनीतिक यात्राको आधारशीला हो जो पछि ३६ से र ७४ ए मा विभक्त भयो । काङ्ग्रेस भित्रको यस गठवन्धनले सत्तामात्र ढलाएन, त्यसयताका राजनीतिक यात्रामा काङ्ग्रेसलाई माथि उठ्न आज सम्म पनि दिएकै छैन । बीचमा एक दुई पटक चोइटिए पनि चोइटा टिक्न सकेनन् र काङ्ग्रेस एकै छ तर गठवन्धन कायम छ। पिलो सरी टटाइरहन्छ तर फटदैन ।

फुटेर शक्ति बढ्छ वा जुटेर कम्युनिष्टहरूबाट सिक्न पर्ने हुन्छ । हिजोको कोके बन्दा देखि नै नेपालका कम्युनिष्टहरूको फुट र जुटको निरन्तर यात्रा जारी छ ।

आजका दिनसम्म आइपुग्दा गठवन्धनले सत्ता सञ्चालन गरेको छ महिना व्यतित भएको छ । गठवन्धनको ६ महिनाका अवसरमा रामचन्द्र रुपी गठवन्धन नायक सम्माननीय प्रधानमन्त्रीज्यूले देशवासीलाई गर्नु भएको सम्वोधन अनुसार यो छ महिनामा १७७ किमी बाटो पीच भयो रे । धेर भयो वा थोर त्यसको टिप्पणी नगरौं । अझ अघिल्लो राजनीतिक गठवन्धनको सरकारको पालाको तुलना गर्ने काम पनि पाठकलाई नै छाडौं । तर ३ % को हाराहारीमा झरेको मुद्रास्फितिको परिदृष्य ७ माथि पुग्नुले यो कानुनका नाममा बनेको गठवन्धन लामो टिक्दैन भन्ने प्रष्ट संकेत भने अवश्य मिलेको छ । विचारधारा फरकफरक, राजनीतिक रणनीति फरक फरक भएका गठकहरूको यात्रा जति लम्व्यायो त्यति नै ठूलो भड्खालामा परिने हो । यसो गरि जवरजस्ती सत्ता टिकाउने प्रयत्नले एकदिन रामचन्द्र राजाको सम्मानमा आयोजना गरिएको भोज सखाप भए जस्तै दलको हैसियत समाप्त हने दिन पनि आउन सक्छ भन्ने हेक्का गठकहरूले नै राख्नु पर्ने हो ।

बेलैमा बुद्दि पुगोस् । यदि नेकपा फुटेर पिलो शान्त भए जस्तै भएको बुझाइ हो भने गठवन्धन बिहिन भएर चुनावमा जाने र फ्रेस म्यान्डेट लिएर सत्ता सञ्चालन गर्ने वा प्रतिपक्षमा बस्ने विकल्प नै उत्तम हुन्छ । यसो गर्दा आफ्नो हैसियत साथ मिहेनतको कमाई हात पार्न मद्दत मिल्छ । गठवन्धन साथ चुनावमा जाने हो भने त कसको हैसियत कति कसरी पहिचान गर्ने, अक्क न बक्क पर्ने स्थिति आयो भने जनताले सग्लो जुन छ त्यसैलाई छान्ने हुन सक्छ र गठवन्धनले नसोचेको परिणाम हात लाग्न सक्छ ।