काठमाडौं-नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल र प्रविधिको दुरुपयोगले नेपाली समाजको मौलिक संस्कृति, परम्परा र मूल्य–मान्यतामाथि गम्भीर चुनौती थपिरहेको बताएका छन्। उनले अल्गोरिदमको प्रभावमा सामाजिक सञ्जालमार्फत भ्रम, विकृति र नकारात्मक प्रवृत्ति फैलिरहेको भन्दै समाजलाई त्यसबाट जोगाउनुपर्ने आवश्यकता औँल्याएका छन्।
आइतबार काठमाडौंको टोखामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले सूचना प्रविधिको विकासलाई आत्मसात् गर्नुपर्ने भए पनि त्यसको दुरुपयोगबाट उत्पन्न हुने विकृति नियन्त्रण गर्न आवश्यक रहेको बताए। सामाजिक सञ्जालको अत्यधिक प्रयोगले मानिसको सोचाइ, सिर्जनशीलता र सामाजिक व्यवहारमा समेत नकारात्मक असर पारिरहेको उनको भनाइ थियो।
उनले सामाजिक सञ्जालले प्रयोगकर्ताको रुचिअनुसार सामग्री निरन्तर प्रस्तुत गर्ने प्रवृत्तिले मानिसलाई त्यसको प्रभावमा पारिरहेको बताए। मोबाइल र सामाजिक सञ्जालको अत्यधिक मोहले नेपाली समाजको मौलिक संस्कृति, सम्पदा र सभ्यतामाथि नै असर पुर्याइरहेको उनको टिप्पणी थियो।
‘हाम्रा परम्परा, हाम्रा मूल्य र हाम्रा संस्कृतिहरू समेत यसले खाइरहेको छ। यो मोबाइलको भाँडोले हाम्रो संस्कृति र सम्पदालाई खाइराखेको छ,’ पोखरेलले भने। उनले सामाजिक सञ्जालमा लाइक र भ्युज पाउने लोभमा नेपाली समाज आफ्नै मौलिकता र मर्यादाबाट विमुख हुँदै गएको टिप्पणीसमेत गरे।
पोखरेलले पपुलिस्ट, अराजकतावादी र अवसरवादी प्रवृत्तिबाट समाजलाई जोगाउनुपर्नेमा जोड दिए। प्रविधिको विकाससँगै त्यसले निम्त्याउने सामाजिक विकृति र भ्रम नियन्त्रण गर्न राज्य तथा समाज दुवै जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो।
यसैबीच, महासचिव पोखरेलले वर्तमान सरकारले महँगी नियन्त्रण र जनताको जीवनस्तर सुधार गर्न नसकेको आरोप लगाए। नयाँ सरकार गठनपछि जनताले राहत पाउनुको सट्टा थप आर्थिक पीडा भोग्नुपरेको उनको दाबी थियो।
दुई वर्षअघिको तुलनामा अहिले बजारभाउ निकै बढेको उल्लेख गर्दै उनले सरकार जनताको सुख, सुविधा र समृद्धिका लागि जिम्मेवार हुनुपर्ने बताए। ‘यो नयाँ सरकार आइसकेपछि, नयाँ भनिनेहरू भनौँ, सबैभन्दा पीडा जनतालाई भएको छ। किनभने महँगी बढेको बढ्यै छ,’ उनले भने।
जनता आर्थिक कठिनाइमा परिरहेका बेला सरकारले सामाजिक सञ्जालमार्फत परिवर्तन र चमत्कारको आश्वासन बाँडेर मात्रै नहुने उनको टिप्पणी थियो। सरकारको प्रमुख दायित्व जनतालाई सहज जीवनयापनको वातावरण निर्माण गर्नु र उनीहरूको आर्थिक अवस्था सुधार गर्नु रहेको पोखरेलले बताए।



प्रतिक्रिया