अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमालेका यी महिला नेतृहरू जो प्रत्यक्ष निर्वाचन भिड्दैछन्

एमालेका यी महिला नेतृहरू जो प्रत्यक्ष निर्वाचन भिड्दैछन्


काठमाडौं – नेकपा एमालेले अधिकांश निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फ सिफारिस गरिएका नामहरूमध्ये एकजना महिलालाई पनि समेटेको छ । त्यसमध्ये पनि केही महिला नेतृहरू प्रत्यक्षतर्फको चुनावी मैदानमा भिड्न घनिभुत तयारीमा लागेका छन् । यसका लागि उनीहरूले आफ्नो पक्षमा टिकट हात पार्न नेतृत्वलाई दबाब सृजना गर्ने देखि मतदातालाई आफ्नो पक्षमा पार्न निरन्तर लागिपरेका छन् ।

चुनावी मैदानमा भिड्न तयारी गर्नेहरू महिला नेतृहरूमा हाइप्रोफाइल सचिव पद्मा अर्याल हुनुहुन्छ । गण्डकी प्रदेशकी इन्चार्ज समेत रहेकी अर्याल स्याङजा  क्षेत्र–२ बाट चुनाव भिड्ने तयारीमा हुनुहुन्छ । गत निर्वाचनमा कांग्रेसका तत्कालिन उपसभापति गोपालमान श्रेष्ठलाई पराजित गरेकी अर्यालसँग भिडाउन गठबन्धनले अहिलेसम्म उम्मेद्वार पाउन सकेको छैन ।

यस्तै स्थायी कमिटी सदस्य शिवमाया तुम्बाहाम्फे पनि चुनावी भिडन्तमा उत्रने तयारी गर्नुभएको छ । मोरङ क्षेत्र नं. १ बाट चुनाव लड्ने इच्छा प्रकट गर्नुभएकी तुम्बाहाम्फे पूर्व उपसभामुख र मन्त्री पनि हुनुहुन्छ ।

प्रतयक्षतर्फ चुनावी मैदानमा भिडेकी अर्की महिला नेतृ निरुदेवी पाल हुनुहुन्छ । कञ्चनपुरको ३ निर्वाचन क्षेत्रबाट चुनावी तयारी गरेकी पाल लामो समयदेखि निर्वाचन क्षेत्रका कार्यकर्ताका माझमा हुनुहुन्छ । यसअघि समानुपातिक सांसदको रूपमा रहनुभएकी पाल हक्की नेतृको रूपमा चिनिनुहुन्छ । एमाले पोलिटव्यूरो सदस्य पाल विरुद्ध गठबन्धनबाट कसले चुनाव लड्छ भन्ने कुरा अहिलेसम्म निश्चित भएको छैन ।

सुदुरपश्चिमबाटै अर्की नेतृ चुनावी मैदानमा उत्रिने तयारीमा हुनुहुन्छ । थुप्रै पुरुष प्रतिष्पर्धीको माझबाट आफैंलाई पार्टीले टिकट दिने विश्वासमा रहेकी केन्द्रीय सदस्य कमला ओली चुनावको तयारीमा हुनुहुन्छ । यसअघि दुईवर्ष राष्ट्रिय सभाको सदस्य भइसकेकी ओली पार्टीले आफूलाई टिकट दिने र मतदातालाई आफूलाई मतदिने कुरामा विस्वस्त हुनुहुन्छ ।

सुदुरपश्चिमकै अर्की नेतृ गौरी ओली डोटीमा गठबन्धनका प्रेम आले विरुद्ध चुनावी मैदानमा उत्रिने तयारीमा हुनुहुन्छ । आफ्नै पार्टी अध्यक्ष माधव नेपाल विरुद्ध समेत धावा बोलेका आलेलाई परास्त गर्न आफू काफी रहेको गौरीको भनाइ छ । यसअघि २०७० को संविधानसभाकी सदस्य रहेकी एमाले भित्र जुझारु नेतृको रूपमा चिनिनुहुन्छ ।

लुम्बिनी प्रदेशको दाङको क्षेत्र नं. ३ बाट चुनावी प्रतिष्पर्धा गर्ने तयारी गरेकी केन्द्रीय सदस्य कोमल वली एमालेमा अर्की क्रियाशिल नेतृको रूपमा चिनिनुहुन्छ । सांस्कृतिक र पत्रकारिताको पृष्ठभूमीबाट राजनीतिमा आएकी वली एमाले प्रवेश गर्ने वित्तिकै राष्ट्रिय सभाको सदस्य हुनुहुभयो । लोकप्रिय गायिकाको रूपमा ख्याती कमाएकी वली आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रीय भएर जनताकै काममा व्यस्त हुनुहुन्छ । पार्टीले टिकट दिएमा जनताबाट अनुमोदितत भएर केपी ओलीलाई प्रधानमन्त्री बनाउन आफूले एउटा मत लिएर संसदमा आउने वलीको भनाइ छ ।

दाङकै निर्वाचन क्षेत्र नं. १ बाट गंगा चौधरी र शान्ता चौधरी आपसमै कसले टिकट पाउने भनेर प्रतिष्पर्धामा छन् । दुवै अहिले समानुपातिक सांसदको रूपमा विगतको कार्यकाल गुजारे । शान्ता २०६४ सालमा पनि एमालेका तर्फबाट समानुपातिक हुनुहुन्थ्यो । दुवै पार्टीको केन्द्रीय सदस्य हुनुहुन्छ ।

 यता मधेस प्रदेशबाट प्रत्यक्ष निर्वाचन भिड्न तम्सिएकी पोलिटव्यूरो सदस्य ज्वाला साह हुनुहुन्छ । बाराको क्षेत्र नं. ३ बाट गठबन्धनका उम्मेद्वारलाई पराजित गरेर संघीय संसदमा उदाउने प्रयास पूर्ण विश्वासमा रहेकी साह हिम्मतीली नेतृको रूपमा मधेसमा परिचति हुनुहुन्छ । कुशल वक्ताको रूपमा रहेकी साह संविधानसभा सदस्य, प्रदेश सभा सदस्य भइसक्नु भएको छ । केपी शर्मा ओलीको सरकारमा साह कृषि तथा पशुपंक्षी मन्त्री हुनुहुन्थ्यो ।

एमालेमा अर्की एक नेतृ हुनुहुन्छ भगवती चौधरी । पार्टी केन्द्रीय सदस्य चौधरी, जो बालुवाटार जग्गा प्रकरणका एकजना अभियोगी विजयकुमार गच्छारको षडयन्त्रमा निर्वाचनमा पराजित हुने गर्नुभएको छ । जनताले विवेकले मतदान गर्न अवरोध गर्ने सुनसरीको निर्वाचन क्षेत्र नं. ३ मा विगत तीनवटा निर्वाचनमा भगवती विजयकुमारबाट षडयन्त्रपूर्ण ढंगले पराजित हुनुभएको छ । ‘यसपाली ती सबै षडयन्त्रलाई चिरेर गच्छादारको ३० वर्षे शासन तोड्छु र संसदमा प्रवेश गर्छु’ चौधरीले भन्नुभयो ।