अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतीय कंग्रेसको अध्यक्ष चुन्न आज चुनाव हुँदै, नेतृत्व गान्धी परिवारबाट बाहिर जाने

भारतीय कंग्रेसको अध्यक्ष चुन्न आज चुनाव हुँदै, नेतृत्व गान्धी परिवारबाट बाहिर जाने


काठमाडौं-भारतीय राष्ट्रिय कंग्रेसको नयाँ अध्यक्ष चुन्नका लागि आज ९सोमबार० मतदान हुँदैछ। भारतको पुरानो राजनीतिक पार्टी कंग्रेसले २२ वर्षपछि चुनावबाट पार्टी अध्यक्ष छान्न लागेको हो।

कंग्रेसको अध्यक्ष बन्नका लागि मालिकार्जुन खार्गे र शशि थरूर चुनावी मैदानमा छन्। टाइम्स अफ इन्डियाका अनुसार अध्यक्षको दौडमा ८० वर्षका खार्गे थरूरभन्दा अघि देखिएका छन्। कर्नाटका राज्यबाट माथिल्लो सदन राज्यसभा सांसद छन्। केरलाबाट लोकसभा सदस्य रहेका ६६ वर्षीय थरूरले पनि आफूले चुनाव जित्ने दाबी गरेका छन्।

खार्गे र थरूरमध्ये एक जनालाई अध्यक्ष चुन्न पार्टीका प्रतिनिधिहरूले केन्द्रीय कार्यालयसहित विभिन्न प्रदेशमा रहेका ६७ वटा मतदान केन्द्रबाट मत हाल्नेछन्। भारतभरिबाट कंग्रेसका करिब ९ हजार प्रतिनिधि मतदानमा सहभागी हुने उल्लेख गरिएको छ। मतगणना बुधबारदेखि सुरू हुनेछ।

द हिन्दुका अनुसार सन् २००० मा सोनिया गान्धीले जितेन्द्र प्रसादलाई हराएर कंग्रेसको नेतृत्व सम्हालेकी थिइन्। गान्धी परिवारको विशेष पकड रहेको कंग्रेसमा उनी लगातार २०१७ सम्म अध्यक्ष भइन्। त्यसपछि उनका छोरा राहुल गान्धी बिना चुनाव अध्यक्ष चुनिए।

सन् २०१४ को आम चुनावमा पराजय व्यहोरेको कंग्रेसले सन् २०१९ को आम चुनाव पनि हारेपछि राहुलले राजीनामा दिएका थिए। राहुलले राजीनामा दिएपछि सोनिया फेरि कंग्रेसकी अध्यक्ष बनेकी थिइन्। आज हुने मतदानको परिणाम आएसँगै भारतीय कंग्रेसको नेतृत्व दुई दशकपछि गान्धी परिवारबाट बाहिर जानेछ।

Skip This