अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमसीसी टेबल गर्न दिने-नदिने कुनै निर्णय गरेका छैनौँ  : झलनाथ खनाल

एमसीसी टेबल गर्न दिने-नदिने कुनै निर्णय गरेका छैनौँ  : झलनाथ खनाल


काठमाडौँ – नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले आज बसेको पार्टी स्थायी कमिटी बैठकले एमसीसी सम्झौता संशोधनविना नस्वीकार्ने सर्वसम्मत निर्णय भएको बताउनुभयो ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेता खनालले आफ्नो पार्टीले एमसीसी सम्झौता टेबल गर्न दिने या नदिने भन्ने कुनै निर्णय नगरेको दाबी गर्नुभयो ।

बैठकपछि नेकपा एकीकृत समाजवादीका नेताहरूले एमसीसी सम्झौता टेबल गर्न र संसद्मा छलफल गर्न दिने निर्णय गरेको बताएका थिए । तर नेता खनालले भने टेबल गर्न दिने निर्णय नभएको भन्दै खण्डन गर्नुभयो । उहाँले भन्नुभयो, ‘आज बसेको स्थायी कमिटी बैठकको ठोस निर्णय भनेकै एमसीसी सम्झौता विना संशोधन स्वीकार नगर्ने भन्ने हो ।’ नेता खनालले थप्नुभयो, ‘यथास्थितिमा एमसीसी नस्वीकार्ने भन्ने नै हो, टेबल गर्न दिने नदिने बारे निर्णय भएकै छैन ।’

उहाँले पार्टीका नेताले कसरी बुझनुभयो त्यो आफूलाई थाहा नभएको जिकिर गर्नुभयो । उहाँले सत्तामा भएकाहरूले कुर्सी जोगाउन टेबल गर्न दिने भनेर बोलेकोमा आपत्ति समेत जनाउनु भयो ।

यसअघि नेकपा एकीकृत समाजवादीकी मन्त्री समेत रहेका सचिव रामकुमारी झाँक्रीले एमसीसी सम्झौता संसद्मा छलफल गर्नका लागि पार्टीले टेबल गर्न दिने निर्णय गरेको बताउनु भएको थियो । मन्त्री झाँक्रीले ‘टेबल गर्न दिने तर एमसीसी सम्झौताको संशोधन, स्वीकार या अस्वीकार गर्ने जिम्मा सार्वभौम संसद्को हो’ भनी बताउनु भएको थियो । उता त्यस्तै बैठकपछि पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पनि एमसीसी सम्झौता टेबल गर्ने विषयमा आपत्ति नरहे पनि दलहरूको सहमतिमा मात्रै टेबल गर्न सकिने बताउनु भएको थियो ।