काठमाडौं-नेकपा एमालेले समाचार कक्षमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको तथा समाचारको स्रोत खुलाउन दबाब दिइएको घटनाप्रति आपत्ति जनाएको छ। एमाले नेता प्रदीप ज्ञवालीको नेतृत्वमा पार्टीका नेताहरूले नेपाल प्रेसको कार्यालय पुगेर पत्रकारहरूप्रति ऐक्यबद्धता जनाएका छन्।
एमाले सचिव महेश बस्नेतका अनुसार नेता ज्ञवालीसहित पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यलगायत नेताहरू नेपाल प्रेसको कार्यालय पुगेका थिए। उनीहरूले पक्राउ परेका पत्रकार विश्वमणि सुवेदीसहित अन्य पत्रकारसँग भेटघाट गरेका छन्।
सो क्रममा नेता ज्ञवालीले संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान हुनुपर्ने बताए। समाचार लेखेकै आधारमा समाचार कक्षमा प्रवेश गरेर पत्रकार पक्राउ गर्ने तथा समाचारको स्रोत खोज्ने कार्यले प्रेस स्वतन्त्रताको संवैधानिक अधिकारमाथि प्रश्न उठाएको उनको भनाइ थियो।
समाचारमा कुनै त्रुटि वा पूर्वाग्रह भए त्यसको निरुपणका लागि प्रेस काउन्सिल र अदालतजस्ता वैधानिक निकाय रहेको उल्लेख गर्दै नेता ज्ञवालीले कानुनी प्रक्रियाको पालना गर्नुपर्ने बताए।
नेता ज्ञवालीले तत्कालीन शाही शासनकालमा समेत विभिन्न चुनौती सामना गर्दै आएको नेपाली पत्रकारिता यस्ता घटनाबाट प्रभावित नहुने उल्लेख गरे। साथै, घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने र पत्रकार तथा सञ्चार क्षेत्रको विश्वास कायम गर्न आवश्यक कदम चाल्नुपर्ने धारणा राखे।
नेता ज्ञवालीले प्रेस स्वतन्त्रता र पत्रकारहरूको अधिकारको पक्षमा एमाले सधैँ उभिने प्रतिबद्धता व्यक्त गरे।



प्रतिक्रिया