अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हुलाक सेवाको संरचनालाई परिवर्तन गर्न लागिएको छ: सञ्चारमन्त्री शर्मा

हुलाक सेवाको संरचनालाई परिवर्तन गर्न लागिएको छ: सञ्चारमन्त्री शर्मा


देउखुरी-सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले  हुलाक सेवाको परम्परागत संरचनालाई परिवर्तन गर्न लागिएको जानकारी दिनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ, नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर र प्रगतिशील पत्रकार सङ्घ दाङद्वारा  संयुक्तरूपमा आज आयोजित स्वागत तथा बधाई कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विसं २०२७ को कानुनी संरचनामा रहेको हुलाक सेवाको तत्काल पुनःसंरचना गर्न लागिएको छ भन्नुभयो । 

उहाँले भन्नुभयो, “समयसापेक्ष सूचना प्रविधि र सङ्घीय संरचनाअनुसार काम अघि बढाउने गरी ‘ड्राफ्ट’ तयार भइसकेको छ ।”

उहाँले ‘मिडिया’ क्षेत्रमा देखापरेको समस्याका बारेमा मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि जानकारी लिने काम जारी रहेको बताउनुभयो । आगामी दिनमा पत्रकार र सञ्चार  क्षेत्रको सबलीकरण हुने खालका कार्यक्रमलाई अघि बढाइने  र सरकारी सञ्चारमाध्यमलाई प्रदेशस्तरमा व्यवस्थित गर्ने कामको थालनी गरिने उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य शरद अधिकारीले लोककल्याणकारी विज्ञापन कटौतीले साना मिडिया मारमा परेका जस्ता समस्या समाधान गर्न आग्रह गर्नुभएको थियो । 

कार्यक्रममा पत्रकार महासङ्घ दाङ शाखा पूर्वअध्यक्ष प्रताप रेग्मी, सल्लाहकार सुदीप गौतम, पूर्वकेन्द्रीय सदस्य अजयदीप शर्मालगायतले भनाइ राख्नुभएको थियो ।

पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रेस सेन्टर दाङका अध्यक्ष पाण्डव शर्माले गर्नुभएको थियो ।