अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

क्रुजसिपमा सरर…

क्रुजसिपमा सरर…


चितवन – नारायणी नदीमा व्यावसायिकरूपमा ‘क्रुजसिप’ सञ्चालनमा आएको छ। राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको क्रुजसिप व्यावसायिकरूपमा सञ्चालनमा ल्याइएको हो। यही माघ १ गतेबाट नियमितरूपमा व्यावसायिक सञ्चालन गरिएको छ।क्रुजसिपमा सरर…

राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका कार्यकारी निर्देशक दीपक ढुङ्गेलले विगत तीन दिनदेखि नियमितरूपमा सञ्चालन गरिँदै आएको बताउनुभयो। दैनिक तीनपटक सञ्चालन गरिँदै आएको छ। दैनिक एक सय जनाभन्दा बढीले क्रुजमा मनोरञ्जन लिएको उहाँले जानकारी दिनुभयो।

काठमाडौँ, पोखरालगायतका जिल्लाबाट समेत क्रुज सयरका लागि आएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘सुरुआती चरणमा उत्साहजनक उपस्थिति छ ।’ स्थानीयवासीसहित बाहिरी जिल्लाबाट समेत पर्यटक आएको उहाँ बताउनुहुन्छ । क्रमशः ५०–६० जना भएसँगै क्रुज सञ्चालन गर्ने गरी तयारी गरिएको छ।

केही वर्षअघि नै सञ्चालनमा ल्याउन खोजे पनि कोरोना महामारी र कानुनी समस्याका कारण क्रुज सञ्चालन गर्न नसकिएको उहाँले बताउनुभयो। क्रुजको दुई वर्ष अगाडि नै सफल परीक्षण गरिएको थियो। एक घण्टासम्म नारायणी नदीमा सयर गराउने योजना रहेको उहाँले बताउनुभयो। यसका लागि रु सात सयको टिकट काट्ने गरिएको छ । यसमा एक कप कफी दिइँदै आएको छ।

यसका अलावा विभिन्न प्याकेज पनि तयार पारेको उहाँले बताउनुभयो। ब्रेकफास्ट क्रुजिङका लागि रु.एक हजार पाँच सय, लञ्च क्रुजिङका लागि रु दुई हजार, डिनर क्रुजिङका लागि रु.दुई हजार पाँच सय शुल्क तोकिएको छ । केही दिनभित्रै सुरुमा डिनरबाट प्याकेज सञ्चालन गर्ने तयारी गरिएको छ। यो समयमा बिहानमा कुहिरोका कारण सञ्चालन कठिन हुने भएकाले लञ्च र डिनर गर्न सकिने उहाँको भनाइ छ।

क्रुजसिपभित्र रेष्टुरेन्ट, सांस्कृतिक कार्यक्रम गर्न आकर्षक स्टेज, बैठक सेमिनार गर्न मिल्ने हल, सेल्फी प्वाइन्टहरू राखिएका छन्। भरतपुर महानगरपालिका–१६ ज्ञानेश्वर सामुदायिक वनस्थित काभ्रेघाटमा क्रुजसिपको स्टेशन रहेको छ। तीन तलाको क्रुजमा दुई सय जना यात्रु एकैसाथ चढ्न मिल्छ।

कम्पनीका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलका अनुसार यो क्रुजसिप निर्माणमा रु.१५ करोडभन्दा बढी खर्च भएको छ। क्रुजमा सेल्फी लिने तथा चलचित्र सुटिङ गर्न मिल्ने युनिट डिजाइन परिवर्तन गरी थपिएको छ । क्रुजमा यात्रा गर्ने हरेक यात्रुको रु.१० लाख बराबरको बीमा गरिएको छ । क्रुजसिपमै बसेर विवाह, व्रतबन्ध, पास्नी, जन्मोत्सव, वैवाहिक वर्षगाँठलगायतका गतिविधि गर्न पाइने उहाँले जानकारी दिनुभयो ।

नारायणी नदीको ४० किलोमिटरमा सञ्चालनका अनुमति लिएको निर्देशक कँडेलको भनाइ छ । यतिबेला पानीको सतह निकै कम भएकाले केही किलोमिटर मात्र चलाइने छ । पानीको बहावअनुसार दूरी बढाउँदै लैजाने उहाँले बताउनुभयो। नर्वेजियन प्रविधिको प्रयोग गरेर बनाइरहेको क्रुजसिप भारतको केरलाका प्राविधिकले तयार गरेका हुन्। यसको चालक दलमा १५ जना रहने छन् ।

क्रुजसिप सञ्चालनसँगै यहाँको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा व्यवसायीले गरेका छन् । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकलाई एक दिनको बसाइ लम्ब्याउन र मनोरञ्जन दिन क्रुज उपयोगी हुनसक्ने व्यवसायीको भनाइ छ । 

Skip This