अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आउँदो निर्वाचनमा पाँचै दललाई एकैपटक ‘कर्‍याककुरुक’ पार्छौं : अध्यक्ष ओली

आउँदो निर्वाचनमा पाँचै दललाई एकैपटक ‘कर्‍याककुरुक’ पार्छौं : अध्यक्ष ओली


बिर्तामोड – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी दुवै निर्वाचनमा पाँच दलीय गठबन्धनसँग एमाले प्रतिस्पर्धा गर्न तयार रहेको बताउनुभएको छ ।

झापाको हल्दिबारी गाउँपालिका-१ गोल्धापमा आज आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले दुवै निर्वाचनमार्फत एमालेले पाँच वटै दललाई ‘पत्तासाफ’ गर्ने बताउनुभयो ।

पूर्वप्रधानमन्त्री ओलीले गठबन्धन टुट्ने हो कि भन्ने डर आफूलाई रहेको व्यंग्य गर्नुभयो । उहाँले भन्नुभयो, ‘मलाई डर के छ भने हत्तपत्त यो गठबन्धन टुटिहाल्ला कि भन्ने डर छ । पाँचै जना (दल)लाई एकै पटक ‘कर्‍याककुरुक’ पारेर फाल्दिनु जति आनन्द केहीमा हुँदैन ।’

अध्यक्ष ओलीले एमालेको शक्तिका कारण मुलुकको राजनीति नै दुई धारमा मात्र सीमित बनेको बताउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘आज राष्ट्रिय राजनीति दुई भागमा बाँडिएको छ । एमाले कस्तो भए छ त अहिले भन्दा, एकतिर एमाले, अरु बाँकी अर्कातिर । त्यहीँ पनि बहुमत एमालेको । आज देश यस स्थितिमा पुगेको छ। एमालेसँग भिड्न एक्लै कसैले होइन, चार जनाले पनि चिताउन सक्दैन, पाँचै जना चाहिन्छ ।’

अध्यक्ष ओलीले पाँच दल मिल्दा पनि एमालेलाई हराउने हिम्मत ‘गठबन्धन’ सँग नभएको बताउनुभयो । ओलीले वैशाख ३० को निर्वाचनमा एमालेको बहुमत आउने ठोकुवा गर्नुभयो ।