अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुर्गा पक्षको सातौँ दिन देशभरका शक्तिपीठमा भक्तजनको लाम

दुर्गा पक्षको सातौँ दिन देशभरका शक्तिपीठमा भक्तजनको लाम


काठमाडौं – वडादसैँको सातौँ दिन अर्थात् दुर्गा पक्षका अवसरमा देशभरका देवी मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ। वडादसैँका अवसरमा आजैदेखि एकादशीसम्म सार्वजनिक बिदा दिइएकोछ । सरकारी कार्यालय, विद्यालयलगायत शैक्षिक संस्था सबै बन्द भएपछि आममानिस पर्व मनाउन व्यस्त भएका छन् । बिदा भएपछि बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको हो । सामान्यत शनिबार पनि मन्दिरमा भीड लाग्ने गरेकामा आज दसैँको फूलपाती भएकाले भक्तजनको लर्को लागेको हो ।

शक्तिपीठ र देवी मन्दिर वरिपरिका सडकमा सवारीको पनि चाप देखिन्छ । ती स्थानमा पार्किङ गरिएका सवारीको पनि लाम भेटिन्छ । अन्यत्र भने सडक खुला छ । अघिपछि सडक जाममा पर्ने यात्रु अहिले भने खुला वातावरणमा यात्रा गर्न पाउने भएका छन् । सवारी साधन कम भएपछि राजधानीको वातावरणमा पनि धुवाँ धुलोको मात्रा कम भएको छ ।

राजधानीका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, विजेश्वरी, कङ्केश्वरी, इन्द्रायणी, रक्तकाली, श्वेतकाली, दक्षिणकाली, चामुण्डामाई, सुन्दरीमाई, बज्रयोगिनी, बज्रबाराही, बगलामुखीलगायत मन्दिरमा भक्तजनको भीड छ ।

यसैगरी उपत्यका बाहिरका देवी मन्दिरमा पनि भक्तजनको भीड बढ्न थालेको छ । पाथीभरा, छिन्नमस्ता, गहवामाई, पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, मनकामना, इच्छाकामना, विन्ध्यवासिनी, बाग्लुङ कालिका, शैलेश्वरी, उग्रतारा, बडीमालिकालगायत मन्दिरमा भक्तजनको भीड लागेको जनाइएको छ ।

नवरात्रसमेत भनिने यस अवसरमा शक्तिपीठमा दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । विगतका दुई वर्ष कोरोना महामारीका कारण शक्तिपीठ बन्द गरी घर घरमै दुर्गा देवीको पूजाआराधना गर्न आह्वान गरिएको थियो । यस वर्ष भने कोरोनाको जोखिम कम भए पनि डेङ्गुको त्रास बढेको छ। यस वर्ष डेङ्गुबाट सुरक्षित भएर दसैँ मनाउन प्रशासनले आह्वान गरेको छ ।