काठमाडौं – सत्तारुढ गठबन्धनको कार्यदलले सिट बाँडफाँटका प्रस्ताव ल्याउने जिम्मा संयोजक नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले २०७४ को निर्वाचन र २०७९ को स्थानीय निर्वाचनका आधारमा सिट बाँडफाँटको प्रस्ताव ल्याउन कांग्रेस नेता सिटौलालाई जिम्मा दिएको हो ।
कार्यदलका सदस्य तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सोमबारको बैठकपछि भन्नुभयो, ‘हामीले सकेसम्म हाम्रै तहमा मिलाएर नेतृत्वमा प्रतिवेदन दिने मनसाय छ।’
उहाँले छिट्टै सिट बाँडफाँटको कार्यभार पूरा गरिने पनि बताउनु भयो । उहाँले आगामी बुधबार अपरान्ह ४ बजे फेरि बैठक बस्ने पनि बताउनु भयो ।
सत्ता गठबन्धनले अन्य ८४ वटा क्षेत्रको भाग करिब मिलाइसकेको छ। ती ८४ वटामा सत्ता गठबन्धनले जसले जितेको उसले नै लिने गरी करिब सहमति गरेका छन्।
यसअघि गत बिहीबार बसेको कार्यदलको बैठकले सिट बाँडफाँटको मापदण्डबारे छलफल गरेको थियो।
कार्यदलमा कांग्रेसबाट ३, माओवादी केन्द्रबाट २, नेकपा एकीकृत समाजवादीबाट २, जनता समाजवादी पार्टीबाट २ र राष्ट्रिय जनमोर्चाबाट २ जना सदस्य छन्।




प्रतिक्रिया