चितवन – श्रमजीवी पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालको पहिलो भवनको चितवनमा शुक्रवार शिलान्यास गरिएको छ।
प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले प्रेस चौतारी चितवनको शिलान्यास गर्नुभएको हो। भरतपुर महानगरपालिका वडा-११ वसेनीमा प्रेस चौतारीको आफ्नै जग्गामा भवनको शिलान्यास गरिएको प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितले जानकारी दिनुभयो।
प्रभु हाउजिग एण्ड प्रोर्पटी डिर्लस प्रालिका केशव कार्कीले चौतारीलाई रु. ७० लाख भन्दा बढी रकम पर्ने १० धुर जग्गा दान गर्नुभएको थियो । सो जग्गामा चौतारी चितवनले देशकै पहिलो भवन बनाउने काम अगाडि बढाएको चौतारी चितवनका अध्यक्ष पण्डितले बताउनु भयो ।
भवन शिलान्यास कार्यक्रममा बोल्दै प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले चौतारीले देशकै पहिलो आफ्नो भवन बनाउन लागेकोमा खुसी ब्यक्त गर्दै चौतारी केन्द्रका तर्फबाट सहयोग जुटाउन सक्दो पहल गर्ने बताउनुभयो। अध्यक्ष वस्नेतले नेपाली श्रमजीवी पत्रकारको हितरक्षा, आम सञ्चारसँग सम्बन्धित नीतिहरु निर्माणहरुको अगुवाई र पार्टी प्रचारको अभियानको नेतृत्व गरीरहेको चौतारीले भौतिक संरचना निर्माणपनि अभियानको रुपमा चलाउने बताउनु भयो ।

कार्यक्रममा नेकपा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने, प्रेस चौतारीका महासचिव हिरामान लामा, सचिव विष्णु तारुके, पत्रकार महासंघका सचिव सिर्जना अर्याल, महासंघ चितवन अध्यक्ष नारायणप्रसाद अधिकारी, उद्योग बाणिज्य संघ चितवनका उपाध्यक्ष राजेन्द्र ओली लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो । सो कार्यक्रममा नेकपा एमाले चितवन अध्यक्ष न्यौपानेले पार्टीका तर्फबाट एक लाख एक हजार २१, चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले ५० हजार ५५०, चौतारीका केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष नवराज ढकालले ५० हजार, व्यावसायी बचन कार्कीले ५५ हजार ५५५ र पत्रकार महासंघ चितवना अध्यक्ष नारायण अधिकारीले एक ट्रिप ढुंगा उपलब्ध गराउने घोषणा गर्नुभयो ।
साढे ३ तले भवनको कुल लागत १ करोड ३० लाख रहेको छ। भवनको भुईं तलामा कार्यालय भवन, दोस्रो तलामा हल, तेस्रो तलामा आवासिय कोठा र त्यसमाथि किचनसहितको संरचना रहने चौतारी चितवनका अध्यक्ष पण्डितले जानकारी दिनुभयो।
चौतारीले भवन निर्माणमा आर्थिक सहयोग जुटाउन गत कार्तिक ४ गते वृहत् सांस्कृतिक तथा सांगितिक साँझको आयोजना गरेको थियो । भवन निर्माणका लागि ठेक्का सम्झौता भईं निर्माण कार्य अगाडि बढेको चौतारी चितवनका अध्यक्ष पण्डितले जानकारी दिनुभयो । २०८० साल भित्र भवन निर्माण गरिसक्ने लक्ष्यसहित थालिएको निर्माणमा सबै पक्षबाट सहयोगको अपेक्षा गरिएको अध्यक्ष पण्डितले बताउनुभयो। भवन निर्माणका लागि अलग्गै खाता खोलेर विभिन्न समितिहरु गठन गरिएका छन् । भवन निर्माणका लागि शंकर अधिकारीको संयोजकत्वमा लेखा समिति, संस्थापक एवम् पत्रकार महासंघका पूर्व अध्यक्ष विष्णु छिमेकीको संयोजकत्वमा सल्लाहकार समिती, तिलकराम रिमालको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ ।






प्रतिक्रिया