काठमाडौं-नेकपा (एमाले)का सचिव महेश बस्नेतले निष्पक्ष निर्वाचनका लागि मतदानको दिन मात्र नभई निर्वाचनअघिको राजनीतिक वातावरण पनि स्वतन्त्र, भयमुक्त र समान हुनुपर्ने बताएका छन्।
सचिव बस्नेतले आज सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्वाचनसम्बन्धी दृष्टिकोण सार्वजनिक गर्दै निर्वाचन मतदानको दिन मतपेटिकामा मतपत्र खसाल्ने प्रक्रियामा मात्र सीमित नहुने उल्लेख गरेका हुन्।
सचिव बस्नेतले निर्वाचनको वास्तविक प्रक्रिया मतदान हुनुभन्दा धेरैअघि नै सुरु हुने भन्दै मतदाताको मन निर्माण, राजनीतिक दलले आफ्ना विचार जनतासम्म पुर्याउन पाउने अवस्था, उम्मेदवारको निर्भय आवागमन तथा सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सबै पक्षको समान पहुँचजस्ता विषय निर्वाचनका आधारभूत पक्ष भएको बताएका छन्।

सचिव बस्नेतले निर्वाचनका क्रममा प्रशासन निष्पक्ष हुनुपर्ने र नागरिकले आक्रोश, डर, भ्रम, प्रतिशोध तथा एकपक्षीय प्रचारबाट प्रभावित नभई स्वतन्त्र रूपमा निर्णय गर्न पाउनुपर्ने धारणा व्यक्त गरेका छन्।
निष्पक्ष निर्वाचनको सुनिश्चितता मतपेटिकाबाट मात्र नभई निर्वाचनपूर्वको स्वतन्त्र, भयमुक्त र समान राजनीतिक वातावरणबाट हुने उल्लेख गर्दै उनले यसलाई लोकतन्त्रको वास्तविक मर्मसँग जोड्नुपर्ने बताएका छन्।



प्रतिक्रिया