अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गुणस्तरहीन औषधिबारे निगरानी बढाउन स्वास्थ्यमन्त्री गिरीको निर्देशन

गुणस्तरहीन औषधिबारे निगरानी बढाउन स्वास्थ्यमन्त्री गिरीको निर्देशन


काठमडौं – स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले बजारमा जताततै गुणस्तरहीन औषधिहरु बिक्री भइरहेको गुनासो आइरहेको भन्दै सबै ठाउँमा निगरानी बढाउन निर्देशन दिनुभएको छ ।

आज औषधि व्यवस्थापन विभागको अनुगमन तथा ब्रिफिङ लिने क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गिरीले विभागलाई यस्तो निर्देशन दिनुभएको हो ।

उहाँले सिमित क्षेत्रको भन्दा पनि अब सबै ठाउँका फार्मेसीहरुको निरीक्षण र नियमन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘बजारमा अहिले पनि गुणस्तरहीन औषधिहरु बेचिरहेको छ भन्ने सुनेका छौँ। तपाईंहरुले सर्टेन ठाउँको स्याम्पेलिङ गर्नुभयो। पछिल्लो समय ७ प्रतिशत गुणस्तरहीन औषधि भेटियो भन्नुभयो । यसतर्फ हामीले कुनैपनि हिसावले जनशक्ति छैन, वा यो त्यो छैन भन्ने बहानामा नागरिकको स्वास्थ्यमा खेलबाड गर्नुहुँदैन। त्यसमा सम्पूर्ण रुपले प्रतिवद्ध भएर विभागले आफ्ना कार्य अघि बढाउनुपर्छ।’

मन्त्री गिरीले स्वास्थ्य विभागमा पूर्वाधारको दुरावस्था रहेको भन्दै पूर्वाधारको निर्माण गरेर अघि बढ्न निर्देशन दिनुभयो । उहाँले औषधि विभागको क्षमता वृद्धि गर्नुपर्ने बताउनुभयो । मन्त्री गिरीले स्वास्थ्यको क्षेत्रमा अब नेपालमा आधारभुत रुपले जनताले अनुभुति गर्नेगरी स्वास्थ्य क्षेत्रको सुधार गर्न आवश्यक रहेको बताउनुभयो ।