ललितपुर – राष्ट्रिय सहकारी बैंक लिमिटेडको १९औँ वार्षिक साधारण सभाबाट निर्वाचित सञ्चालक समितिका सदस्यहरूको जिम्मेवारी तोकिएको छ ।
बैंकको शनिवार सम्पन्न बैठकले सञ्चालकहरूलाई विभिन्न १० वटा उप–समिति र प्रदेश संयोजकको जिम्मेवारी तोकेको हो।
बैंकको कामलाई प्रभावकारी रूपमा सम्पन्न गर्नका लागि विभिन्न उपसमितिहरू गठन गरिँदै आएको छ। जसअनुसार केन्द्रीय उप–समितिको संयोजक बैकका सञ्चालकहरू रहने र सदस्यहरूमा सञ्चालक सहित बैंकका सदस्य संघ संस्थाका प्रतिनिधिहरू रहने व्यवस्था गरिएको बैंकका अध्यक्ष केबी उप्रेतीले जानकारी दिनुभयो ।
सहकारी विभाग र नेपाल राष्ट्र बैंकबाट समिति र उप–समिति गठन सम्बन्धी निर्देशन, बैंकको स्वीकृत विनियममा भएको व्यवस्थाका आधारमा बैंकको काम कारबाहीलाई प्रभावकारी रूपमा सञ्चालन गर्न, बैंकको तोकिएका उद्देश्य प्राप्त गर्न, बैंकको व्यवसाय विस्तार, सदस्य सहकारी संस्थाको विकास तथा प्रवद्र्वनमा सहयोग गर्न उप–समिति गर्ने व्यवस्था गरिएको अध्यक्ष उप्रेतीले बताउनुभयो ।
सञ्चालक समितिले सूचना, सञ्चार, प्रकाशन तथा प्रविधि उप–समितिको संयोजकमा राम बहादुर जिसी, सम्पत्ति शुद्धीकरण अनुगमन उप–समितिको संयोजकमा अमृता सुब्बा, कर्मचारी सेवा सुविधा उप–समितिको संयोजकमा पार्वती थापा, नीति निर्माण कार्यक्रम उप–समितिको संयोजकमा केदार मानन्धरलाई चयन गरेको छ।
यस्तै लघुवित्त तथा उद्यम उप–समितिको संयोजकमा महेन्द्र कुमार गिरी, शिक्षा, तालिम तथा सम्मान उप–समितिको संयोजकमा माधवलाल देवकोटा, घरेलु तथा साना उद्योग विकास उपसमितिको संयोजकमा शिवा थापा, लैगिंक समानता उपसमितिको संयोजकमा तारा गुरुङ, व्यवसाय प्रवर्द्धन, एकीकरण तथा स्तरीकरण उपसमितिको संयोजकमा मनोज कुमार थापा र जोखिम व्यवस्थापन उपसमिति संयोजकमा ध्रुवराज विष्टलाई चयन गरिएको छ ।
सात वटा प्रदेशका तर्फबाट निर्वाचित सञ्चालकहरूलाई प्रदेश प्रतिनिधि संयोजकको जिम्मेवारी दिइएको छ। प्रदेश संयोजकहरुमा प्रदेश १ मा महेन्द्र कुमार गिरी, मधेश प्रदेशमा विश्वनाथ मण्डल, बाग्मती प्रदेशमा रामहरि बजगाई, गण्डकी प्रदेशमा रामबहादुर जिसी, लुम्बिनी प्रदेशमा विजया धिताल, कर्णाली प्रदेशमा काली बहादुर महतारा तथा सुदुरपश्चिम प्रदेशमा शिवा थापालाई जिम्वारी दिइएको छ ।
केन्द्रीय उपसमितिका सदस्यहरू तथा प्रदेश स्तरीय उप–समिति र शाखा स्तरीय उप–समितिका संयोजक तथा सदस्यहरू बैंकका सञ्चालक तथा सदस्य संघ संस्थाका प्रतिनिधिहरूलाई चयन गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईँले जानकारी दिनुभयो ।
बैंकको गत पुस १८ गते सम्पन्न १९ औँ वार्षिक साधारण सभाबाट केबी उप्रेतीको अध्यक्षतामा १५ सदस्यीय सञ्चालक समिति र लक्ष्मी प्रसाद उप्रेतीको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन भएको थियो ।






प्रतिक्रिया