अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जापानको निप्पोन फाउण्डेसनद्वारा २ सय जना कुष्ठरोगीलाई न्यानो कपडा वितरण

जापानको निप्पोन फाउण्डेसनद्वारा २ सय जना कुष्ठरोगीलाई न्यानो कपडा वितरण


काठमाडौं -नेपाल पर्वतारोहण संघ (एनएमए) ले कुष्ट रोगबाट ग्रसित २ सय जना व्यक्तिहरुलाई न्यानो कपडा र स्वास्थ्य सामाग्री वितरण गरेको छ ।

एनएमएले जापानको द निप्पोन फाउण्डेशनको आर्थिक सहयोगमा सञ्चालन गरिरहेको परियोजनाअन्तर्गत दक्षिणकाली नगरपालिका वडा नम्बर २ स्थित खोकना आरोग्य आश्रममा रहेका कुष्ट रोगबाट ग्रसित दुई सय जना व्यक्तिहरुलाई सहयोग गरेको हो ।

आश्रममा रहेको प्रत्येक व्यक्तिले ज्याकेट एक थान, डवल साइजको एक थान ब्लाङ्केट, दुई सय ३६ एमएलको एक बोतल स्यानिटाइजर, दुई वटा डिट्टोल साबुन र पचास पिसको एक प्याकेट मास्क प्राप्त गरेका छन् । दक्षिणकाली नगरपालिका वडा नम्बर दुईका अध्यक्ष रामचन्द्र क्षेत्री, नेपाल कुष्टरोग निवारण संघका प्रशासकीय अधिकृत जितबहादुर हमाल र एनएमएका अध्यक्ष सन्तवीर लामाले कपडा र स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।

यस्तै, एनएमएका महासचिव कुलबहादुर गुरुङ, सचिव टीकाराम गुरुङ, कोषाध्यक्ष शुदर्शन न्यौपाने, सचिवालय सदस्यहरु सिङ्गी लामा, दीपेन्द्र पाण्डे र शीवबहादुर सापकोटा तथा केन्द्रीय सदस्यहरु सार्की तामाङ, पासाङ भोटे र सञ्जिव गुरुङ, प्रमुख कार्यकारी अधिकृत कुल प्रसाद राईले पनि कपडा र स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थियो ।

सहयोग प्राप्त गरेपछि क्याम्पमा आश्रीत व्यक्तिहरुले खुसी व्यक्त गरे । ‘निप्पोन फाउण्डेशन र एनएमएका अध्यक्षले हामीलाई सहयोग गर्नुभएको यो पहिलो पटक हैन । यसअघि पनि उहाँहरुले हामीलाई धेरै नै सहयोग गर्नुभएको छ’, क्याम्पमा लामो समयदेखि आश्रीत कुष्ट रोगबाट ग्रसित उमाप्रशाद तिवारीले भन्नुभयो,

एनएमएका अध्यक्ष लामाले यो सहयोगले आश्रममा आश्रीत व्यक्तिहरुलाई सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘म यस्तै कार्यक्रम लिएर यो क्याम्पमा धेरै पटक आएको छु । यस पटक पनि द निप्पोन फाउण्डेशनकै कारणले यहाँ आएको छु,’ अध्यक्ष लामाले भने, ‘द निप्पोन फाउण्डेशनका श्रदेय अध्यक्ष योहेई शासाकाव र कर्मचारीहरुको माया हामीले धैरै पहिलेदेखि नै पाइरहेका हौं । यो सहयोगले तपाईहरुलाई यो जाडो मौसममा केही सहयोग पुग्छ भन्ने विश्वास लिएको छु ।’

जुममार्फत कार्यक्रममा सहभागी भएका द निप्पोन फाउण्डेशनका वरिष्ठ निर्देशक सेको मासातोले पनि सहयोग महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । ‘कुष्ट रोग निवारणको अभियानमा द निप्पोन फाउण्डेशनले लामो समयदेखि काम गर्दै आइरहेको छ । यो हाम्रा लागि साच्चिकै महत्वपूर्ण काम हो’, निर्देशक मासातोले भन्नुभयो, ‘हामीलाई विश्वास छ कि यो सहयोग यहाँहरुको दैनिक जिवनमा महत्वपूर्ण सावित हुने छन् ।’

कार्यक्रममा जुममार्फत द निप्पोन फाउण्डेशनका निर्देशक कार्यक्रम निर्देशक माकोटो वाडा र कार्यक्रम अधिकृत रेमी मामुदा पनि सहभागी हुनुभएको थियो ।

नेपाल पर्वतारोहण संघले यही परियोजनाअन्तर्गत अर्काे महिना कोरोना भाइरस (कोभिड–१९) महामारीबाट प्रभावित ३ हजार पर्वतारोहीहरुलाई खाद्यान्न राहत वितरण गर्दैछ ।