काठमाडौं – भारतीय स्थल सेनाध्यक्ष जनरल मनोज पाँडे भदौ १९ गते नेपाल भ्रमणमा आउदै हुनुहुन्छ ।
नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको दर्जा ग्रहण गर्न भारतीय सेनाध्यक्ष यहाँ आउन लाग्नु भएको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी सोमबार एक विशेष समारोहबीच भारतीय प्रधानसेनापति पाँडेलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम छ।
नेपाली सेना र भारतीय सेनाबीचको परम्पराअनुसार भारतीय सेनाध्यक्ष जनरल पाँडेलाई राष्ट्रपति भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्न लागेको सैनिक जनसम्पर्क निर्देशनालयले बुधबार प्रेस विज्ञप्ति जारी गरी जनाएको छ।
भ्रमणका क्रममा भारतीय प्रधानसेनापतिले रक्षामन्त्रीको समेत कार्यभार सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवासँग औपचारिक भेटघाट गर्नुहुनेछ ।
नेपाली सेनाले भ्रमणको कार्यतालिक बुधबार सार्वजनिक गरेको छ। पाँच सदस्यीय भ्रमणटोलीका साथ भारतीय सेनापति नेपाल आउन लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जानकारी दिएको छ।
नेपाली समकक्षी प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा पाँडे ५ दिनका लागि काठमाडौ आउन लागेका हुन्। भदौ २३ सम्म यहाँ रहँदा पाँडेले सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा श्रद्धाञ्जलि अर्पण, जङ्गी अड्डामा सम्मान गारत निरीक्षण, प्रधान सेनापति प्रभुराम शर्मासँग भेटघाट एवं छलफल गर्ने कार्यक्रम छ।
त्यसैगरी भारतीय सेनाका तर्फबाट नेपाली सेनालाई सहयोग स्वरुप दिइने विविध सामग्री हस्तान्तरण कार्यक्रम पनि रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। यसअघि गत महिना नेपाली सेनाले भारतसँग दुईवटा हेलिकोप्टर अनुदानमा मागेको थियो।
भारतीय प्रधानसेनापति पाँडे नेपाली सेनाका कमान्ड तथा स्टाफ कलेजका शिक्षार्थीसँग अन्तरक्रिया र मध्य कमान्ड हेडक्वार्टरको भ्रमण गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ।
प्रतिक्रिया