काठमाडौं-चीनका सभामुख तथा राष्ट्रिय जनकङ्ग्रेस स्थायी समिति अध्यक्ष ली चान्सु नेपालको औपचारिक भ्रमणका लागि नेपाल आउँदै हुनुहुन्छ । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा ली सोमबार नेपाल आउनलाग्नु भएको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार तीनदिने नेपाल भ्रमणमा आउन लागेको लीसहितको चिनियाँ प्रतिनिधिमण्डल भदौ २९ गतेसम्म नेपालमा रहनुहुने छ ।
सोमबार सभामुख सापकोटा र चिनियाँ नेता लीबीच भेटवार्ता हुने कार्यसूची रहेको छ । सभामुख सापकोटाले लीको सम्मानमा साँझ रात्रिभोजको आयोजना गर्नेहुने छ । मङ्गलबार चिनियाँ नेता लीले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग छुट्टाछुट्टै भेट गर्नुहुने छ । बुधबार उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतल निवास पुगेर शिष्टाचार भेट गर्ने कार्यसूची रहेको छ ।
यस्तै लीले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्नुहुने छ ।







प्रतिक्रिया