अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तिहार-छठ लक्षित १९औँ गोदावरी फूल प्रदर्शनी सुरु

तिहार-छठ लक्षित १९औँ गोदावरी फूल प्रदर्शनी सुरु


ललितपुर-तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरमा १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी २०८३ बिहीबारदेखि सुरु भएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) को आयोजनामा सुरु भएको पाँचदिने प्रदर्शनीमा ४५० भन्दा बढी प्रकारका फूल तथा बिरुवा अवलोकन र खरिद गर्न सकिनेछ।

‘रोपेर फूल गोदावरी, सजाऔँ घरआँगन वरिपरि’ भन्ने नाराका साथ आयोजित प्रदर्शनीमा नेपालमा उत्पादित विभिन्न जातका गोदावरी फूलका साथै यसै वर्ष भित्रिएका नयाँ प्रजातिसमेत राखिएका छन्। प्रदर्शनीमा फूल तथा बिरुवाको अवलोकन र बिक्री वितरणका लागि कुल ८६ वटा स्टल व्यवस्था गरिएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार प्रदर्शनीमा ७८ वटा व्यावसायिक स्टल, एउटा प्लान्ट क्लिनिक, चारवटा अफिसियल स्टल, दुईवटा प्रतियोगितात्मक स्टल र एउटा फोटो सेल्फी स्टल रहेका छन्।

प्रदर्शनीमा सहभागी नर्सरी तथा फार्मबीच गोदावरी फूलका पाँच विधामा प्रतिस्पर्धा गराइएको छ। मिनिएचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र कट फ्लावर विधामा प्रतिस्पर्धा हुनेछ। यसका साथै उत्कृष्ट स्टल र यस वर्ष थप गरिएको उत्कृष्ट पुष्प सजावट विधामा पनि प्रतिस्पर्धा गराइनेछ। विभिन्न विधामा उत्कृष्ट हुने सहभागीलाई सिल्ड, नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

तिहारमा घर, आँगन तथा कार्यालय सजाउन गोदावरी फूलको माग बढ्ने भएकाले प्रदर्शनीले स्वदेशी पुष्प उत्पादन, बजारीकरण र व्यवसाय प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। प्रदर्शनीले पुष्प उत्पादकलाई आफ्ना उत्पादनको प्रचारप्रसार तथा बिक्री गर्ने अवसर प्रदान गर्नुका साथै उपभोक्तालाई विभिन्न प्रजातिका फूल तथा बिरुवाबारे जानकारी लिन र आवश्यक सामग्री खरिद गर्न सहज बनाउनेछ।

आयोजकले पाँच दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा ३९ हजारभन्दा बढी दर्शकले प्रत्यक्ष अवलोकन गर्ने र एक करोड ३० लाख रुपैयाँभन्दा बढीको व्यावसायिक कारोबार हुने अपेक्षा गरेको छ।

प्रदर्शनीमा फूलप्रेमी, पुष्प व्यवसायी तथा सर्वसाधारणले विभिन्न प्रजातिका गोदावरी फूलको अवलोकन गर्नुका साथै आफूलाई आवश्यक फूल तथा बिरुवा खरिद गर्न सक्नेछन्।