अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समुन्नत समाज निर्माणमा गैरसरकारी संस्था सक्रिय हुनुपर्छ : मन्त्री रेग्मी

समुन्नत समाज निर्माणमा गैरसरकारी संस्था सक्रिय हुनुपर्छ : मन्त्री रेग्मी


काठमाडौं – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले गरिब विपन्न समुदायको सामाजिक आर्थिक रुपान्तरण गर्दै समुन्नत समाज निर्माण गर्न सबै गैरसरकारी संस्था सक्रिय हुनुपर्नेमा जोड दिनुभएको छ।

सामाजिक सेवा दिवसका अवसरमा आज आयोजित भृकुटीमण्डप परिसरमा आयोजना गरेको कार्यक्रममा उहाँले सामाजिक सङ्घ संस्थाको कामलाई पारदर्शी र परिणाममुखी बनाउन परिषद् कटिबद्ध रहेको बताउनुभयो ।

मन्त्री रेग्मीले सामाजिक सङ्घ संस्थाको कामलाई सहजीकरण गर्दै परियोजनाको लक्षित उद्देश्य प्राप्ति गर्ने कार्यमा स्थानीय तहसँगको समन्वय र सहकार्यमा प्रभावकारी, पारदर्शी र जवाफदेही भई काम गर्न आग्रह गर्नुभयो । उहाँले नेपालको आर्थिक सामाजिक विकासमा सामाजिक संस्थाको महत्वपूर्ण भूमिका रहेको भन्दै यसलाई आगामी दिनमा थप प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभयो । मन्त्री रेग्मीले मुलुक सङ्घीय संरचनामा गइसकेको विद्यमान अवस्थामा परिषद्ले आफ्नो भूमिकालाई समय सापेक्ष परिमार्जन गर्दै परिषद्को संरचनागत विस्तर गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

परिषद्बाट गरिने सेवालाई सहज र छिटोछरितो बनाउन विद्युतीय माध्यमबाट कार्यसम्पादन गर्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । परिषद्बाट राष्ट्रिय आवश्यकता र प्राथमिकताको क्षेत्रमा एकद्वार नीतिअनुरुप परियोजना सञ्चालन गर्नेगरी सङ्घ संस्थालाई प्रोत्साहन गर्ने कार्यको सुरुआत गरिएको उहाँले जानकारी दिनुभयो ।

‘दिगो विकास र आवधिक लक्ष्य प्राप्ति राष्ट्रिय अभियान, समावेसी समाज निर्माणमा सङ्घ संस्थाको योगदान’ भन्ने नाराका साथ सामाजिक दिवस मनाइएको हो । कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव डिल्लीराम शर्माले मुलुकको सर्वाङ्गीण विकासमा सामाजिक शक्ति परिचालन गरी सरकारको प्राथमिक लक्ष्य हासिल गर्न गैरसरकारी संस्थाको महत्वपूर्ण भूमिका हुने बताउनुभयो ।

उहाँले एकद्वारा सूचना प्रणालीको विकास गर्दै प्रभावकारी अनुगमन सुशासन कायर्म गर्न सरोकारवाला संस्था गम्भीर हुनुपर्ने बताउनुभयो । सचिव शर्माले नीतिगत कानुनी र संरचनागत सुधार गरी गैरसरकारी संस्थाको कार्यक्षमतालाई व्यवस्थिजत र पारदर्शी बनाइनुपर्नेमा जोड दिनुभयो ।

परिषद्का सदस्यसचिव मनोज भट्टले नेपाल सरकारको विकास अभियानलाई साकार तुल्याउन गैरसरकारी संस्थामार्फत हुने लगानी÷भूमिकालाई राष्ट्रिय आवश्यकता र प्राथमिकताको क्षेत्रमा सुनिश्चित गर्न परिषद् लागि परेको जानकारी दिनुभयो । उहाँले गैरसरकारी संस्थाका काम स्थानीय सरकारसँगको समन्वय र सहकार्यमा गर्ने, कामलाई निष्पक्ष, पारदर्शी र जवाफदेही बनाई एकद्वारा नीतिअनुरुप व्यवस्थित बनाइने बताउनुभयो ।

दिवसका अवसरमा भृकुटीमण्डपमा एक दिवसीय प्रदर्शनी आयोजना गरिएको छ । एक सय प्रदर्शनी कक्षमा सामाजिक संस्थाले समाजमा गरेका विकास र उत्पादन सामग्रीको ‘डेमो’ प्रदर्शन गरिएको छ । तिलगङ्गा आखा अस्पतालले पनि आँखा दान महादान अभियान सुरु गरेको छ । उक्त प्रदर्शनी कक्षको प्रधानमन्त्री देउवाले उद्घाटन गर्नुभयो । सोही अवसरमा प्रधानमन्त्री देउवाले समाजकल्याण परिषद्को ‘डिजिटल पोर्टल’ शुभारम्भ गर्नुभयो । परिषद्ले अनलाइनबाट सेवा प्रर्वाह गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको उक्त पोर्टलमार्फत अनलाइनबाट गैरसरकारी संस्था दर्ता, नवीकरण र कार्यालयका सबै कागजात अभिलेख राखिने जनाइएको छ ।

आर्थिक वर्ष २०७८/७९ को अन्तसम्म परिषद्मा आवद्ध कूल राष्ट्रिय गैर सरकारी संस्था ५४ हजार १५ वटा रहेका छन् भने दुई सय हाराहारी अन्तर्राष्ट्रिय गैरसरकारी संस्था छन् ।

Skip This