अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमसिसी संसदबाट पारित हुन्छ : विमलेन्द्र निधि

एमसिसी संसदबाट पारित हुन्छ : विमलेन्द्र निधि


जनकपुर – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि एमसिसी संसद्बाट पारित हुने विश्वास व्यक्त गर्नुभएको छ । जनकपुरधाम विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै नेता निधिले भन्नुभयो, ‘विगतमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालको एमसिसीका पक्षमा देखिएको सक्रियताले गर्दा पनि उहाँहरूले एमसिसी अनुमोदन गराउनुहुन्छ भन्ने विश्वास गर्न सकिन्छ ।”

एमसिसी पारित नभए देशको विश्वनियता नै नरहने भएकाले एमसिसी पारित गराउनुपर्ने बाध्यता रहेको उहाँको भनाइ थियो । एमसिसी बिजुलीको प्रशारण लाइनजस्ता विकासका लागि अमेरिकी अनुदान भएको दाबी गर्नुहुँदै उहाँले ऋण वा ब्याजमा डुब्ने सहयोग नभएकाले नेपाली जनताको पहलमा आफ्नो पार्टीले यसलाई पारित गराउन चाहेको बताउनुभयो ।

लोकतन्त्रमा सरकारले गर्ने निर्णयको उत्तराधिकारी सरकारले इमान्दारितापूर्वक कार्यान्वयन गर्नुपर्ने भएकाले यसलाई वर्तमान सरकारले पारित गराउन चाहेको उल्लेख गर्नुहुँदै नेता निधिले एमसिसी नेपालका लागि आवश्यक भएकाले सबै मिलेर पारित गर्नुपर्ने जिकिर गर्नुभयो । पार्टीभित्रका सबै आन्तरिक कुरालाई बिर्सेर आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा जुट्न नेता कार्यकर्तासँग आग्रहसमेत गर्नुभयो ।