अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिन्धुपाल्चोकमा बाढी :हेलम्बू डुब्यो,सडक यातायात बन्द

सिन्धुपाल्चोकमा बाढी :हेलम्बू डुब्यो,सडक यातायात बन्द


सिन्धुपाल्चोक- हिजो देखिको अविरल वर्षाले सिन्धुपाल्चोकका विभिन्न स्थानमा क्षति पुर्याएको छ।
भारी वर्षाका कारण नदीले ठाउँ–ठाउँमा धार परिवर्तन गर्दा मेलम्चीमा नदी नियन्त्रण तथा क्षति न्यूनीकरणका लागि गरिएका प्रयास असफल भएका छन्।
बाढीले मेलम्ची, हेलम्बु, पाँचपोखरीलगायतका गाउँ–गाउँका सडक बन्द भएका छन्। अहिले हेलम्बुको खेतका फाँटबाट नदी बगिरहेको छ भने ठाउँ–ठाउँमा सडकैसडक खोला बगिरहेको छ।

यसले गर्दा यातायातका साधन बाटोमै अलपत्र परेका छन् । नजिकिएको तीजका कारण माइत हिँडेका चेली र अन्य सर्वसाधारण भरिभराउ यातायातका साधन बीच बाटोमै रोकिएका छन्। मेलम्चीको सिमखेत, हेलम्बुका विभिन्न स्थान, पाँचपाखेरीका राम्चे, भोताङ र गुन्सालगायतका बाटो अहिले बन्द भएका छन्।
मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङसहित पाँचपोखरी थाङ्पाल, हेलम्बु, इन्द्रावती गाउँपालिकाका अध्यक्ष क्रमशः टासी लामा, निमा ग्याल्जेन शेर्पा र झम्क नेपालले संयुक्त रूपमा पहिरो, खहरे खोला, नदी तटीय तथा जोखिमयुक्त स्थानमा नबस्न र सावधानी अपनाउन आग्रह गर्नुभएको छ ।

गत वर्ष आएको बाढीका कारण हेलम्बु, मेलम्ची, इन्द्रावतीका केही भेग र पाँचपोखरी थाङ्पाल गाउँपालिकाकाको नदीतटीय क्षेत्रमा करोडौँको क्षति गरेको थियो। यसकारण पनि धेरै मानिस विगत दोहोरिएला भन्ने पिरलोमा देखिन्छन्।