काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न मुख्य व्यक्तिहरुलाई जोगाउने चलखेल भएकाे पाइएकाे छ। राजनीतिक प्रतिशोध साध्न केही असम्बन्धित नेताहरुलाई फसाएर मुख्य अभियुत्त बचाउने चलखेल भएकाे पाइएकाे हाे।
नक्कली भुटानी शरणार्थी प्रकरणमा सबैभन्दा निर्णायक भूमिका खेल्ने तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई जोगाएर अरुलाई फसाउन खोजिएको पाइएकाे हाे।
स्रोतका अनुसार खाँणको नाम समेत आएपछि देउवाले प्रधानमन्त्रीसँग चासो राखेका छन्। खाँणको नाम नलिई दोस्रो बयानको कागजमा सही गराउन खोजिएपछि यो कुरा बाहिर आएको महान्यायाधिवक्ता कार्यालयका एक उच्च अधिकारीले बताए।
आफू पनि तानिने भएपछि खाँण बिहीबार सभापति देउवालाई भेट्न धुम्बाराही जानु भएको थियो । देउवाले त्यहीबाट प्रधानमन्त्री प्रचण्ड र आईजीपी वसन्त कुँवरलाई फोन गरेको कांग्रेस नेताहरु बताउँछन् । देउवा यो प्रकरणमा एमालेका नेतालाई पक्राउ पुर्जी जारी गरिएकोमा समेत सन्तुष्ट नरहेको बताइन्छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा विभिन्न व्यक्तिसँग पैसा उठाएका मुख्य अभियुक्तहरुले बादल गृहमन्त्री भएका बेला काम सफल पार्न नसकेपछि बालकृष्ण खाँण गृहमन्त्री भएकाे बेला सचिव टेकनारायण पाण्डेमार्फत काम अघि बढाएका थिए । त्यही समयकाे प्रकरण सहतमा आएपछि खाँड जाेगाउने प्रपञ्च सुरु भएको हो । स्रोतका अनुसार अभियुक्तसँग भेटिएको चेक त्यही प्रमाण हो। उनीहरुले सुरुमा बादल गृहमन्त्री भएको बेला काम गराउन चेक काटे पनि त्यतीखेर काम हुन नसके पछि चेक गाेजीमै राखेका थिए । पछि गृहमन्त्री खाँड भएकै बेला काम गरे पनि यतीखेर अभियुक्त्तले चेकमा नाम लेखेकै आधारमा पक्राउ परीरहेका छन् ।
त्यसाे त चैत १३ गते सानु भण्डारी भन्ने अभियुक्तले बस्याल थरका अनुसन्धान अधिकृतसँग दिएको बयानमा बालकृष्ण खाँण र मञ्जु खाँणको समेत नाम आएपछि बयान नै रोकिएको थियाे। मञ्जु बालकृष्ण खाँणकी पत्नी तथा प्रतिनिधिसभा सदस्य हुन्।
अभियुक्त भण्डारीले बालकृष्ण खाँणलाई ४ करोड ७५ लाख रुपैयाँ दिएको आफ्नो बयानमा बताएका छन्। बयानको अडियो रेकर्ड गरिएको थियो र सो रेकर्ड प्रहरी महानिरीक्षक र महान्यायाधिक्तासम्म पुगेकाे थियो।
२०७८ असार २८ गते परमादेशबाट शेरबहादुर देउवा प्रधानमन्त्री भए भने गृहमन्त्री बालकृष्ण खाँण भए । खाँण गृहमा आएपछि महेश्वर न्यौपानेको ठाउँमा गृहसचिव भएर टेकनारायण पाण्डे आए । गृहमा उजुरीसमेत परेको र केही व्यक्ति भेट्न गएपछि पाण्डेले यो प्रकरणबारे बुझ्न थालेको र आफूहरुले सबै जानकारी दिएर यो प्रकरणमा सघाउन आग्रह गरेकाे बयानमा उनीहरुले भनेका छन् ।
