अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमसीसी फोन संवादमा ओलीले प्रचण्डलाई ‘आसामी खुर्सानी’ सुनाइदिएपछि…..

एमसीसी फोन संवादमा ओलीले प्रचण्डलाई ‘आसामी खुर्सानी’ सुनाइदिएपछि…..


काठमाडौं- खेलाँची खेलाँची गर्दा गर्दै अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) यति पेचिलो बन्दै गयो कि त्यसले नेपालको कुटनीतिक मर्यादा माथि दुर भविष्यसम्म प्रश्न खडा गर्ने निश्चित जस्तै छ । यसको मुख्य कारक नेकपा माओवादी केन्द्रका अधयक्ष पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्छ । जसले आफ्नै पार्टीको सरकार भएका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट यसलाई पास गर्ने अनेक प्रयत्न गर्दा पनि सभामुख लगाएर रोकिरहनु भयो । त्यसबेला ओलीसँग ‘राष्ट्रघाती, एमसीसी’ भन्ने दाहाल भित्रि भित्र अमेरिकी राजदूत भेटेर ओलीलाई प्रधानमन्त्रीबाट हटाउँछौं त्यसपछि पास गरौंला भनेर बारम्बार प्रतिबद्धता जाहेर गरिरहनुहुन्थ्यो ।

नेकपा विभाजन भएर पूववर्ती पार्टीमा फर्किएपछि सर्वोच्च अदालतको परमादेशमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुभयो । देउवा प्रधानमन्त्री भए लगत्तै एमसीसी पास गर्न आफूहरु तयार भएको तर त्यसका लागि पाँच महिनाको समय चाहिने संयुक्त पत्र उहाँहरुले एमसीसी मुख्यालयमा पठाउनुभयो । कुटनीतिक मर्यादा विपरीतको उक्त पत्र बाहिरिएपछि प्रचण्डको एमसीसी मुखुण्डो खुल्यो । पार्टी भित्र र बाहिरबाट आलोचनाको शिकार भएका प्रचण्डले एमसीसीका विषयमा एमाले अध्यक्ष ओलीको साहारा लिने प्रयत्न गरिरहनुभएको छ ।

त्यसका लागि प्रचण्डले तीनदिन अघि अध्यक्ष ओलीलाई फोन गरेर ‘संघीय निर्वाचन पछि एमसीसी पास गरौं’ भन्ने प्रस्ताव राख्नुभयो । प्रचण्डका केही ‘हाइपोथेटिकल’ प्रस्ताव सुनेपछि ओलीले उहाँको विगत देखिको भूमिका स्मरण गराउदै तीनवटा प्रसंग सुनाएको बालकोट स्रोतले बताएको छ ।

आफूहरुले भन्ने गरेको ‘महान जनयुद्ध दिवस’ अर्थात फागुन २ गते एमसीसी संसदमा टेबुल गर्ने टेलिफोन संवादमा उल्लेख गर्नुभयो । तर त्यो दिन माओवादी र माधव नेपालको पार्टीका सांसद संसद नजाने कांग्रेस र एमालेका सांसद मात्र संसद बैठकमा बस्दा के हुन्छ भन्ने कुटिल प्रस्ताव गर्नुभयो । त्यसको जवाफमा अध्यक्ष ओलीले प्रचण्डलाई भेडाको फल मासुको प्रसंग सुनाइदिनुभयो ।

‘भेडाको फल मासु जति चाँही सबै आफू खाने । गठबन्धन बनाउने सरकारमा जाने, फल मासु खाने । अनि त्यसको छालाको चाहिँ टोपी लगाएर ‘ल एमाले छालाको टोपी लगाएर बाहिर जा’ भनेर हामी माथी कुटाइ खुवाउने ? यस्तो गल्ती गर्दैन एमालेले ।’

त्यति भन्दा पनि प्रचण्ड नरोकिएपछि फेरि उहाँले एमसीसीका बारेमा विगतमा निर्वाह गरेको द्वैध भूमिकाको स्मरण गराउँदै त्यही भूमिकाले अहिले प्रचण्ड अफ्ठ्यारेमा परेको ओलीले बताउनुभयो । उहाँले प्रचण्डलाई भन्नुभएको थियो, ‘अब करौतीको आरो लगाइरहेको बेलामा बीचमा तपाईंहरुले बिगारेर । अब निकाल्न खोज्दा पनि तपाईंलाई काट्छ उता लैजाँदा पनि काट्छ । अब के गर्ने टुंगो गर्नुहोस । काट्न चाहिँ काट्ने नै भयो ।’

विगतको आफ्नो भूमिका स्विकार्दै प्रचण्डले आफू एमसीसी पास गर्न नसक्ने बताएपछि ओलीले अकबरे खुसार्नी भन्दा ७० गुणा पिरो आसामी खुर्सानीको प्रसंग सुनाइदिनुभयो ।

‘एउटा आसामी खुर्सानी छ रे अहिले । डल्ले खुसार्नी भन्दा ७० गुणा पिरो । एक आसामी खुर्सानीले १ सय ५० जनालाई पिरो पुग्छ रे । यो आसामी खुर्सानीको पिरो तपाईंले कति पचाउनु हुन्छ त्यो हेर्दैछु । ख्याल गर्नुहोस है, यसको धेरै अफ्ठ्यारो देख्या छु मैले । तपाईंले पनि बुझ्नु भएको छ । गम्भिर देखें मैले । तर तपाईं पचाउन सक्नुहुन्छ त आसामी खुर्सानी ?’