अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालगन्जलाई नमूना र विकसित सहर बनाउने योजना छ : पशुपतिदयाल मिश्र

नेपालगन्जलाई नमूना र विकसित सहर बनाउने योजना छ : पशुपतिदयाल मिश्र


नेकपा एमालेका केन्द्रीय सदस्य पशुपतिदयाल मिश्र नेपालगन्ज उपमहागरपालिकाका मेयर उम्मेदवार हुनुहुन्छ । २०७४ सालको चुनावमा मिश्र बाँके क्षेत्र नम्बर २ बाट संघीय सांसद पदको उम्मेदवार हुनुहुन्थ्यो । हृदयेश त्रिपाठीको स्वतन्त्र राजनीतिक समूहमा जोडिएर एमालेको सूर्य चुनाव चिह्नबाट चुनाव लड्नुभएका मिश्र संघीय सांसदमा सम्मानजनक मत ल्याए पनि पराजित हुनुभयो । यही वैशाख ९ गते चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्ने तयारीमा जुट्नुभएको छ । चुनावी प्रतिबद्धतापत्र घोषणाको तयारीमा जुट्नुभएका मिश्रसँग गरिएको संक्षिप्त कुराकानी ।

अघिल्लो पटक संघीय चुनाव लड्नु भएको थियो । अहिले मेयरमा उम्मेदवारी दिने तयारीमा हुनुहुन्छ, किन ?
नेपालगन्ज एकदमै पुरानो सहर हो । तर बुटवल, भैरहवा, वीरगञ्ज, विराटनगर र पोखराको विकास भएको छ, त्यसरी नेपालगन्जको विकास हुन सकेको छैन । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रमुख केन्द्र भएपनि नेतृत्वमा पुगेका नेताहरुबाट नेपालगन्जको विकासका लागि प्रभावकारी कामहरु हुन सकेनन् । नेपालगन्जलाई नमुना सहरकारुपमा विकास गर्नका लागि मेयरमा लड्ने योजना बनाएको हुँ । भौतिक र मानवीय सबै दृष्टिकोणले नेपालगन्जको विकास गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुन्छ । यहाँ भौतिक र मानवीय विकासलाई सँगै लैजाने सवालमा काम हुन सकेन । त्यसैले नेपालगन्जको भौतिक र मानवीय विकास गर्न म उम्मेदवार बन्न लागेको हुँ ।

तपाईंले जित्ने आधार के हो ?
एमालेप्रति अहिले जनलहर नै छ । अध्यक्ष केपी ओली नेपालगन्ज आउँदा करिव पाँच हजार मानिसलाई पार्टी प्रवेश गराएका छौं । साथीहरू प्रत्येक वडामा मेहेनतका साथ लाग्नु भएको छ, मजबुत संगठन छ । ओलीजी नेतृत्वको सरकारले तीन वर्षमा गरोका काम, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा राखेको अडानका कारण जुन छवि एमालेको बनेको छ, त्यसले पनि पार्टी प्रवेशको लहर नै चलेको छ । अर्को कुरा ओली जीको सरकारको पालामा बाँकेमा ठूला योजनाहरु भित्रिएका छन् । सहरी विकासका लागि ५० करोड विनियोजन देखि फुसले छाएका घरहरु विस्थापित गर्ने योजना, नेपालगन्जलाई अन्तराष्ट्रिय हवाइउडानसँग जोड्ने यि धेरै योजनाहरु अघि बढेका छन् । र, कार्यान्वयनको गतिमा छन् । सिक्टा सिँचाइ आयोजना बन्द थियो । उहाँ आएर त्यसको निरीक्षण गरेर रोकिएको काम तत्काल सञ्चालन गर्नुभयो । उहाँकै पालामा भेरी अस्पताललाई विशिष्टकृत अस्पताल घोषणा भयो । मैले राजनीतिमा जति अवराेह झेलेकाे छु,उति नै नेपालगन्जले विकासका लागि भाेगेकाे पीडा नजिकबाट महसुस गरेकाे छु । त्यसैले त पदमा नहुँदा पनि मैले यहाँको हरेक मुद्दामा अग्रसरता लिने प्रयत्न गरेकाे छु । यसपालि जिम्मेवारी खाेजिरहेकाे छु । यसपटक पक्कै पनि मतदाताले सहानुभूति राख्नुहुने छ ।

तपाईमाथि आरोप लाग्ने गर्छ, मधेश आन्दोलनका क्रममा तपाईंले भारतीय भूमिमा बसेर नेपालतर्फ ढ्ुंगा हान्नु भयो ?
जब–जब चुनाव आउँछ तब–तब विरोधीले नियोजित रुपमा उचाल्ने मुद्दा हो–मधेस आन्दोलनमा सीमापारीबाट ढुङ्गा प्रहार । हिजो ढुङ्गा हान्ने र हान्न लगाउने अनेक थिएँ । तत्कालिन परिस्थिति भिन्दै थियो । त्यो परिस्थिति सधैं रहन्छ भन्ने होइन । म स्पष्ट के छु भने मधेस आन्दोलनमा सबैभन्दा बढी व्यवस्थित र अनुशासित आन्दोलन नेपालगन्जकै थियो । त्यसको नेतृत्वमध्ये म पनि भएकाले मधेस आन्दोलनलाई सबैभन्दा व्यवस्थित बनाउन अहम भूमिका निर्वाह गरेको छु । चुनावका बेलामा यस्ता आरोप उचाल्नु राम्रो होइन् । नेपालगन्जको विकास निर्माणमा मैले दुई दशकअघि देखि नै भूमिका खेल्दै आएको छु ।

तपाईंका चुनावी योजना के छन् ?
सबै अहिले नै भन्दा सान्दर्भिक नहोला । किनभने चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा छौं । शिक्षा, स्वास्थ्य, पर्यटन र पूर्वाधार हाम्रो चुनावको मुख्य एजेण्डा हो । योभित्र धेरै विषयहरु समेटिएको छ । वैशाख ९ गतेपछि सबै योजनाहरु सार्वजनिक गर्छौ । हाम्रो मुख्य ध्येय भनेकै नेपालगन्जलाई नमूना र विकसित सहर बनाउने हो ।