ठगी गिरोहका नाइकेहरु कांग्रेस नेतृ सुजाता कोइरालाका स्वकीय सचिव केशव दुलालका साथै सानु भण्डारीले पहिलेका गृहमन्त्री, गृहमन्त्रीका सुरक्षा सल्लाहकार तथा नेताहरुले पैसा लिएर पनि काम नगरेको बताए । उनीहरुले आफूहरु फसिसकेको भन्दै यो काम भएमा थप पैसा खर्च गर्ने बताए ।
खाँण निकट रहेका हाल कांग्रेसका एक सांसदले पनि काम मिलाउने भनेर केही रकम लिएको उल्लेख छ । ती नेतामार्फत मञ्जु खाँणसम्म यो कुरा पुगेको थियो भने यो विषय आरजु देउवासम्म मिलाउनुपर्ने भन्दै गिरोहलाई दुहुनो गाई बनाउने खेल त्यस क्रममा चल्यो ।
गिरोहको सदस्यबाट पैसा पाइने निश्चित भएपछि तत्कालीन गृह सचिव टेकनारायण पाण्डेले मन्त्रालयबाट हुने प्रमाणीकरणको काम आफूले मिलाइदिने तर बाँकीको व्यवस्थापन उनीहरुले गर्नुपर्ने बताए ।
भण्डारीले बयानमा भनेका छन्, ‘त्यसका लागि मन्त्रीसँग पनि कुरा गर्नुपर्छ र मन्त्रीलाई पनि पैसा दिनुपर्ने कुरा सचिवले भने । गृह सचिवले नै मन्त्रीसँग कुरा गरेपछि हामीले थप पैसा दिएका हौं ।’
कति पैसा दिएको भन्ने बयानमा उल्लेख भए पनि प्रहरीले रकम खुलाएको छैन र बालकृष्ण खाँणलाई अहिलेसम्म छानबिनमा ल्याएको छैन । त्यसका लागि माथिल्लो तहबाट आदेश पर्खिएको अधिकारीहरु बताउँछन् ।
स्रोतका अनुसार गृह सचिव पाण्डेले नै गृहमन्त्री बालकृष्ण खाँणसँग कुराकानी गरेर यो गिरोहको बाँकी काम फत्ते गर्न अनुमति लिएर रकम बुझ्न थालेका थिए ।
यसबीचमा पैसा उठाउनेमध्येका कतिपयले पनि पाण्डेलाई भेटेर काम हुने वा नहुने आधिकारिक जानकारी मागेका थिए । आफूहरुलाई दलाल गिरोहको भरोसा नरहेको भन्दै गजेन्द्र बुढाथोकी नामका एकजनाले गृह सचिव पाण्डेलाई भेटेर कन्फर्म गरेका थिए । पाण्डेकै आश्वासनपछि बुढाथोकी ढुक्क भएर आफन्त तथा चिनजानका मान्छेलाई अमेरिका जाने शीर्षकको पैसा नफस्ने बताएका थिए ।
यसबीचमा गृह सचिव पाण्डेले गृहमन्त्री खाँणसँगको सल्लाहमा भुटानी शरणार्थीको ‘थर्ड कन्ट्री सेटलमेन्ट’ सम्बन्धी परिपत्र जारी गरेका थिए । प्रहरीले अहिलेसम्म संकलन गरेका तथ्यका आधारमा गृहमन्त्रीबाट स्वीकृत गराएरै सचिवले ती परिपत्र गरेका थिए। त्यही प्रयोजनका लागि विभिन्न किस्तामा पाण्डेले ५० लाख रुपैयाँ बुझेको पाइएको छ ।
सचिव पाण्डेमार्फत नै गिरोहका मुख्य नाइकेहरु केशव दुलाल, सानु भण्डारी र सन्देश शर्माले गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर आश्वस्त बनेका थिए । दाङका सन्देशले आफूहरुले गृह सचिवमार्फत नै खाँणलाई भेटेर सबै विषय जानकारी गराएको बयान दिएका छन् ।




प्रतिक्रिया