काठमाडौं-निजामती सेवामा करिब ३९ वर्ष बिताएका झापाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) शिवराम गेलालले नियमित अवकाशका लागि करिब ६ महिना बाँकी छँदै पदबाट राजीनामा दिएका छन्।
गेलालले दुई दिनअघि काठमाडौं पुगेर गृहसचिवसमक्ष राजीनामा पत्र बुझाएका हुन्। भोलिदेखि लागू हुने गरी राजीनामा बुझाएर झापा फर्किएका उनलाई जिल्ला प्रशासन कार्यालय झापाले बुधबार औपचारिक कार्यक्रम आयोजना गरी बिदाइसमेत गरेको छ। यद्यपि, उनको राजीनामा मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि मात्रै औपचारिक रूपमा कार्यान्वयनमा आउनेछ।
निजामती सेवामा ‘३० वर्ष सेवा अवधि वा ५५ वर्ष उमेर’ पुगेका कर्मचारीलाई अनिवार्य अवकाश दिने प्रस्तावित व्यवस्थाबारे कर्मचारी वृत्तमा बहस र अन्योल बढिरहेका बेला गेलालको राजीनामा आएको हो। तर, गेलालले भने आफ्नो राजीनामाको कारण घरायसी रहेको बताएका छन्।
प्रशासनसँगको कुराकानीमा उनले राजीनामाका पछाडि कुनै विशेष कारण नरहेको स्पष्ट पारे। ‘घरायसी हो, विशेष कारण पनि केही छैन,’ उनले भने।
उनका अनुसार नियमित अवकाश हुन अझै करिब छ महिना बाँकी थियो। बाँकी अवधि सेवामै बिताउन सकिने भए पनि उनले त्यसअघि नै सेवा छाड्ने निर्णय गरेका हुन्।
‘३०-५५’ को बहसबीच राजीनामा
सरकारले निजामती सेवामा जनशक्ति व्यवस्थापन गर्ने उद्देश्यसहित ‘३०-५५’ को व्यवस्था अघि बढाउने गृहकार्य गरिरहेको चर्चा चलिरहेका बेला गेलालको राजीनामा आएको हो।
संघीय निजामती सेवासम्बन्धी प्रस्तावित मस्यौदामा ५५ वर्ष उमेर पूरा भएका वा ३० वर्ष सेवा अवधि पुगेका निजामती कर्मचारीलाई अनिवार्य अवकाश दिने व्यवस्था प्रस्ताव गरिएको बताइएको छ। उक्त व्यवस्था कार्यान्वयनमा आए लामो समयदेखि सेवामा रहेका ठूलो संख्याका कर्मचारी प्रभावित हुन सक्ने भएकाले कर्मचारी वृत्तमा चासो र अन्योल बढेको छ।
त्यसैगरी, निवृत्तिभरण प्रयोजनका लागि ३० वर्षभन्दा बढी सेवा गरेका कर्मचारीको अधिकतम ३० वर्षको सेवा अवधि मात्रै गणना गर्ने प्रस्तावसमेत चर्चामा छ। यसले लामो सेवा अवधि पूरा गरिसकेका कर्मचारीमा थप चासो बढाएको छ।
गेलालको राजीनामा पनि ‘३०-५५’ को सम्भावित व्यवस्थासँग जोडिएको हो कि भनेर प्रश्न गरिएको थियो। उनले प्रस्तावित निजामती सेवा ऐन र त्यसका प्रावधानबारे चर्चा भइरहेको स्वीकार गरे पनि त्यसैलाई आफ्नो राजीनामाको कारण भने बताएनन्।
उनले प्रस्तावित निजामती सेवा ऐन कहिले र कस्तो व्यवस्थासहित आउने भन्ने अझै निश्चित नभएको बताए। नियमित अवकाशका लागि करिब छ महिना बाँकी हुँदाहुँदै उनले सेवा छाड्ने निर्णय गरेका हुन्।
३९ वर्षको सेवा, २६ वर्ष गृह प्रशासनमा
गेलालको निजामती सेवाको यात्रा करिब ३९ वर्ष लामो छ। त्यसमध्ये करिब २६ वर्ष उनले गृह प्रशासनअन्तर्गत विभिन्न जिम्मेवारीमा बिताएका छन्।
लामो प्रशासनिक यात्राका क्रममा उनले नौ जिल्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी सम्हालेका छन्। महोत्तरी, डोल्पा, धनकुटा, रसुवा र रोल्पालगायत जिल्लामा उनले प्रमुख जिल्ला अधिकारीका रूपमा काम गरेका थिए।
फरक भूगोल र प्रशासनिक चुनौती भएका जिल्लामा जिम्मेवारी सम्हाल्दै आएका गेलाल पछिल्लो समय झापाको प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत थिए।
निजामती सेवामा झन्डै चार दशक र गृह प्रशासनमा करिब २६ वर्ष बिताएका गेलालले नियमित अवकाशको करिब छ महिना अघिनै सेवा छाड्ने निर्णय गरेका हुन्। उनले राजीनामाको कारण घरायसी भएको बताए पनि उनको निर्णय ‘३०–५५’ को प्रस्तावित व्यवस्थाबारे जारी बहसको पृष्ठभूमिमा आएको देखिएको छ।


प्रतिक्रिया