अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित भएपछि बेनी अस्पतालको सेवा प्रभावित

चिकित्सक र स्वास्थ्यकर्मी सङ्क्रमित भएपछि बेनी अस्पतालको सेवा प्रभावित


म्याग्दी – चिकित्सक र स्वास्थ्यकर्मी कोरोना भाइरस सङ्क्रमित भएपछि म्याग्दीको सदरमुकामस्थित बेनी अस्पतालको सेवा प्रभावित भएको छ। चिकित्सक र स्वास्थ्यकर्मी कोरोना भाइरसबाट सङ्क्रमित भएको अस्पतालमा भिड व्यवस्थापन गर्न आइतबारदेखि माघ १५ गतेसम्म सेवा बन्द गरेको हो । अस्पतालमा कार्यरत २३ जना चिकित्सक र स्वास्थ्यकर्मी कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि आइसोलेसनमा बसेका छन्।

बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले एक हप्ताका लागि फिबर क्लिनिक (ज्वरोका बिरामी) र आकस्मिक बाहेकका सेवा बन्द गरिएको जानकारी दिनुभयो । ‘जनशक्ति व्यवस्थापन र भीड बढेकाले एक हप्ताका लागि ओपिडी सेवा बन्द गरेका हौँ’, उहाँले भन्नुभयो, ‘आकस्मिक र ज्वरोका बिरामीको उपचारलाई भने निरन्तरता दिएका छौँ ।’

पचास शय्या क्षमताको बेनी अस्पतालले हाल ६४ शय्या बराबरको सेवा दिइरहेको छ । कोरोना सङ्क्रमितको उपचारका लागि २० शय्या क्षमताको एचडियुसहितको आइसोलेसन सञ्चालन गरेको छ । म्याग्दीका साथै पर्वतको जलजला गाउँपालिकाका दैनिक १०० जनाले सेवा लिने गरेका छन्।

म्याग्दीमा हाल कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या १५० जनाभन्दा बढी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । शिक्षक र विद्यार्थीहरुमा कोरोना सङ्क्रमण देखिन थालेपछि माघ ५ देखि १५ गतेसम्मका लागि जिल्लाभरका विद्यालय बन्द भएका छन् ।

रघुगङ्गा गाउँपालिकाको कार्यालयको अत्यावश्यक बाहेकको सेवा माघ १२ गतेसम्मका लागि बन्द भएको छ । प्राकृतिक तातोपानीका कुण्ड र धार्मिकस्थलहरु माघ महिनाभरका लागि बन्द भएको छ । जिल्ला प्रशासन कार्यालयले पालिकाअनुसार आलोपालो गरेर सेवा दिन थालेको छ ।

सहायक प्रजिअ धिरेन्द्रराज पन्तले कोरोना सङ्क्रमण नियन्त्रणका लागि भीडभाड हुन नदिनका लागि अत्यावश्यक सेवाबाहेक नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, नाबालक परिचयपत्र, सङ्घसंस्थालगायत विविध सिफारिससम्बन्धी सेवाका लागि पालो लगाइएको बताउनुभयो ।