काठमाडौं-हाल मनसुनको न्यून चापीय रेखा पश्चिमी भू-भागमा सरदर स्थानमा र पूर्वी भू-भागमा सरदर स्थानभन्दा उत्तरमा अवस्थित रहेको छ। जसले गर्दा देशका केही भू–भागमा बिहानैदेखि मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।
गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । जसले गर्दा देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । विभागका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।
राती लुम्बिनी र गण्डकी प्रदेशका थोरै र प्रदेश १,मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा चट्याङसहित भारी वर्षाको पनि सम्भावना रहेको छ। भारी वर्षाको सम्भावना रहेका कारण पहाडी तथा भिरालो जमिनमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको विभागले जनाएको छ ।
सडक तथा हवाई यातायातमा सामान्य प्रभावको म्भावना रहेको विभागको भनाइ छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने र दैनिक जनजीवन प्रभावित हुनसक्ने भन्दै विभागले सतर्क हुन आग्रह गरेको छ ।







प्रतिक्रिया