अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाँचथरमा ९०३ जनाको उम्मेदवारी

पाँचथरमा ९०३ जनाको उम्मेदवारी


पाँचथर – पाँचथरमा स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा ९०६ जनाले उम्मेदवारीको मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय फिदिमका अनुसार १४ वटा वडा रहेको फिदिम नगरपालिकामा सबैभन्दा बढी २३७ जनाको उम्मेदवारी परेको छ । फिदिम नगरपालिकामा नगर प्रमुख पदमा छ जना र उपप्रमुख पदमा चार जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै १४ वटा वडाका वडाध्यक्षको पदमा ५६ जनाले उम्मेदवारी दिएका छन् १४ जना महिला सदस्य पदमा ४४ जना, दलित महिला सदस्य पदमा ३० जना तथा प्रत्येक वडामा दुई/दुई जनाका दरले रहने सदस्य पदमा ९७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

सात वडा वडा रहेको जिल्लाको फाल्गुनन्द गाउँपालिकामा अध्यक्ष पदमा पाँच जना, उपाध्यक्ष पदमा चार जना, वडाध्यक्ष पदमा २४ जना, महिला सदस्य पदमा १६ जना, दलित महिला सदस्य पदमा १५ जना र खुला सदस्य पदमा ३५ जनाले उम्मेदवारी दिएका छन् । फाल्गुनन्दमा कूल ९९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै मिक्लाजुङ गाउँपालिकाको अध्यक्ष पदमा छ जना, उपाध्यक्ष पदमा चार जना र आठ वटा वडाका वडाध्यक्ष पदमा ३० जनाले उम्मेदवारी दर्ता गराउका छन् । मिक्लाजुङमा महिला सदस्य पदमा १९ जना, दलित महिला सदस्य पदमा १८ जना तथा खुल्ला सदस्य पदमा ४८ जना गरी कूल १२५ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।

पाँच वटा वडा रहेको जिल्लाको कुम्मायक गाउँपालिकाको अध्यक्ष पदमा चार जना तथा उपाध्यक्ष पदमा तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । यहाँ पाँच जना वडाध्यक्षका लागि १८ जना, महिला सदस्य पदमा १३ जना, दलित महिला सदस्य पदमा ११ जना र खुला सदस्य पदमा ३२ जना गरी कूल ८१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

सबैभन्दा कम मतदाता रहेको जिल्लाको तुम्बेवा गाउँपालिकाको अध्यक्ष पदमा तीन जना तथा उपाध्यक्ष पदमा दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । पाँच वटा वडा रहेको यहाँ वडाध्यक्ष पदमा १७ जना, महिला र दलित महिला सदस्य पदमा समान १०–१० जना तथा खुला सदस्य पदमा २७ जना गरी कूल ६९ जना उम्मेद्वार रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय फिदिमले जनाएको छ ।

यस्तै हिलिहाङ गाउँपालिकाको अध्यक्ष पदमा पाँच जनाले उम्मेदवारी दिँदा उपाध्यक्षमा दुई जनाको मात्रै उम्मेदवारी परेको छ । सात वटा वडा रहेको यो गाउँपालिकामा वडाध्यक्ष पदमा २२ जना, महिला र दलित महिला सदस्य पदमा समान १४र१४ जना र खुल्ला सदस्य पदमा ३३ जना गरी कूल ९० जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

याङवरक गाउँपालिकाको अध्यक्ष पदमा तीन जनाको उम्मेदवारी दर्ता भएको छ भने उपाध्यक्ष पदमा चार जनाले उम्मेदवारी दिएका छन् । छवटा वडा रहेको यस गाउँपालिकामा वडाध्यक्ष पदमा १८ जना, महिला सदस्य पदमा १५ जना, दलित महिला सदस्य पदमा १४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । खुला सदस्यमा ३१ जनाले उम्मेदवारी दिएको यस गाउँपालिकामा कूल ८५ जना उम्मेदवार रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

जिल्लाका फालेलुङ गाउँपालिकाको अध्यक्ष पदमा पाँच जना तथा उपाध्यक्षमा चार जनाले उम्मेदवारी दिएका छन् । आठ वटा वडा रहेको यस गाउँपालिकामा वडाध्यक्ष पदमा ३० जनाको उम्मेदवारी परेको छ। महिला सदस्य पदमा २१ जना, दलित महिला सदस्य पदमा १४ जना र खुला सदस्य पदमा ४३ जना गरी यस गाउँपालिकामा कूल ११७ जना उम्मेदवार छन् ।

जिल्लाका आठ स्थानीय तहको प्रमुखमा ३७ जना तथा उपप्रमुख पदमा २७ जनाले उम्मेदवारी दिएका छन्। साठी  वडामा एकरएक जना निर्वाचित हुने वडाध्यक्ष पदमा २१५ जना, महिला सदस्य पदमा १५२ जना, दलित महिला सदस्य पदमा १२६ जना उम्मेदवार बनेका छन् । १२० जना वडा सदस्य पदमा ३४६ जनाको उम्मेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

आठ वटा स्थानीय तह रहेको पाँचथरमा नेकपा (एमाले) र सत्तारुढ गठबन्धनवीच तीव्र प्रतिस्पर्धा हुँदैछ । पाँचथरमा एक लाख ४० हजार २२४ मतदाता छन् । उनीहरूले आसन्न स्थानीय तहको निर्वाचनमा १०१ मतदानस्थलमा रहेका १७६ मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको जिल्ला निर्वाचन कार्यालय पाँचथरले जनाएको छ ।