अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माटोका भाँडा नबिक्दा पेसा सङ्कटमा

माटोका भाँडा नबिक्दा पेसा सङ्कटमा


भालुवाङ – कुनै समय यस्तो थियो, जतिबेला माटाका भाँडाबाट हुने आम्दानी राम्रो थियो । कुमाल समूदायको मुख्य आम्दानीको स्रोत नै यही थियो । दाङ गढवाका कुमाल समूदायहरु माटाका भाँडा बिक्री गर्न घोराही, लमही तुलसीपुर, भालुवाङ हुँदै सल्यान, प्यूठान, नेपालगञ्ज, कैलाली र कञ्चनपुरसम्म पुग्थे ।

अहिले त्यस्तो समय छैन । माटाका भाडालाई प्लास्टिकका आयातित भाँडाले बिस्थापित गरेका छन् । बजारमा आक्कलझुक्कल देखिने माटाका भाँडाको प्रयोग घटेसँगै कुमाल समूदायमा यसबाट हुने आम्दानी पनि ओरालो लागेको छ ।

बजारमा प्लास्ष्टिकका भाँडा बढ्न थालेपछि रेशम कुमालले तीन महिनाअघि तयार पारेका माटोका भाँडा घरको पिँढीमा थन्किएका छन् । “यी अहिले बिक्री हुन नसकेका भाँडा हुन्”, उहाँले भन्नुभयो, “घरभित्र राख्ने ठाउँ पनि छैन पानीले भिजायो भने मेहनत खेर जान्छ ।”

बजारमा प्लास्टिकका आयातित सामान सहजै पाउन थालेपछि आफूहरुले बनाएका माटोका भाँडा बिक्न छाडेको दाङ गढवा–५ का धनराज कुमालले गुनासो गर्नुभयो । लामो समयदेखि माटोका भाँडा बनाएर जीविका चलाउँदै आउनुभएका उहाँले भाँडा बिक्न छोडेपछि घर खर्च चलाउनै समस्या भएको बताउनुभयो ।

यस क्षेत्रमा कुमाल समुदायका करिब दुई सय घरधुरी छन् । जसको मुख्य पेसा नै माटोका भाँडा बनाउनु हो । माटोका भाँडाको तुलनामा प्लास्टिकका भाँडा सस्तो र टिकाउन हुने भएकाले प्रयोग बढ्न थालेको हो ।

“न लेख–पढ गर्न सकियो न अन्य कुनै काम सिक्न सकियो,” गढवा–६ का चौकु कुमालले भन्नुभयो, “समूदायको पुख्र्यौली पेसा अपनाइयो तर अहिले यसबाट सोच जस्तो पैसा कमाउन सकिएको छैन ।”

त्यति मात्रै होइन, माटोका भाँडा बजारसम्म लैजाँदा बिचौलियाको समस्या पनि उत्तिकै छ । कुमालहरुले मट्का रु दुई सयदेखि दुई सय ५०, ठेकी रु एक सयदेखि डेढ सयसम्म, गमला रु एक सयसम्म, खुत्रुके रु ५० देखि एक सयसम्म बिक्री गर्छन् । तर त्यसमा पनि बिचौलियाका कारण कुमालहरुले निकै कम प्रतिफल पाउने गरेको चौकु कुमालले गुनासो गर्नुभयो ।

एकातिर माटोको भाँडाले बजार पाएका छैनन् भने अर्कोतिर पुख्र्यौली पेसा ओझेलमा परेकोमा उनीहरुमा चिन्ता छ । “युवापुस्ता पनि यो पेसामा मन लगाउँदैनन्, उनीहरु यो काम गर्नुभन्दा जिल्ला बाहिर गएर काम गर्न मन पराउछन्”, स्थानीय अम्मर कुमालले भन्नुभयो ।

कुमाल समुदायको आर्थिक स्थिति सबल गराउने भन्दै केही समयअघि ‘स्वच्छ व्यवसाय समूह नेपाल’ले तीन महिने माटोको भाँडा बनाउने तालिम दिएको थियो । तालिममा झण्डै तीस जना कुमाल समुदायका व्यक्ति सहभागी थिए । संस्थाले उनीहरुलाई सीप सिकाउनुका साथै भाँडालाई पोल्न आधुनिक भट्टा निर्माणका लागि रु नौ लाख सहयोग गरेको थियो ।

कुमालहरुको पुख्र्यौली पेसालाई संरक्षण र सम्बर्द्धनका लागि स्थानीय सरकारले चासो दिएको गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोखरेलले बताउनुभयो । “उहाँहरुको पेसालाई संरक्षण र प्रवर्द्धन गर्न गाउँपालिका योजना बनाएर अघि बढ्छ”, उहाँले भन्नुभयो, “यो पेसालाई जोगाइराख्न माटोको भाँडालाई बजारीकरण गर्ने, माटो र दाउरा सहजरुपमा उपलब्ध गराउन सहयोग गर्नेछौँ ।”

Skip This