अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भ्रष्टाचारविरुद्ध सरकार अब हदैसम्म निर्मम बन्छ: प्रधानमन्त्री दाहाल

भ्रष्टाचारविरुद्ध सरकार अब हदैसम्म निर्मम बन्छ: प्रधानमन्त्री दाहाल


काठमाडौं – प्रधानमान्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारविरुद्ध वर्तमान सरकार हदैसम्म निर्मम हुने बताउनुभएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औं स्थापना दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शनिबार प्रधानमन्त्री प्रचण्डले नागरिकको हित अभिवृद्धि र सुशासन कायम गर्न भ्रष्टाचार नियन्त्रण अपरिहार्य भएको बताउनुभएको हो ।

उहाँले संवैधानिक निकायको रुपमा स्थापित यो संस्थाले भ्रष्टाचार निवारणमार्फत सुशासन कायम गर्न स्वतन्त्र, निष्पक्ष र निर्भिक ढंगले भ्रष्टाचार र अनियमितताविरुद्ध अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन दृढताकासाथ अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले सरकारको नीतिगत प्राथमिकता तथा न्यूनतम कार्यक्रममा अख्तियार दुरुपयोग अनसन्धान आयोगजस्ता भ्रष्टाचार नियन्त्रणमा संलग्न निकायलाई कानुन, जनशक्ति, स्रोेत र साधनसहित अधिकार सम्पन्न बनाउने बताउनुभयो ।

भ्रष्टाचार नियन्त्रण र सदाचार प्रत्याभुत गर्न एवं भ्रष्टाचार र अख्तियार दुरुपयोगसँग जोडिएका विषयको छानबिन र अनुसन्धान गरी कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जो कोही भ्रष्टाचारीमाथि कानुनी कारबाही अघि बढाउने प्रतिवद्धता वर्तमान सरकारको उच्च प्राथमिकतामा रहेको उहाँको भनाइ छ ।

भ्रष्टाचारमुक्त र सदाचारयुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ नेपालको संविधानले आयोगलाई प्रदान गरेको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने सवालमा आयोगलाई सरकारको तर्फबाट हरप्रकारको सहयोग गर्ने प्रधानमन्त्री प्रचण्डले प्रतिवद्धता जनाउनुभयो ।