अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभा सदस्यमा एमालेका कुमार दशौदी विजयी

राष्ट्रियसभा सदस्यमा एमालेका कुमार दशौदी विजयी


दाङ – राष्ट्रिय सभा उपनिर्वाचनमा सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा एमालेका उम्मेदवार कुमार दशौदी विजयी हुनुभएको छ ।

खसेको कुल मतको मतभार ७ हजार ९ सय मध्ये ४ हजार २६ मत प्राप्त गरी दशौदी राष्ट्रिय सभा सदस्यमा विजयी हुनुभएको हो।

दशौदीले प्रदेशतर्फ २०६४ र स्थानीय तहतर्फ १९६२ गरी जम्मा  ४ हजार २६ मतभार प्राप्त गर्नु भएको छ। नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद आचार्यले प्रदेशतर्फ १७७६ र स्थानीय तहतर्फ १९४४ जम्मा ३७२० मत प्राप्त गर्नुभयो।

 नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर रायले १ सय ९२ मतभार प्राप्त गर्नुभएको निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभएको  छ । प्रदेश सभातर्फ १ सय ४४ मतभार बदर भएको छ ।

लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा रिक्त एक सदस्य चयन गर्नका भएको मतदानमा प्रदेश सभाका ८७ जना र स्थानीय तहका प्रमुख-उपप्रमुख २१७ जनाले मतदान गर्नुभएको थियो ।

प्रदेश सभा सदस्य  र स्थानीय तह प्रमुख उपप्रमुख गरी ३०५ जना मतदाता रहेकोमा रुपन्देही जिल्लाको मर्चवार गाउँपालिका उपप्रमुख आशा सिंह मतदानमा सहभागी हुनु भएन । सिंह नेपाली प्रगतिशील पार्टीबाट स्थानीय तह उपप्रमुखमा निर्वाचित हुनुभएको थियो।  राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि उपनिर्वाचन भएको थियो ।