अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भैरहवामा २ करोड ५२ लाखका सुनका गहना बरामद, महिला पक्राउ

भैरहवामा २ करोड ५२ लाखका सुनका गहना बरामद, महिला पक्राउ


रुपन्देही-भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले रुपन्देहीको भैरहवाबाट करिब दुई करोड ५२ लाख रुपैयाँ मूल्य बराबरका सुनका गहना बरामद गरेको छ।

सशस्त्र प्रहरी नायव उपरीक्षक दुर्गा थापाका अनुसार भारतबाट नेपालतर्फ सुनका गहना ल्याउँदै गरेको सूचनाका आधारमा सिद्धार्थनगर नगरपालिका–१ स्थित शान्ति गेटमा जाँच गर्ने क्रममा गहना बरामद गरिएको हो।

सीमा सुरक्षा गुल्म डण्डाका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक गोपिकृष्ण भट्टराईको कमाण्डमा खटिएको टोलीले शङ्का लागेर खानतलासी गर्दा काठमाडौं–१९ की ४६ वर्षीया ईला पटेलले ल्याउँदै गरेको २ किलो ६०५ ग्राम सुनजस्तो देखिने पहेँलो धातुका विभिन्न गरगहना फेला पारेको थियो। त्यसपछि प्रहरीले पटेललाई नियन्त्रणमा लिएको थियो।

सशस्त्र प्रहरीले रुपन्देही सुनचाँदी व्यवसायी संघसँग समन्वय गरी परीक्षण गर्दा बरामद गरगहनामध्ये एक किलो सुन रहेको प्रमाणित भएको जनाएको छ। बरामद गहनाको कुल मूल्य दुई करोड ५१ लाख ९३ हजार ३५० रुपैयाँ रहेको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद गहनामा ९ थान हार, ८१ थान औंठी, १३ थान चुरा, ४ थान माला, हसुली किसिमका ८ थान सिक्री, पत्थरसहितका २० थान झुम्का, २४ थान झुम्का, १४ थान गोली औंठी, एक थान लकेट (जन्तर), १७ थान पोते, २४ थान सिक्री, १८८ जोर बाली तथा जुली, पत्थरसहितका ६४ जोर टप, २२ थान नाकको फूली, दुई थान पत्थरवाला हार, १० थान सानो झुम्का, ११ जोर कानको बाली र ८ थान ब्रासलेट रहेका छन्।

सशस्त्र प्रहरीले बरामद गहना तथा पक्राउ परेकी पटेललाई आवश्यक कारबाहीका लागि बिहीबार नै भैरहवा भन्सार कार्यालय, रुपन्देहीमा बुझाएको जनाएको छ।