अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

शुक्लाफाँटामा बाघ सर्वेक्षण सुरु

शुक्लाफाँटामा बाघ सर्वेक्षण सुरु


कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ सर्वेक्षण कार्य सुरू गरिएको छ।

निकुञ्ज क्षेत्रमा भएको बाघको संख्या पत्ता लगाउनको लागि सर्वेक्षण कार्य सुरू गरिएको हो। राष्ट्रिय बाघ सर्वेक्षण २०७८ अन्तर्गत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको शुक्लाफाँटा क्षेत्र, त्यसैगरी लालझाडी र जोगबुढा क्षेत्रमा बाघ सर्वेक्षण कार्य थालनी भएको छ।

निकुञ्ज कार्यालयकाअनुसार उक्त क्षेत्रलाई बाघ सर्वेक्षणको लागि दुई किलो मिटर लम्बाइ तथा दुई किलोमिटर चौडाइ भएका २६० वडा ग्रीडमा विभाजन गरिएको छ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोरकुमार मेहताले बाघको फोटो खिच्नका लागि स्वचालित क्यामेराबाट सर्वेक्षण गर्न लागिएको बताउनु भयो ।

बाघ सर्वेक्षणका लागि कुल ५२० थान क्यामेरा, ७० जना प्राविधिक र ५ वटा हात्ती परिचालन गरिने निकुञ्ज कार्यालयले बताएको छ।

शुक्लाफाँटामा सन् २००९ देखि बाघ गणना हुँदै आएको छ। सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर पुर्‍याउने सरकारको लक्ष्यअनुरूप शुक्लाफाँटामा समेत बाघको संख्या दोब्बर गर्ने लक्ष्य राखिएको छ।

शनिबार उक्त कार्यक्रम शुभारम्भ गर्न कञ्चनपुर पुगेका वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले बाघ सर्वेक्षण कार्यक्रमले देशभर बाघको संख्या पत्ता लाग्ने बताउनुभयो ।

संख्यापछि जैविक विविधतामा पर्ने असर लगायतमा महत्वपूर्ण कुरा सर्वेक्षणबाट थाहा हुने कुरा जानकारी दिनुभयो ।

निकुञ्जमा यसअघि गरिएको राष्ट्रिय सर्वेक्षण अनुसार १६ वटा बाघ भेटिएका थिए।