अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पत्रकार महासङ्घद्वारा सांसद खत्रीको अभिव्यक्तिप्रति आपत्ति, क्षमायाचनाको माग

पत्रकार महासङ्घद्वारा सांसद खत्रीको अभिव्यक्तिप्रति आपत्ति, क्षमायाचनाको माग


काठमाडौँ-नेपाल पत्रकार महासङ्घले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि सभा सदस्य राजीव खत्रीले पत्रकारिता क्षेत्र र नेपाल पत्रकार महासङ्घलाई जोडेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ।

महासङ्घका महासचिव रामप्रसाद दाहालले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा खत्रीले बुधबार (असोज १४ गते) प्रतिनिधि सभा बैठकमा प्रेस काउन्सिललाई धम्क्याउने व्यक्ति ‘पत्रकार हुन् कि गुण्डा’ भन्दै पत्रकारका नाममा कसैलाई पनि ‘असनको साँढे’ बन्ने छुट नभएको अभिव्यक्ति दिएको उल्लेख छ।

महासङ्घले उक्त अभिव्यक्तिले सिङ्गो पत्रकारिता क्षेत्रको अपमान गरेको जनाएको छ। विज्ञप्तिमा महासङ्घका नेताहरूले दलगत स्वार्थभन्दा माथि उठेर पत्रकारिता क्षेत्रको मर्यादा कायम गर्नुपर्ने भन्दै खत्रीको अभिव्यक्ति अशोभनीय, अमर्यादित र अराजक रहेको ठहर गरिएको छ।

महासङ्घले खत्रीको अभिव्यक्तिप्रति खेद व्यक्त गर्दै सार्वजनिक रूपमा क्षमायाचना गर्न आग्रह गरेको छ। साथै, विवादित अभिव्यक्ति प्रतिनिधि सभाको रेकर्डबाट हटाउन सभामुखसमक्ष माग गरेको छ।

महासङ्घले संवैधानिक अधिकारको ख्याल नगरी प्रेसविरुद्ध दूषित मानसिकता राखेर पत्रकार र प्रेस जगतलाई धम्क्याउने सांसद खत्रीलाई कारबाहीको दायरामा ल्याउन सम्बन्धित पक्षसँग मागसमेत गरेको छ।

महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संवैधानिक अधिकारको सम्मान गर्न र पत्रकारिता क्षेत्रको मर्यादा कायम राख्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।